देश टुक्र्याउने अभियानमा सरकारकै कर्मचारी

103
  •  
  •  
  •  

काठमाडौं १० फागुन ।
देश टुक्र्याउने अभियानमा लागेका नेपाल सरकारका एक कर्मचारीसहित सातजनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । जिल्ला विकास समितिको कार्यालय सुनसरीमा कार्यरत ओभरसियर भारदह–१ का ४० वर्षीय श्यामसुन्दर मण्डलसहित सातजनालाई राज्य विरुद्धको आरोपमा पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए ।

जुलुस प्रदर्शनका क्रममा प्रहरीले राजविराजबाट आइतबार गठबन्धनका सप्तरी संयोजक राजविराज ७ का ३६ वर्षीय सुरेन्द्र शर्मा, प्रचार प्रसार विभाग प्रमुख इटहरी विष्णुपुर–१ का ४८ वर्षीय चन्देश्वर मण्डल, भींड व्यवस्थापन समितिका संयोजक कल्याणपुर–३ का ५६ वर्षीय उस्मान मियाँ र सदस्य भारदह–५ का २८ वर्षीय बुधेश्वर मण्डललाई पक्राउ गरेको छ ।

यसअघि पक्राउ परेका आफ्ना तीनजना कार्यकर्तालाई रिहा गर्न माग गर्दै उनीहरुले राजविराजमा आइतबार जुलुस प्रदर्शन गरेका थिए ।  इलाका प्रहरी कार्यालय भारदहले गत शुक्रबार भारदह–१ स्थित विपी माविमा भइरहेको गठबन्धनको प्रथम परिषद कार्यक्रमबाट ओभरसियर मण्डलसहित भारदह २ का ३८ वर्षीय सुरेन्द्र मण्डल र भारदह ५ का ३२ वर्षीय नागेश्वर शर्मालाई पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका तीनजनामाथि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी आइतबार विशेष अदालत काठमाडौंबाट म्याद थप गरेको छ । आइतबार पक्राउ परेका चारजनालाई समेत म्याद थपका लागि सोमबार काठमाडौं लैजाने तयारी भइरहेको छ ।

यसैगरी प्रहरीले गठबन्धनका सदस्यहरु महेश शर्मा, बिहारीलाल साह र अनिल ठाकुरलाई समेत गिरफ्तार गरेको गठबन्धनले जनाएको छ ।राज्यविरुद्धको अपराध ठहरिए आरोपितहरुलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन्छ ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ अनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •