विशालबजार ‘सपीङ’ गएको स्वीकार्दै न्यायाधीश पराजुलीले भने : कसको विषयमा किन लेख्दै छु भन्ने ख्याल गर्नु

443
  •  
  •  
  •  

Justice Gopal Parajuli
न्यायाधोश गोपाल पराजुली

काठमाडौं, २२ जेठ (ओएनएस) : अदालत निरीक्षणको क्रममा जुम्ला पुगेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीसँग ढिलो गरी बिहीबार टेलिफोनमा सम्पर्क भएको छ ।

उनले आफ्नै इजलासमा निर्णय सुनाउने तोकेर पटकपटक सरिरहेको मुद्दाका पक्षसँग विशालबजारमा सपिङ गएको, मुद्दासँग सम्बन्धित व्यक्तिले उनलाई विशाल बजारमा घुमाएको र मुद्दासँगै जोडिएका अर्का व्यक्तिको पसलमा सपिङ गरेको समाचार प्राप्त भएलगत्तै उनको प्रतिक्रिया लिने प्रयास हामीले गरेका थियौँ । निरन्तरको प्रयासपछि सफल नभएपछि शनिबार मात्र हामीले पोस्ट गरेका थियौँ ।

सम्बन्धित समाचारहरु :-

‘झगडियासँग हिमचिम गर्नेलाई प्रधानन्यायाधीश र न्यायपरिषदले कारवाही गर्नुपर्छ’

‘झगडियासँग हिमचिम : नैतिकता, आचारसंहिता र कानुनविपरीत’

सर्वोच्चका न्यायाधीश पराजुली झगडियासँग सपिङमा

त्यसपछि पनि उनको प्रतिक्रियाका लागि निरन्तर प्रयास गरेपछि बल्ल बिहीबार सम्पर्क स्थापित भयो । सम्पर्क भए लगत्तै उनले हाम्रा प्रश्नको सिलसिलेवार उत्तर नदिई एकतर्फी रुपमा आफ्ना कुरा राखेका थिए ।

प्रश्न गर्न खोज्दा उनले पटकपटक दोहोर्‍याएका थिए, ‘छाप्ने भए खुरुक्क खण्डन छाप्नू । अरु कुरा मसँग नगर्नू ।’ टेलिफोन मार्फत् उनको थप प्रतिक्रिया यस्तो थियो¬–

‘म विशाल बजार सपिङमा गएकै हुँ । बिहीबार मात्र होइन, नियमित जान्छु । मैले त्यहाँ सधैँ कपडा सिलाउन दिने ठाउँ छ । तर, त्यस दिन त्यो पसल बन्द रहेछ । ए बाबु, नम्बर छ तपाईंसँग भनेर सोधेँ ।

केही बेरमा मैले नियमित सिलाउने पसलसँगै जोडिएको पसलबाट तीनहजारमा पाइन्ट ल्याएँ । केहीबेर खाजा खान निस्किएँ । फेरि गएर दौरा सुरुवाल लिएँर फर्किएँ ।

को मुद्दाका पक्ष हुन्, को होइनन् ? मलाई मतलबको विषय होइन । विशालबजार कम्पनी सम्बन्धी मुद्दा छ भन्दैमा न्यायाधीशले विशालबजार जानै हुँदैन भन्ने हो ? सञ्चय कोषमा हाम्रो पैसा छ । कोषमा हामी पैसा जम्मा गर्छौँ, आवश्यक परे लिन्छौँ पनि । त्यसो भए हामीले सञ्चय कोषको मुद्दा नै नहेर्ने कि सञ्चय कोषमा रकम नै जम्मा नगर्ने ?

दामोदर कार्की को हो, म चिन्दिनँ । (कार्कीबारे हेर्नुहोस्, को हुन् कार्की ?)

कुन मुद्दाको पक्ष हो ? के थाहा छ, तपाईंलाई ? पत्रकार भन्दैमा जे पायो त्यही लेख्न पाइन्छ ? न्यायाधीशलाई के सम्झनु भएको छ तपाईंले ?कसको विषयमा किन लेख्दै छु भन्ने पनि ख्याल गर्नूस् ।

(न्यायाधीश पराजुलीको आक्रोशपूर्ण प्रतिक्रियाका क्रममा आदरवाची शब्दहरु कहिले तपाईं, कहिले तिमी र कहिले तँ समेत प्रयोग भएका थिए¬) कसको पैसा खाएर लेख्यौ ? कसको स्वार्थमा लेख्यौ ? खुरुक्क कि त खण्डन छाप्नुहोस्, होइन भने तपाईंलाई पनि राम्रो हुँदैन, बुझ्नुभो ? कसैको एजेन्ट भएर काम गर्नु पत्रकारिता हो ?तपाईं कसको एजेन्टहो भन्नुस् त ?

मैले सुनेको छु, त्यो कार्की (नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की) भन्नेले आमाको काजकिरिया बसेकै अवस्थामा मेरा विरुद्धमा बोलेको छ रे । कल्याण (सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठ ) ले पनि भनेका छन् रे । यस्ता यस्ता कुरा छाप्ने तपाईंहरुको इथिक्स (नैतिकता) भित्रपर्छ ?’

यति भनिसके पछि फोन काटियो । पुनःडायल गरेपछि थप कुरा गर्न चाहेनन् ।


  •  
  •  
  •