‘ओलीलाई हटाएर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्न पहल’

254
  •  
  •  
  •  

gopal-kiratiकाठमाडौं ९ बैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथासिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो आफू शासन गर्न चाहिरहेको दावी गर्दै ओली सरकारको विस्थापनकोलागि पार्टीभित्रबाटै शसक्त आन्दोलन गर्ने घोषणा गरे ।

साक्षात्कारमा किरातीले भने,‘ केपी ओलीको सरकार ईतिहासमै खतरनाक राष्ट्रघाति सरकार हो । यो सरकारलाई यथासिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्छ । त्यो हुन नसके मधेस आन्दोलन, पुर्ननिर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ ।’

उनले केपी ओलीको रबैयाको सिखण्डी भएर एमाओवादी बस्न नहुने भन्दै अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने अन्यथा पार्टीभित्र शसक्त आन्दोलन गर्ने बताए । आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दावी गरेका किरातीले सरकारलाई विस्थापन गर्ने विषयमा पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय कमिटिमा समेत छलफल गराउने योजना सुनाए ।

उनले भने,‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भईसकेको छ । एमाले नेतृत्वले सरकारमा हामीलाई धोका दिएको छ ।’
किरातीले खोक्रो राष्ट्रबादको नाममा भारतलाई चिढ्याएर भारत हुँदै अन्तर्राष्ट्रिय गठबन्धन बनाएर माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको दावी गर्दै माओवादीको चिहानमा एमालेको शासन गर्ने योजनालाई एमाओवादीले बुझ्नु पर्ने बताए ।


  •  
  •  
  •