काठमाडौं २० साउन (ओएनएस) :
सत्तारुढ दल कांग्रेस र एमालेबीच भागबन्डा विवादले सचिव बढुवा प्रक्रिया अवरुद्ध भएको छ । बढुवा समितिले १७ सहसचिवको सिफारिस गरेको तीन साता बित्न लाग्दासमेत सरकारले सात सचिवमा बढुवाको निर्णय गर्न सकेको छैन ।
मन्त्रिपरिषद्को बिहीबार बस्ने नियमित बैठक बसेन । भागबन्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने र सचिव बढुवालगायतका निर्णय गर्ने तयारी थियो । तर, सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् बैठक शनिबार साँझ मात्र बसेको थियो । सो बैठकमा पनि सिफारिस गरिएका सहसचिवहरूबाट कस–कसलाई सचिव बनाउने भन्नेमा विवाद भएपछि बढुवाको टुंगो लाग्न सकेन । बैठकले परराष्ट्र मन्त्रालयको कामुसचिव भने मन्त्रालयकै सहसचिव शंकर बैरागीलाई बनाएको छ ।
स्रोतका अनुसार कांग्रेस र एमालेबीच सचिव बढुवामा संख्याको भागबन्डामा कुरा मिले पनि कस–कसलाई बढुवा गर्ने भन्नेमा विवाद छ । कांग्रेसको भागबाट तीन र एमालेको भागबाट दुई सहसचिवलाई बढुवा गर्ने मोटामोटी सहमति बनेको स्रोतले बतायो । दलका विभिन्न नेताहरू आफूनिकटका सहसचिवलाई सचिव बनाउने लबिङमा लागेपछि समस्या भएको स्रोतको भनाइ छ ।
एमालेनिकट एक मन्त्रीका अनुसार कांग्रेसका मन्त्रीबीच नै मतैक्य नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध भएको हो । ‘कांग्रेसकै कारण रोकिएको हो, हामी त तयार नै छौँ,’ ती मन्त्रीले भने ।
मुख्यसचिव लीलामणि पौड्यालले दलीय भागबन्डाभन्दा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमा उत्कृष्टलाई सचिवमा बढुवा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाब दिँदै आएका छन् । तर, प्रधानमन्त्री कोइराला पार्टीका केही उच्च नेताहरू र आफ्नै मन्त्रीको दबाबमा उनी कसलाई बढुवा गर्ने भन्नेमा अन्योलमा छन् ।
लोकसेवा आयोगकी अध्यक्ष डा. कयोदेवी यमीको अध्यक्षतामा रहेको सचिव बढुवा समितिले ३२ असारमा सात सचिवका लागि १७ जना सहसचिवको नाम सिफारिस गरेको थियो । पाँच क्षेत्रीय प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयसहित सात निकाय सचिवविहीन रहेको अवस्थामा बढुवा समितिले १७ जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस गरिएकामध्ये कृषि विकास मन्त्रालयका नरबहादुर रजवार र उत्तमकृष्ण भट्टराई ज्येष्ठताका आधारमा स्वत: सचिवमा बढुवा हुनेछन् । बाँकी पाँचजनालाई भने मन्त्रिपरिषद् बैठकले १५ जनामध्येबाट छनोट गर्नुपर्नेछ । सिफारिसमा परेका सहसचिवहरूमा राजेन्द्र सुवेदी, रञ्जनकृष्ण अर्याल, शरदचन्द्र पौडेल, नरेन्द्रमान श्रेष्ठ, बद्री गौतम, सुनीलबहादुर मल्ल, कमलशाली घिमिरे, रामकुमार आचार्य छन् । त्यस्तै, लक्ष्मण मैनाली, शिवकुमार शर्मा, अर्जुनबहादुर कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा, केदारबहादुर अधिकारी, विष्णुप्रसाद लम्साल पनि सिफारिसमा परेका छन् ।
नयाँपत्रिकाबाट