गोपालप्रसाद रिमालबारे लेखिएको पुस्तक लोकार्पण

54
  •  
  •  
  •  

काठमाडौं । कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखिएको पुस्तक  ‘गोपालप्रसाद रिमाल’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार गोविन्द प्रसाद दुलालद्वारा लिखित, बरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्तद्वारा सम्पादित सो पुस्तकको मंगलबार एक समारोहकाबीच उपप्रधानमन्त्री इश्वर पोखरेलले लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकापर्ण  गर्दै  उपप्रधानमन्त्री पोखरेलले भने, ‘कवि तथा नाटककार गोपाल प्रसाद रिमालले चर्चित ऐतिहासिक पुस्तकहरु हामी समक्ष पस्किनुभयो तर उहाँकै बारेमा नलेखिएको पुस्तक आज लेखिएको छ । यो आफैँमा ऐतिहासिक छ ।’

पोखरेलले आमाको सपनाहरु र मसानघाट जस्ता कृतिका लेखक रिमालको व्यक्तित्व र कृतित्वको खोज अनुसन्धानगरि पुस्तक तयार गर्नु सजिलो थिएन भन्दै लेखक गोविन्द दुलालको मेहनत, वरिष्ठ पत्रकार टंक पन्तको कुशल सम्पादनले पुस्तक जुन रुपमा आएको छ त्यो राज्यकै एउटा महत्वपुर्ण सम्पत्ति बनेको बताए ।

रिमाल सबै साहित्यिक व्यक्तिका ढुकढुकी पनि हुन् । रिमाल कवि हुन् तर राजनीतिक पार्टी खोलेर नेताको अवतारमा पनि देखिए । राणाकालीन समयमा युवा भेला पारेर राजधानीमा जागरण–गीत गाउँदैं हिँडे । क्रान्तिकारी भजनमण्डलीको संयोजन गरेर धार्मिक माध्यमहरुलाई समाजका निम्ति उपयोग गरे । रिमालले नै जनसमक्ष भाषण गर्दा पहिलोपटक ‘जय नेपाल’ भनि अभिवादन गरेका हुन् ।

‘इन्क्लाब जिन्दावाद, प्रजातन्त्र जिन्दावाद !’ नाराको पहिलो प्रयोग उनैबाट भएको थियो । अमिन लप्टनको जागिर छोडेका थिए । क्रान्तिलाई टेवापुग्ने कविता–लेखहरु लेखेका थिए । जेलगए । अनशन बसे । नजरबन्दमा परे । देशभक्त भए । स्वप्न भए । कवि, नाटककार र क्रान्तिकारी भए ।

प्रजातन्त्र स्थापनापछि पनि जनताका सपना पूरा नहुने देखेपछि विक्षिप्त भएर उपचारका लागि राँचीको पाहुना समेत बनेका थिए । तर, जिन्दगीभर आफ्नो राष्ट्रको नक्सा छातीमा बोकेर हिँडे । अवचेतन अवस्थामा राष्ट्रको निलो आकाश हेर्दै ‘मेरो नेपाल, मेरो नेपाल’भनी रोए । यस्ता व्यक्तित्वको गहकिलो पुस्तकप्रकाशनहुन जरूरी थियो । सरकारले कवि तथा नाटककार गोपाल प्रसाद रिमालको नाममा दुई वटा पुरस्कार स्थापना गरेको छ ।

पुस्तक प्रकाशक संस्था घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सोही समारोहमा जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारद्वारा गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो ।

पुस्तकको समीक्षा गर्दै कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले यो पुस्तक: ऐतिहासिक भएको र यो पुस्तकका अनुसूचीमा समेटिएका आमाको सपना कविता संग्रह र मसान नाटकले गर्दा पनि यो पुस्तक ऐतिहासिक रहेको उल्लेख गर्दै यस्तो महत्वपुर्ण पुस्तक प्रकाशन हुनु हामी सबैका लागि अत्यन्त खुशीको पक्षभएको उल्लेख गरे ।

विद्यालय तथा विश्वविद्यालयहरुका लागि सन्दर्भ सामग्रीका रुपमा मसानघाट र आमाको सपना पुस्तक अहिले बजारमा नरहेको बेला सो सामग्री गोपाल प्रसाद रिमालको यहि पुस्तकमा समेटिनु अर्को राम्रो पक्ष भएको डा.ज्ञवालीले बताए ।  पुस्तकका सम्पादक बरिष्ठ पत्रकार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल  इन्जाएशियाका अध्यक्ष टंक पन्तले स्वागत मन्तब्य ब्यक्त गर्दै  यस्तो ऐतिहासिक पुस्तक सम्पादनगर्ने अबसर पाउनु शौभाग्यको कुरा भएको बताए ।

गोपाल प्रसाद रिमालका सुपुत्र मदन रिमालले धन्यबाद ज्ञापन गर्दै आफ्ना पिताको पुस्तक प्रकाशन हुनु आफ्नो परिवारका लागि निकै खुशीको कुरा भएको उल्लेख गरे । सो कार्यक्रममा पुस्तकका लेखक गोबिन्द प्रसाद दुलालले कार्यक्रम संचालन गर्दै गोपाल प्रसाद रिमाल जस्तो राष्ट्रिय व्यक्तित्वको निधन भएको धेरै वर्षपछि पुस्तक लेख्नु आफैँमा सजिलो थिएन तर परिवार एवं अन्य बौद्धिक व्यतिmत्वको सहयोगमा पुस्तक तयार भएको उल्लेख गरे ।

रिमालका कविताका केही हरफहरु

रातो र चन्द्र–सूर्य जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सानहाम्रो ।।
एक जुगमा एक दिनएकचोटि आउँछ ।
उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ ।।
आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
यहाँ बुद्ध जन्माउनु पर्छ ।
यहाँ लेनिन जन्माउनु पर्छ ।
मैले त क्रान्तिलाई सलामीदिइसके !
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।।
जस्ता कबिता बाचनबाट कार्यक्रम सुरु भएको थियो ।


  •  
  •  
  •