निरन्तर संघर्षको एक पर्याय गोमा देवकोटा

684
  •  
  •  
  •  

नेकपा एमालेको १० औँ महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय सदस्यहरुको आकांक्षी पनि बढ्दै गएका छन् । महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय २५ जना केन्द्रीय सदस्य पाँच वर्षका लागि चयन गर्दैछ । विगतको महाधिवेशनमा महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याइएको छैन । यस पटकको महाधिवेशनमा महिला नेतृहरुलाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने देखिन्छ ।

उसाे त नेपालको राजनीतिको नीति निर्माण तहमा महिलाहरुको सहभागिता र स्थान अझै पनि सन्तोष गर्न सकिने अवस्थामा देखिदैँन । जीवनको महत्वपुर्ण समय लामै अवधि राजनीतिक गतिविधिमा बिताएका महिलाहरु गणनायोग्य संंख्या भेटिन्छन् । तर पनि राजनीतिक दलका नेताहरुबाट सुनिन्छ ‘सिनियर तहका र योग्यतम महिलाहरु छैनन्’ । जब कि योग्यता र सिनियोरिटीको मापन गर्ने स्पष्ट आधार र मापदण्ड कुनै पनि दलमा तय गरिएको पाइदैँन । यसै सन्दर्भमा हामिले नेकपा एमालेकी नेता गोमा देवकोटासँग राजनीतिक जीवन र राजनीति गर्ने क्रममा जीवनमा देखा परेका उतार चढावको खोजी गर्ने जमर्को गरेका छाैँ ।

जीवन नै एक संघर्ष हो । संघर्षले मान्छेलाई एक उचाइमा पुर्‍याउँछ । हरेक पेसामा सफलता पाउनेहरु संघर्षबाट नै आएका हुन्छन् । अझ राजनीति आफैँमा संघर्षको एक पर्यायवाची शव्द हो । आफ्नो जीवनकालमा विभिन्न उतार चढाप संघर्ष गर्दै अहिलेको अवस्थामा आएपुगेकी नेकपाकी नेता हुन गोमा देवकोटा ।

नेकपा एमालेकी सांसद एवं अनेमसंघकी निवर्तमान अध्यक्षदेवकोटासँग जीवनमा देखा परेका उतार चढावहरु हामीले खोजी गर्ने जमर्को गरेका छौँ । वि.स २००८ जेठ ७ गते सिन्धुलीको बितिजोर, बगैँचा गाविसमा आमा भक्तकुमारी कार्की र बुबा जयबहादुर कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् गोमा देवकोटा । उनको बाल्यवस्था सुखमय नै थियो । उनी घरकी ठूली छोरी । त्यो समयमा पनि पढ्ने अवसर पाइन् गोमाले । जुन समय छोरीलाई शिक्षा दिने कुरा असम्भव जस्तै थियो ।

गोमालाई पढाउन फुपुको ठूलो सहयोग रह्यो । फुपु पञ्चायतको समर्थक थिइन् । अर्कोतर्फ उनलाई सोही गाउँकी तारादेवी थापाको पनि साथ थियो । तारादेवी बालविधवा थिइन् । छोरा र छोरीमा समान हुनुपर्छ भन्ने उनको सोच थियो ।

गोमा भन्छिन्, ‘२०१५-१६ सालको कुरा हो । बाख्रा चराउन जंगलमा गएको थिए । ठूलो बरको रुख थियो । बरको छहारीमा सबै पढिराखेको देखे । म डिलमा बसेर हेरिरहन्थे । त्यो कुरा फुपुले थाहा पाउनुभएछ । अनि फुपुले त पनि पढ्छेस् भनेर सोध्नुभयो । मैले पढ्छु भने । त्यो बेला बरको पात टिपेर बनाएको मसि हुन्थ्यो । अंगार पिनेर, सिमिको पात निचरेर मसी बनाउँथ्यौ । घरमा पनि ठूलो बुबाका छोराहरुले पढाउनुहुन्थ्यो । क, ख, ग घरमै पनि सिके । चार कक्षामा पढ्दाबासुदेव श्रेष्ठ जुन बामपन्थी नेता घरमा आइरहन्थे । गोमाको घरमा आउँदा ३, ४ पना लेखेर छोडेका केहि हरफहरु उनी सम्झिन्छिन् । गोमा भन्छिन्, ‘बासु श्रेष्ठले त्यो पानामा छोरी मान्छे यस्तो हुनुपर्छ । गहना लगाउनुहुँदैन । मेकअप गर्नुहुँदैन । चुरा लगाउनु हुँदैन । गरिबहरुलाई माया गर्नुपर्छ भनेर लेख्नु भएको थियो । त्यो लेखाइले पनि मलाई प्रभाव पार्यो । त्यसपछि त्यसैको प्रभावमा मैले पनि गाउँका गरिबहरुलाई घरबाट धान, मकै चोेरेर दिने थाले ।’ अर्को तर्फ बासुदेव श्रेष्ठ गाउँमा आउँदा गोमाकै घरको आँगनामा गुन्द्री ओछ्याए पढाउन शुरु गरेका थिए । बासुदेव बामपन्थी विचार प्रचारप्रसारकै लागि सिन्धुली आएका थिए ।

