उपभोग्य वस्तुको मुल्य आकाशियो

219
  •  
  •  
  •  

विराटनगर, २४ कात्तिक(ओएनएस) : भारतले गरेको अघोषित नाकाबन्दी र मधेश आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । बन्दका कारण व्यापारीहरुको कालोबजारी र उद्योगहरुले नै मुल्य बढाएपछि दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको हो ।

दैनिक भान्सामा प्रयोग हुने दाल, चिनी, तेल, चालम लगायत वस्तुको मुल्य आकाशिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विराटनगरको बजारमा कालोबजारी बढेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको थियो । अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मुल्य बढेको भेटिएको वाणिज्य कार्यालय प्रमुख नयाराज नेपालले जानकारी दिए । अनुगमनका क्रममा उद्योगले नै मुल्य बढाएको भेटिएको प्रमुख नेपालले बताए । उनले भने, ‘असोज १० गते १ हजार २ सय ८० रुपैँयामा उद्योगले बिक्रेतालाई उपलव्ध गराएको तेल सोमबार १ हजार पाँच सय ४ रुपैयामा उपलव्ध गराएको पाइयो ।’

बन्दलाई कारण देखाउदै तेलको मुल्यमा ५० प्रतिशत्त बृद्धि गरिएको छ भने दालमा ३५ देखी ४० प्रतिशत र चामलमा २० देखी २५ प्रतिशतले मुल्य बृद्धी भएको छ । वाणिज्य कार्यालय प्रमुख नेपालले भने ‘मोर्चाको जुलुसले गर्दा मुख्य बजारमा अनुगमन गर्न पाएनौ तिनपैनी एरियामा अनुगमन गर्दा मूल्य धेरै बृद्धी भएको पायौ ।’

उद्योगले बृद्धी गरेर पठाएको मुल्यमा व्यापारीहरुले पनि कमिसन जोडेर बढि रुपैया लिने गरेको उनको भनाई छ । उनले भने, ‘पसलले कालोबजारी गरेको भए तत्कालै कारवाही गरिन्थ्यो । तर, उद्योगले नै मुल्य बढाएर पठाएको पाइएको छ ।’

उद्योगले मुल्य बढाएको विषयमा माथिल्लो तहबाट उद्योग मन्त्रालयसँग समन्वय गरी अघि बढने उनले बताए । माथिल्लो निकायसँग समन्वय गरी उद्योगहरुको मुल्य बढाएको विषयमा समन्वय गरेर अघि बढने उनको भनाई छ ।

अनुगमनका क्रममा सेल्लो तेलमा प्रति लिटर ५० र सन्फलावर तेलमा प्रतिलिटर ७८ रुपैया सम्म मुल्य बढेको पव्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलले जानकारी दिए । उनले भने, ‘ एक महिना अघि ८० रुपैया पर्ने आधा लिटर सनफलावर तेलको प्याकेटलाई अहिले १ सय १८ रुपैया पर्छ ।’ उद्योग र व्यापारीले बन्दलाई कारण देखाउदै आफुखुसी मुल्य बढाएपनि सरकार चुपचाप बसेको उनेको गुनासो छ ।


  •  
  •  
  •