तराई मधेसको विपन्न समुदाय सरकारको पहिलो प्राथमिकता

124
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक (ओएनएस) : मधेसलाई सम्वोधन गर्नेगरि सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम मार्फत मधेसको तल्लो वर्गलाई फाइदा पुग्नेगरि कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा गठित कार्यदलले गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम तयार गरिसकेको छ । न्यूनतम साझा कार्यक्रमलाई  सरकारको श्वेतपत्रका रुपमा अघि सार्ने तयारी छ ।

अहिलेको संकट समाधानसँग जोडेर दिर्घकालीन र अल्पकालीन योजना ल्याउने तयारी गरेको छ । रक्षा मन्त्री भीम रावलले सरकार तत्काल संकट समाधान गर्ने काममा लागेको र सँगै नागरिकलाई फाइदापुग्ने विशेष कार्यक्रम ल्याउन लागेको बताए । तराई मधेसका विपन्न वर्ग सरकारको पहिलो प्राथमिकतामा रहेको उनले बताए ।

ऊर्जा संकट तत्काल कम गर्न विशेष ध्यान केन्द्रित गर्ने, सौर्य, वायुजस्ता वैकल्पिक ऊर्जाका स्रोत प्रयोग गर्ने, बिग्रिएका र भत्किएका साना–ठूला जलविद्युत् आयोजना मर्मतसम्भार गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेजस्ता विकल्पसमेत सुझाइएका छन् ।

चीनसँग सबै नाका खुला गरेर तत्कालै केही ठूला परियोजनामा सम्झौता गर्ने र विगतमा थाती रहेका सन्धि–सम्झौतालाई पनि अघि बढाउने नीति अख्तियार गर्दैछ । करिब १० खर्ब रुपियाँबराबरको परियोजनामा केही समयमा नै सम्झौता हुने सरकार एक उच्च मन्त्रीले जानकारी दिनुभयो ।


  •  
  •  
  •