आन्दोलन दबाउन ६२ हजार फौज

78
  •  
  •  
  •  

काठमाडौं ११ चैत । एमाओवादी नेतृत्वमा ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलनलाई कुनै हालतमा असफल गराउन करिब ६२ हजार सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमको प्रत्यक्ष निर्देशन र सक्रियतामा भएको यो तयारीबारे उनले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी दिएका छन्।
गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, नेपाली सेनाका जर्नेल, प्रहरीका अपरेसन विभागका प्रमुख र उपत्यका प्रमुख तथा पाँचै क्षेत्रका क्षेत्रीय प्रशासकको दलबलसहित ब्रिफ्रिङका लागि सोमबार बिहान ९ बजे बालुवाटार पुगेका उपप्रधानमन्त्री गौतमले उक्त संख्याको फौजलाई दैनिक दुई सय ५० रुपैयाँका दरले खाजाभत्ता अर्थ मन्त्रालयबाट अलग्गै निकासा हुनुपर्ने माग पनि गरे।
सुरक्षा तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले अर्थमन्त्री डा. रामशरण महत, कानुनमन्त्री नरहरि आचार्य, सञ्चारमन्त्री मिनेन्द्र रिजाल र वनमन्त्री महेश आचार्यलाई पनि बालुवाटार बोलाएका थिए।
गृह मन्त्रालयको हिसाबअनुसार सरकारले फौजको खाजाका लागि मात्र दैनिक एक करोड ५५ लाख रुपैयाँसम्म निकासा दिनुपर्नेछ। आन्दोलनकारी नियन्त्रण गर्न फौजले बिहानैदेखि खट्नुपर्ने भएकाले उनीहरूको मनोबल उठाउन भत्ता व्यवस्था गर्न लागिएको हो।
उपत्यका र तराईका जिल्लामा फौज केन्द्रित गरिने योजना तीन घन्टा लामो सो ब्रिफिङमा सुनाइएको थियो। विपक्षी मोर्चाले चैत १५ देखि चैत २६ सम्म लगातार १२ दिन सरकारविरोधी कडा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
मागअनुसार रकम दिँदा विपक्षी मोर्चाको आन्दोलन निस्तेज पार्न १८ करोड ६० लाख रुपैयाँ खाजाभत्ता दिनुपर्ने भएको छ। यसबाहेक आन्दोलन बढ्दा खर्च पनि बढ्दै जाने हुँदा अर्थले सुरक्षा कायम गराउन रकम निकासामा कन्जुस्याइँ गर्न नहुने तर्क उपप्रधानमन्त्री गौतमले गरेका थिए।
प्रधानमन्त्रीलाई विपक्षी आन्दोलनविरुद्ध सुरक्षा तयारीबारे ब्रिफिङ
खाजाका लागि दैनिक एक करोड ५५ लाख माग
अश्रुग्यासलगायतका सामग्री तत्काल खरिद गरिने

सवारीसाधन मर्मत र इन्धनको छुट्टै्र रकम आवश्यक पर्ने माग सुरक्षा निकायको छ। देशभरमा पाँच सय सुरक्षा गाडी निरन्तर चलाइरहनुपर्ने भएकाले इन्धनखर्च उपलब्ध गराइने भएको छ।
उपप्रधानमन्त्री गौतमले अर्थमन्त्रीले असहयोग गर्ने गरेको आरोप लगाउँदै रकम निकासा नहुँदा सुरक्षा व्यवस्था मिलाउन समस्या पर्ने बताएपछि अर्थमन्त्री महतले तत्काल चित्तबुझ्दो कारणसहित बजेट माग भए निकासा दिइने बवाफ दिएका थिए।
गृह स्रोतका अनुसार मन्त्रालयले भीड नियन्त्रणका सामग्री पनि तत्काल किन्नुपर्ने आवश्यकता रहेकाले बजेट निकासा गर्न ब्रिफिङमा आग्रह गरिएको थियो। अश्रुग्यास, लाठी, रबरका गोलीलगायतका सामान भीड नियन्त्रणमा प्रयोग हुँदै आएका छन्।
मन्त्री महतले यसका लागि प्रस्ताव पठाए नरोक्ने आश्वासन दिएका छन्। बैठकमा उपस्थित सञ्चारमन्त्री रिजालले अन्नपूर्णसँग भने, ‘यो ब्रिफिङ नियमित प्रक्रिया हो। यसअघिका प्रधानमन्त्रीलाई नियमित ब्रिफिङ हुन्थ्यो।’
उपप्रधानमन्त्री गौतमसँग आइतबार दिनभर गृह मन्त्रालयमा बसेको तीन सुरक्षा प्रमुख र उच्चअधिकारीहरू तथा पाँचै विकास क्षेत्रका क्षेत्रीय प्रशासक र क्षेत्रीय सुरक्षा प्रमुखहरूले खाजाभत्ताको व्यवस्था मिलाउन माग गरेका थिए।
एमाओवादी मोर्चाले राज्यलाई विखण्डन गर्ने र मुठभेठ निम्त्याउनेमात्र नभई विद्रोहकै सुरुआत गरेजस्तो कार्यक्रम ल्याएकाले त्यसविरुद्ध कडाइका साथ प्रस्तुत हुने तयारी गरेको जानकारी उपप्रधानमन्त्री गौतमले दिएका थिए।
उनले यसअघि यस्ता प्रकृतिका कुनै कार्यक्रम घोषणा नभएको तर्क गर्दै कडाइ गर्न लागेको बताएका थिए। गौतमपछि बाँकी ब्रिफिङ गृहसचिव सूर्य सिलवालले गरेका थिए।
तराईका सप्तरीदेखि पर्सासम्म घुसपैठ भई आन्दोलन उत्तेजित बनाउन सक्ने सुरक्षा विश्लेषण रहेकाले यी जिल्लामा थप फौज तैनाथ गर्न लागिएको जानकारी पनि गराइएको थियो।
सरकारी कार्यालय बन्द गर्ने र राजस्व असुली गर्न नदिनेजस्ता कार्यक्रम ल्याएर सत्ताकब्जाको अभ्यास गर्न खोजेकाले निस्तेज पार्ने गरी फौज परिचालन गर्न लागिएको उच्च सुरक्षा स्रोतले बतायो।
सुरक्षा तयारी सुनेपछि प्रधानमन्त्री कोइरालाले आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए। उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यसबारे सोधेको जानकारी दिँदै भनेका थिए, ‘के गर्न खोज्नुभएको भनेर मैले प्रचण्डजीलाई सोधेको थिएँ।
द्वन्द्वकै झल्को, विद्रोहकै झल्को दिनुभएको छ। यो नियन्त्रणबाहिर गए जिम्मेवारी लिने कि नलिने भनेको छु।’
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •