१५ निकाय सचिवविहीन

143
  •  
  •  
  •  

काठमडौं १४ मंसिर ।
१५ वटा पुगिसके पनि सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गर्न ढिलाइ गरिरहेको छ । प्रशासनिक नेतृत्व नभएकाले ती निकायको कामकारबाही प्रभावित भइरहे पनि सरकारले सचिव बढुवामा बेवास्ता गरेको हो ।

सहसचिवहरूको कार्य सम्पादन मूल्यांकन कार्य गत असोजमा नै पूरा भइसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु गर्न कुनै अडन नरहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनअनुसार सरकारले रिक्त सचिव पदमा वर्षमा बढुवा समितिको सिफारिसमा दुईपटक पदोन्नति गर्ने व्यवस्था छ ।

सरकारले रिक्त सचिव पदपूर्ति गर्न लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक अहिलेसम्म बोलाएको छैन । १५ वटा निकाय कामु र निमित्त सचिवका भरमा चलाइएको छ, १५ मध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव ।

एकातिर निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक अरू नयाँ निर्णय गर्ने अधिकार नहुने भएकाले विभिन्न निकायको काम प्रभावित छ भने अर्कातिर कन्र्फमसरहको काम गर्ने अख्तियार हुने भए पनि कामु सचिवहरू बढुवा हुने लोभमा मन्त्रीको स्वार्थमा काम गर्ने हुनाले पनि ती निकायको कामसमेत प्रभावित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुई सचिव पद रिक्त छ । रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, शान्ति तथा पुननिर्माणजस्ता मन्त्रालयसमेत सचिवविहीन छन् । रक्षाका कामु सचिव देवेन्द्र सिटौला छ महिनाको अवधि पुगेर निमित्त सचिवमा झरिसकेका छन् भने अरूमा कामु सचिव छन् । कामुबाट निमित्तमा झनुपर्दा सिटौलाको तलबसुविधासमेत घटिसकेको छ ।

अरू सचिवविहीन निकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना आयोग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा पाँचवटा क्षेत्रीय प्रशासन कार्यालय छन् । सुदूर पश्चिम क्षेत्रीय प्रशासन कार्यालय निमित्तको भरमा चलाइएको भने अरूमा कामु सचिव छन् ।

सहसचिवबाट सचिवमा पदोन्नतिका लागि बढुवा समितिको बोलाउनेलगायतका कामको संयोजन सामान्य प्रशासन मन्त्रालयले गर्छ । सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले मंसिरभरिमा सचिव बढुवा प्रक्रिया सुरु हुने जानकारी दिए । ‘हाम्रोमन्त्रालयले छिट्टै लोकसेवा आयोगका पदाधिकारी र मुख्यसचिव लीलामणि पौडेलसित परामर्श गरी मंसिरभित्रै बढुवा समितिको बैठक बोलाएर सचिव पदोन्नतिको प्रक्रिया सुरु गर्नेछ’ उनले कान्तिपुरसित भने ।
कान्तिपुरबाट


  •  
  •  
  •