मोर्चासँग सघन वार्ता गर्ने सरकारको निर्णय

72
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर ।
सरकारले आन्दोलनरत मधेसी दलहरूसँग नयाँ उचाइका साथ सघन वार्ता गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत दलहरूसँग सघन वार्ता गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले मधेसी मोर्चासँगको वार्तालाई निष्कर्षमा पुर्‍याउने निर्णय भएको बताए ।

उनका अनुसार बैठकमा मधेसी दलहरूसँग भइरहेको वार्ता अवरुद्ध हुन पुगेकोमा गम्भीर समीक्षा भएको थियो । वार्तालाई अवरुद्ध हुन नदिने र नयाँ उचाइ र गतिका साथ वार्ता गर्ने निर्णय गरिएको मन्त्री राईले बताए । बैठकले आर्थिक नाकाबन्दीको मौका छोपी कालोबजारी गर्नेको अनुगमन गरी कारबाहीको सिफारिस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ । यसैगरी, अत्यावश्यक सेवाका निकायलाई पेट्रोल तथा डिजेलको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बैठकले चीनसँगको तातोपानी र केरुङ नाकालाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •