सरकार ६ बजे उठ्यो, अरू क्षेत्र उठेनन्

181
  •  
  •  
  •  

काठमाडौं ८ पुस ।
पाँच दिनअघिदेखि सरकारी सेवा बिहान ६ बजे खुले पनि सेवा लिन आवश्यक पर्ने अन्य निकाय नखुल्दा १२ घन्टे सरकारी सेवा प्रभावकारी बन्न सकेको छैन। चार दिनको १२ घन्टे अभ्यासबाट बिहान खुल्ने समयलाई केही तलमाथि पार्नुपर्ने निष्कर्षमा प्रशासनका अधिकारी पुगेका छन्।

बैंक तथा फोटोकपी गर्ने पसलसम्म नखुल्दा सेवाग्राहीलाई समस्या भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन्, ‘सबैभन्दा ठूलो समस्या विभिन्न प्रक्रियाका लागि राजस्व तिरेको भौचर बुझाउनुपर्ने सेवामा छ। सरकारले ६ बजे सेवा सुरु गरे पनि त्यसका लागि रकम बुझाउने बैंकको समय त उही नै छ।’

राजधानीका धेरैजसो रुटमा ६ बजेमात्र पहिलो बस छुट्छ। अधिकृतदेखि पियनसम्मका कर्मचारीलाई कार्यालयमा कसरी ल्याउने भन्ने पनि अर्को समस्या छ। मंगलबारदेखि शुक्रबारसम्मको दुईसत्रे सेवा सञ्चालनबाट अरू सम्बद्ध क्षेत्र पनि उही समयमा सुरु गरेमात्र सरकारको उद्देश्यअनुसार जनताले सुविधा पाउने अर्यालले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले औसत दैनिक चार हजार जनतालाई नागरिकता, राहदानी, सार्वजनिक वा निजी मुद्दामामिला, संघसंस्था दर्ता तथा नवीकरणलगायतका सेवा दिइरहेको छ। दुईसत्रे सेवाको उपयोग गर्दै शुक्रबार ६ जनाले नागरिकता प्रमाणपत्र तथा १६ जनाले राहदानी बनाएका छन्।

‘ढिलो उज्यालो हुने र दिन छोटो हुने यामका कारण होला सेवाग्राही आठ बजेपछि आउन थालेका छन्। कम्तीमा दिउँसो आउँदाजस्तो लाइनमा बस्नु नपरेकोमा उनीहरू खुसी देखिन्छन्’, अर्यालले भने।

पहिलोपल्ट सरकारले जनसेवामा रहेका कार्यालय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुलाउन थालेको छ। सरकारकाले सेवा सुरु गर्नुअघि नै बिहान सातदेखि बेलुका पाँच बजेसम्म सेवा दिइरहेको राहदानी विभागले दुईसत्रे सेवाका लागि थप स्रोत र साधन चाहिने जानकारी सम्बद्ध अरू मन्त्रालयलाई गराएको थियो।

डिल्लीबजार मालपोत कार्यालयका गोपाल गिरीले दुईसत्रे सेवा दिन मालपोत अधिकृतसहित ११ जना कर्मचारीलाई तीन सातामा दुई दिन १२ घन्टा खटाउनुपर्ने जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई गराएका थिए।

उनले बिहानै कर्मचारीलाई ल्याउन सवारीसाधन, इन्धन र लोड सेडिङका बेला जनेरेटर सञ्चालनलगायत मासिक तीन लाख ९८ हजार थप लाग्ने बताएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुईसत्रे सेवा दिन संसाधनका लगि मासिक सात लाख थप खर्च लाग्ने बताएको छ।

दुईसत्रे सेवा तत्काल सुरु गराउन जोडतोडले लागेका मन्त्री पण्डितले दुईसत्रे सेवा दिएकै कारणबाट थप भत्तासुविधा भने नदिइने स्पष्ट पारेका छन्।

यातायात व्यवस्था कार्यालय बागमतीका प्रमुख भीम तिवारीले लोडसेडिङ तथा यातायातका कारण सेवा सञ्चालनमा कठिनाइ भएको बताए। उनले नगरपालिका, बैंक र चिकित्सक सेवालाई समेत अनुरोध गरी दुईसत्रे सेवाका लागि समन्वय गरेको जानकारी दिए।

‘हाम्रो कार्यालयमा बिहान ४ बजेदेखि नै चालक अनुमतिपत्रका लागि लाइन लाग्ने स्थिति छ। यसअघि त्यसरी लाइन लागेका सेवाग्राहीलाई आठ बजे लिखित परीक्षा लिने गरिएको थियो। अब आवेदन र लिखित परीक्षा नै ६ बजेदेखि हुने गरिएको छ,’ उनले भने।

दुईसत्रे सेवाको समयबारे सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘कार्यालय खुल्ने समयमा मौसमअनुसार केही फेरबदल गर्नुपर्ने हो कि भन्नेमा विचार गर्दैछौं।’


  •  
  •  
  •