सरकारी कर्मचारीलाई तनाव व्यवस्थापन सिकाइँदै

91
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
आफूभन्दा कनिष्टको पदोन्‍नति भयो आफ्नो भएन, कहाँ भन्‍ने ? हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्‍न कठिन भयो, के गर्ने?

सरकारी कर्मचारीमा यसरी उत्पन्‍न हुने तनाव व्यवस्थापन गर्ने निष्कर्षमा सरकार पुगेको छ। सरकारले कर्मचारीलाई क्षमता र पेसागत ज्ञानसँगै तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले ‘राष्ट्रिय तालिम कार्यक्रम’ सञ्‍चालन गर्ने तयारी गरेको हो।

मन्त्रिपरिषद्‌मा पठाइएको तालिमसम्बन्धी प्रस्तावमा व्यक्तिगत, सामाजिक तथा कार्यस्थल वातावरणका कारण उपन्‍न हुने तनावसँग जुध्न सिकाउने पाठ्यसामग्री राखिएको छ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिम दिन लागिएको हो। ‘कर्मचारीमा सबैभन्दा पहिले बजार भाउअनुसार तलबभत्ता नबढ्दा व्यक्तिगत र परिवारिक तनाव हुने देखिएको छ’, उनले भने।

सामाजिक दायित्व धेरै भएका कर्मचारीले ती दायित्व पूरा गर्न नसक्दा पनि तनाव बेहोर्नुपर्ने हुन्छ। त्यस्तै सरुवा भएर परिवारबाट टाढा हुँदा, भनेका बेला बिदा नपाउँदा, कार्यालय प्रमुख र सहकर्मीसँग सम्बन्ध बिग्रंदा पनि कर्मचारीमा तनाव देखिने गरेको छ।

त्यसपछि कर्मचारीले सर्वाधिक तनाव वातावरण भोग्नुपर्ने अधिकारीले बताए। कार्यथलोमा इमानदार भएर काम गर्दा वा कुनै काम गर्न र नगर्न भन्दै आउने धम्कीले पनि कर्मचारीमा तनाव हुने गरेको पाइन्छ। ‘यस्तै तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान तालिममा सिकाइनेछ’, अधिकारीले भने।

कतिपय देशमा सरकारी तथा निजी प्रतिष्ठानले कर्मचारीको तनाव व्यवस्थापनका लागि ‘वर्क लाइभ ब्यालेन्स’ पद्धति अपनाउने गरेको अधिकारीले बताए। विकसित देशमा काम बढी भएर हुने तनाव व्यवस्थापन गर्न निश्चित समयपछि एक महिना बिदा दिइने तथा योग र मानसिक शान्ति प्राप्तिका तालिम दिइने गरेको पनि उनले सुनाए।

सरकारले अघि सारेको तालिमसम्बन्धी पाठ्यक्रममा यसअघिका पनि तनाव व्यवस्थापनका केही विषय राखिएको छ। तर यो सैद्धान्तिक र अधिकृतस्तरका लागि मात्र रहेको प्रशासनिक प्रतिष्ठानका वरिष्ठ निर्देशक केदारबहादुर रायमाझीले बताए। ‘हाम्रो संस्कृति आफ्नो वेदना लुकाउनुपर्छ भन्ने खालको भएकाले सैद्धान्तिक कुरा गरेर मात्र पुग्दैन’, उनले भने।

अहिलेसम्म तनावलाई खासै ठूलो समस्या नठानिने गरिएको उनले बताए। ‘हामीकहाँ शारीरिक बिरामी भए १८ दिन बिदा पाइन्छ। तर मानसिक बिरामी भए के गर्ने भन्‍ने छैन, त्यो अझै गम्भीर कुरा हो’, उनले भने।

प्रवक्ता अधिकारीका अनुसार अहिले तालिम दिइरहेका निकायलाई यसमा प्रयोग गरिनेछ। अहिले जाउलाखेलस्थित स्टाफ कलेज, न्यायसेवा, हुलाक सेवा तथा सहकारीका तालिम दिने निकायले आआफ्नो क्षेत्रका कर्मचारीलाई तालिम दिइरहेका छन्।

‘तर अहिलेसम्मको तालिम बढुवा प्रयोजनका लागि अंक प्राप्त गर्नमा मात्र सीमित भयो’, अधिकारीले भने। अबको तालिम भने सबै तहकालाई दिइनेछ। अहिलेसम्म अधिकृत स्तरका कर्मचारीलाई मात्र सेवा प्रवेशअघि ६ महिने तालिम दिने गरिएको थियो।

कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन नैतिक शिक्षाजन्य ज्ञान पनि तालिममा दिइने भएको छ। जनताको सीधा सम्पर्कमा रहने मालपोत, नापी तथा स्थानीय निकायका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तालिम दिइनेछ। कार्यालयमा उत्पन्‍न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाइनेछ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •