यी कार्यालयमा आज बिहान ६ बजेदेखि १२ घण्टे सेवा

303
  •  
  •  
  •  

singhadurbarकाठमाडौं १ पुस (ओएनएस) : अत्यावश्यक सेवा दिने सरकारी कार्यालय आज देखि १२ घन्टा सञ्चालन हुने भएका छन्। बिहान सबेरै सेवा सुरु हुनेछ भने साँझसम्म कार्यालय खुल्ने छन्  ।  छिटोछरितो सेवा प्रवाह गर्न बढी भीडभाड हुने कार्यालयहरू साताको छ दिन बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहनेछन् । सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायात तथा महसुल बुझ्नेजस्ता कार्यालयहरू मंगलबारदेखि दुई सिफ्ट गरी १२ घन्टा सञ्चालन  गर्न लागेको हो ।

हाल जाडोमा विहान १० देखि दिउँसो ४ र गर्मीमा विहान १० देखि दिउँसो ५ सम्म दिइदै आएको सेवा बढाएर अत्यावश्यक सेवा प्रवाह हुने निकायहरुमा विहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म १२ घन्टा सेवा सञ्चालनमा ल्याइने भएको हो। गृह मन्त्रालयले पहिलो चरणमा पाँचवटा जिल्ला प्रशासन कार्यालयमा मात्र आमजनतालाई दैनिक १२ घन्टे सेवा प्रवाह गर्नेछ ।

पहिलो चरणमा बढी भीडभाड भइरहने गरेका मोरङ, काठमाडौं, रूपन्देही, बाँके र कैलाली जिल्ला प्रशासन कार्यालयले मात्र आजदेखि १२ घन्टा सेवा प्रवाह गर्ने जानकारी गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिए । मालपोत र नापी कार्यालय १२ घन्टा खुल्ने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, बाँके, बर्दिया, पाल्पा, कैलाली र जुम्ला छन् । महसुल बुझाउन सबभन्दा बढी ग्राहकको भीड हुने विद्युत् प्राधिकरणले भने १२ घन्टे सेवा तत्काल लागू नगर्ने भएको छ । कर्मचारी र साधनस्रोतको अभाव देखाई प्राधिकरणले तत्काल विद्युत् महसुल काउन्टरहरू १२ घन्टा खोल्न नसकिने जानकारी ऊर्जा मन्त्रालयलाई गराएको छ ।

विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने कार्यालयहरु
राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु, मालपोत कार्यालयहरु, भूमिसुधार कार्यालयहरु, नापी कार्यालयहरु, कम्पनी रजिष्टार, यातायात व्यवस्था कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, श्रम कार्यालयहरु, विद्युत खानेपानी लगायतका छन्।


  •  
  •  
  •