आमासँग गोमा

प्रगतिशिल विवाह

तत्कालिन अवस्थामा छोरीलाई स्कुल पठाउने कुरा आश्चर्यको विषय भएपनि गोमाले सात कक्षासम्म पढिन् । त्यसपछि उनको विवाहको कुरा चल्यो । सिन्धुलीको खुर्कोट गाविसका ऋषि देवकोटासँग गोमाको १६ वर्षको उमेरमा २०२४ साल फागुन २९ गते मागी विवाह भयो । फुपुकै योजनामा गोमाको विवाह भएको थियो ।

गोमा भन्छिन्, ‘मेरो विवाहको माध्यम नै फुपु हुनुहुन्थ्यो । मलाई विवाह गर्ने भनेर थाहै दिएनन् । पछि मात्र थाहा पाए । मेरो श्रीमान काठमाडौंबाट कलेज पढेर गाउँ फर्किनु भएको रहेछ । गाउँ गइसकेपछि फुपुसँग भेट भएको रहेछ । यतिको टाठो केटोले मेरो फदैनी विवाह गरिदिए हुन्थ्यो भन्ने फुपुलाई लागेछ । त्यतिबेला पनि हाम्रो विवाह प्रगतिशिल विवाह भएको हो । लुगाफाटा केहि थिएन । लाहुरेको श्रीमतीको पुरानो साडि, जुत्ता लगाएर विवाह गरे । उहाँ त्यतिबेला खुर्कोटको स्कुलमा पढाउँदै हुनुहुन्थ्यो । पुरानो जुत्ता बाटोमा जाँदै गर्दा च्यातियो । म खालि खुट्टाले हिँडेर श्रीमानको घरसम्म पुगेको थिए ।’

विवाहपछिका दिनहरु …

ऋषि देवकोटा कम्युनिष्ट आन्दोलनमा सक्रिय एक नेता थिए । जुन कुरा गोमालाई विवाह अघि नै थाहा थियो । विवाह पश्चात आफ्नो पढाइलाई फेरि अगाडि बढाउन पाइएला भन्ने कुरा गोमाले कल्पनासम्म पनि गरेकी थिइनन् । ऋषि खुर्कोटकै जनजागृति निमाविका प्रधानाध्यापक थिए । उनले आफ्नी श्रीमतीलाई स्कुल पढ्न पठाए ।

गोमा थप्छिन्, ‘विवाहपछि ८ कक्षा भर्ना भए ।पढ्न शुरु गरे । उहाँ सोही स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो । घरको काम गर्दै, घाँस काट्दै मैले ८ कक्षा पनि पास गरे । त्यतिबेला म दोस्रो भएको थिए । यसरी पढ्दै गर्दा ९ कक्षा पनि पास भए । दश कक्षा खुर्कोटमा खुलेन । त्यसपछि म सिन्धुली कमलामाइ हाइस्कुलमा पढ्न आए । त्यहि क्रममा बच्चा जन्मियो । दश पास भए । तर एसएलसी पास गर्न सकिन । श्रीमानलाई पनि धरपकट थियो । कहिले सिन्धुली, कहिले रामेछापपुग्नुपर्ने । त्यसपछि मेरो पढाइ विग्रियो । पछि हामी भिमान फर्कियौँ । त्यहाँ आइसकेपछि जनजागृती स्कुलमा श्रीमानले फेरि पढाउन शुरु गर्नुभयो । हामीले त्यहिथोरै जग्गा पनि किनेका थियौं ।’
फुर्सद हुँदा गोमाले घरमा ‘कटहरे खाडी’, ‘गंगालालको चिता’ जस्ता किताव पढ्ने अवसर पाएकी थिइन् । जसले उनलाई कम्युनिष्ट पार्टीप्रति चासो बढायो ।

