नाका नखुले सरकारले अन्तर्राष्ट्रिय सहयोग माग्ने

235
  •  
  •  
  •  

काठमाडौं २५ कात्तिक ।
भारतले थप केही दिन नाकाबन्दी जारी राखे सरकारले नेपालमा मानवीय संकट रहेको जनाउँदै सहयोगका लागि विश्व समुदायलाई आग्रह गर्ने भएको छ । तर, त्यस्तो आग्रहमा नाकाबन्दी नभनी ‘चरम मानवीय संकटको अवस्था’ भन्ने तयारी छ ।

सरकारको प्रारम्भिक गृहकार्यअनुसार भूकम्पपछिको अवस्थामा झैं इन्धन, खाद्य सामग्री, औषधिलगायत अत्यावश्यक वस्तुको आग्रह गरिनेछ । एक वरिष्ठ मन्त्रीका अनुसार त्यसका साथै इन्धनको वैकल्पिक उपायसमेत खोजिने छ । विकल्पमध्येमै चीनतर्फका नाका खुलाई नियमित इन्धन आपूर्ति गर्ने कार्य तीव्र भइरहेको स्रोतले जनायो ।

त्यस्तै सरकारले विदेशस्थित आफ्ना कूटनीतिक नियोगहरूलाई नेपालको पछिल्लो अवस्थाबारे त्यहाँका सञ्चारमाध्यम, नेपाली समुदाय र कूटनीतिक समुदायलाई जानकारी गराउन निर्देशन दिने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेनेभामा गत साता भनेका थिए, ‘यही अवस्था केही दिन लम्बिएमा नेपालमा चरम मानवीय संकट आइपर्छ ।’
तैपनि सरकार अझै भारतको सकारात्मक निर्णयको केही दिन कुराइमा रहेको ती मन्त्रीले सुनाए । ‘यो विषय आफैं अन्तर्राष्ट्रियकरण भइसकेको छ । सबैले अवस्था बुझेका छन् । हामीले आँट नगरेको भन्दा पनि नजिकको मित्रलाई असहज किन पार्ने भन्ने नै हो,’ उनले भने, ‘नेपाल र भारतको मित्रता घनिष्टतम र रोटीबेटीको समेत हो । तर, भारतले नेपालको समस्या नबुझेपछि सरकारले हदैसम्म उपयाहरू खोज्नैपर्ने हुन्छ ।’

महाभूकम्पले थिलथिलो पारेभन्दा ठूलो संकट वर्तमान अवस्थामा परेको सरकारले अन्तर्राष्ट्रिय समुदायमा जाहेर गर्ने सोच बनाएको छ । । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले वर्तमान अवस्थाबारे आफ्ना सबै नियोगलाई अवगत गराइसकेको छ । ‘सबै कूटनीतिक समुदायले नेपालमा भूकम्पपछिको र नाकाबन्दीको अवस्थाबारे जानकारी लिन थालेपछि आफ्ना नियोगहरूलाई अपडेट गराइएको हो,’ स्रोतले भन्यो ।

मन्त्रालयले भारतीय सीमाको अवस्था र उत्तरतिरका नाका खोल्न गरिएको प्रयासबारे समेत आफ्ना नियोगहरूलाई जानकारी गराउँदै आएको छ । सबै नियोगले सञ्चारमाध्यमबाट मात्र पछिल्लो अवस्था जानकारी लिनुपरेको भन्दै मन्त्रालयसँग गुनासो गरेपछि लगातार जानकारी दिन थालिएको हो ।

स्रोतका अनुसार सबै नियोगलाई विदेशी र गैरआवासीय नेपालीलाई नेपालको अवस्थाबारे जानकारी गराउन र उनीहरूबाट नयाँ धारणाहरू लिन भनिएको छ । यसअघि सचिव शंकरदास बैरागीले केही राजदूतहरूलाई इमेलमार्फत अनौपचारिक रूपमा अनुभव मागेका थिए । त्यसै क्रममा ती राजदूतहरूले अवस्थाबारे जानकारी नगराएको र अनुभव मात्र मागेको भन्दै गुनासो गरेका थिए । परराष्ट्र सहप्रवक्ता दीपक अधिकारीले भने, ‘दूतावास सरकारकै निकाय हुनाले यहाँको सबै अवस्था अवगत गराइन्छ नै । त्यहाँको सहयोगसमेत मागिन्छ । यो परम्परा हो ।’

सरकारले गैरआवासीय नेपाली संघलाई पनि अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन आग्रह गर्ने भएको छ । संघले सहयोग गर्ने भन्दै राजनीतिक नेतृत्वसँग भेटघाटसमेत सुरु गरिसकेको छ । सरकारले संघसँग औषधिलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रस्ताव राख्ने भएको छ । संघले सहयोगको प्रतिबद्धतासहित सूची मागेको छ ।

परराष्ट्र सचिव बैरागीले अहिलेको अवस्थाबारे विश्व जानकार रहेकाले कुनै न कुनै रूपमा मित्र मुलुकले सघाउने विश्वास व्यक्त गरे । ‘अहिलेको अवस्था कहिलेसम्म जाने भन्ने निक्र्योल नहुँदा अन्योल भएको हो । सरकार विकल्पमा जान तत्पर छ । यसअघि परराष्ट्रमन्त्रीले चरम मानवीय संकट आएको खण्डमा मित्रहरूको सहयोग आवश्यक पर्ने बोलिसक्नुभएको छ,’ उनले भने ।

यसैबीच भारतीय राजदूत रणजित रायले नेपाल आफ्नो मित्र मुलुक रहेको उल्लेख गर्दै सहयोगका लागि तयार रहेको बताएका छन् । उनले मंगलबार रिपोर्टर्स क्लबमा भने, ‘नेपालको मन्त्रिपरिषद्ले पास गरेको विशेष प्रस्तावबारे जानकारी आएमा सहयोगका लागि काम गर्न सक्छु । त्यस्तो प्रस्ताव पत्रपत्रिकाबाट थाहा पाएँ । दिल्लीका नेपाली राजदूतलाई गएको भए थाहा छैन, मलाई औपचारिक जानकारी छैन ।’ उनले तत्काल नाका सहज हुने नदेखिएको बताए । उनले नेपालमा जे पनि हल्लामा चल्ने भन्दै राजनीति वार्ता सकारात्मक रूपमा अघि नबढे समाधान हुनेजस्तो आफूलाई नलागेको बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •