‘सुन तस्करीमा नेता नै संलग्न छन्’

436
  •  
  •  
  •  

काठमाडौं १२ पुस ।
तातोपानीबाट गाडिमा ३५ किलो सुन काभ्रेको एउटा नेताको घरमा ल्याइयो । तर, जोख्दा ५ किलो कम भएपछि सुन ल्याउनेलाई प्रहरीले समात्यो । पछि त्यहि नेताको दवावमा सुन ल्याउनेलाई पनि छाडियो । ती नेताको नाम यहाँ नभनौं सभापतिज्यू, अहिले सुन ल्याउने गाडीको ड्राइभर खोज्ने काम भइरहेको छ ।’

यो भनाइ काभ्रेका एमाले सभासद विदुरप्रसाद सापकोटाको हो । उनले शुक्रबार बसेको अर्थ समितिको बैठकमै यो कुरा भनेका हुन् । सभासद सापकोटा यतिमा रोकिएनन् । उनले अर्को उदाहरण दिँदै भने, ‘एकजना कार्की थरकालाई ३५ किलो सुनसहित पक्राउ गरियो । नेताको दवावमा ती छुटे । प्रहरी र नेता मिलेर ३२ किलो सुन गायब पारे । तीन किलोमात्रै देखाए ।’

उनको कुरा सुनेर बैठकमा उपस्थित सभासदहरू छक्क परे । पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले नेता भरतमोहन अधिकारीले बीचैमा सोधे, ‘नेताकै घरमा ?’ सापकोटाले ठाडै ‘हो’ भनेपछि अधिकारीले थपे, ‘साह्रै गम्भीर कुरा ।’ सापकोटाले बैठकमा आवश्यक परे र गम्भीर रुपमा अनुसन्धान हुने अबस्था भए ती सुन तस्करीको घटनामा सूचना उपलब्ध गराउने उपलब्ध गराइदिने बताए । ‘सुन तस्करीमा मलजल गर्ने अरु कोही होइन उच्च तहका नेता नै हुन्,’ उनले भने, ‘उनीहरूका अगाडि प्रहरी निरीह बन्दोरहेछ । कर्मचारीलाई पनि दोष नदिऊँ ।’

बैठकमा भन्सारको वर्तमान अबस्था, त्यहाँ हुने बेतिथी नियन्त्रण र न्युन बिजकीकरण लगायतका विषयमा छलफल भएको थियो । त्यसक्रममा भन्सारबाटै चीनबाट भारत सुन तस्करी भएको कुरा उठेपछि यस्तो वहस भएको थियो । ‘हामी बाणिज्य बैंकको सुन किक्दैनौं । तर, बजारमा सुनको कारोबार बढ्ने ? यो कसरि हुन्छ ? यहि आधारमा खोज्ने हो भने सुन तस्करि नियन्त्रण गाह्रो छैन,’ सभासद केशव बडालले भने, ‘पहिला पनि सुनमा हुने मिसावट राज्यले नियन्त्रण गर्ने पहल गरेपछि सबै ब्यबसायी आन्दोलनमा उत्रेकै थिए ।’

अर्थमन्त्री रामशरण महतले ‘स्पेशिफिक’ भएर मुद्धा उठाउन आग्रह गरे । ‘३०/३५ किलो सुन तस्करीको कुरा त्यतिबैलै किन नउठाउनु भएको ?,’ उनले प्रश्न गरे, ‘अहिले उठाएर के हुन्छ ? अहिले बिगुल भन्ने स्किम छ जसमा २४ सै घण्टा उजुरी गर्न सकिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि काम गरिरहेकै छ । स्पेशिफिक भएर उजुरी गर्नुपर्‍यो ।’ उनले भन्सार दरमा अन्तर पर्दा चीनबाट नेपाल हुँदै भारततर्फ सुन तस्करी भएको बताए । ‘सुनको दरमा तुरुन्त हेरफेर गर्नुपर्छ ताकि तस्करी रोकियोस्,’ उनले भने ।

उनले नेपालको भारत र चीनसँ खुला सीमाना रहेको र ‘पोकेहरू’ ले गरेको तस्करीको आरोप भन्सार प्रशासनलाई लाग्ने गरेको दाबी गरे । ‘म तातोपानी जाँदा जंगलबाट पोकेहरू हिँडेको देखेको छु,’ उनले भने, ‘नेपालको १६ सय किलोमिटर खुला सीमाना छ । सबै ठाउँमा भन्सार पनि बस्दैन, पुलिस पनि बस्दैन ।’ उनले भन्सारमा चुहावट भइरहेको स्वीकारे । तर, राजश्वमा वृद्धि भइरहेको बताए । ‘२०४८ सालमा कुल गार्हस्थ उत्पादनमा राजश्वको ८/९ प्रतिशत योगदान थियो । अहिले २६/२७ प्रतिशत पुगेको छ,’ उनले भने, ‘राजश्वको मुख्य स्रोत भन्सार होइन । ३७/३८ प्रतिशतबाट घटेर राजश्वमा भन्सारका हिस्सा २६/२७ प्रतिशतमा झरेको छ ।’ सभासदहरूले भन्सारमुखी राजश्व भनेको देशको अर्थतन्त्र खोक्रो पार्ने आयातमुखी अर्थतन्त्र भएको बताउँदै राजश्वको अन्य स्रोत विकास गर्नुपर्ने उल्लेख गरेपछि महतले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

कान्तिपुरबाट


  •  
  •  
  •