प्रवास बसाइ

उनीहरु पार्टीको कामको सिलसिलामा प्रवास(भारत) पनि गएर बसे । यसबीचमा गोमाले भारतबाटै एसएलसी दिने सोच पनि बनाएकी थिइन । तर दिन पाइनन् । गोमा थप्छिन्, ‘हामी प्रवासमा पनि बसेका थियाैँ । गोरखपुर बस्यौ । त्यहाँ सम्पर्क कार्यालय थियो । म त्यहि बच्चा लिएर बसे । प्रवासमा पनि उहाँको जिम्मा पार्टीको कामका लागि कहिले कलकत्ता कहिले कतै पुग्नुपर्ने थियो । प्रवासको केहि समयको बसाइपछि हामी नेपाल फर्कियौ ।’

नेपाल फर्किसकेपछि उनीहरुलाईसिन्धुलीमा एउटा घरमा पार्टीले बस्ने व्यवस्था मिलाइ दिएको थियो । गोमा भन्छिन्, ‘प्रवासबाट छोरी आएको बुबा आमाले थाहा पाउनु भएछ । त्यसपछि बहिनीलाई लिन पठाउनुभयो । म माइत गएर बसे ।’

ऋषिदेवकोटा पनि ससुराली बेला बेलामा गइ रहन्थे । जब उनी ससुराली पुग्थे, गाउँका मान्छेहरु थर्कमान भएर डराउँथे । उनले ससुरालीमा गाउँका धेरैऋणीहरुको कागजपत्र, रसिदहरु च्यातिदिने गरेको गोमा बताउँछिन् । जुन बेला गोमाको माइतीले पनि गाउँका गरिबहरुलाई ऋणदिएका थिए । जसबाट वर्षदिनसम्म चुस्ने चलन थियो । रसिदहरु च्यातिदिएपछि ऋषिदेवकोटा प्रति ससुरालीहरु पनि सिराउन थालेका थिए ।

पढाउन छोडेर भूमिगत….

पञ्चायत विरोधी आन्दोलन चर्किँदै जान थालेपछि ऋषिदेवकोटा माथि प्रहरी प्रशासनको निगरानी पनि बढ्न थाल्यो । विद्यार्थी कालदेखि नै क्रान्तिकारी आन्दोलनमा लागेका कारण प्रशासनको नजर उनीमाथि निरन्तर परेको थियो । पटक–पटक प्रशासनले उनलाई गिरफ्तार गर्दै छाडेको थियो । त्यसकारण पनि उनी प्रधानाध्यापक पद छोडेर भूमिगत हुन बाध्य भए । २०३१ सालमा उनलाई प्रहरी प्रशासनले पक्रियो । पक्रिनी थुन्नी गर्दाउनी ०३१ सालमा जलेस्वरमा ९ महिना जेल बसे ।

गोमा स्मरण गर्छिन्, ‘त्यतिबेला म अलि बिरामी थिए । श्रीमती अलि बिरामी हुनुहुन्छ । तपाई ठोसे मेक्चन हाइस्कुलमा गएर पढाउनुस् भनेका थिए । उहाँ त्यहाँ जानु भएन । त्यसपछि पनि उहाँले लुकेर कार्यक्रम गर्न थाल्नुभयो । पुनः पक्राउमा पर्नुभयो । बाटोबाट सबै गाउँले, साथीहरुले खोसेर ल्याए । सिन्धुली लादा लादै उहाँ फुत्किन सफल हुनुभयो । त्यसपछि फेरि उहाँ भुमिगत हुनुभयो ।’

श्रीमान ऋषिदेवकोटालाई वि.स २०३७ साल फागुन १२ गते सरकारले पक्राउ गरेर लगेको गोमा बताउँछिन् । ०३०-०३१ सालमै उनीहरुको जग्गा जमिन सबै सरकारले नै कव्जा गरेको थियो । त्यतिबेलासम्म उनीहरुका चार सन्तान भइसकेका थिए । ठूलो छोरालाई भिमान छाडेर अरु तीन सन्तानलाई लिएर गोमा माइत गएर बसेकी थिइन् ।

श्रीमानको हत्या …

गोमा माइत गएर बसेकी थिइन् । त्यसबेला उनीहरुका चार सन्तान भइसकेका थिए । श्रीमान राजनीतिमा लागेर भूमिगत भएको कारण बच्चाहरुको पालन पोषणका क्रममा उनी रामेछाप थिइन् । यता श्रीमान ऋषि आजादको हत्या भएको खबर उनीसम्म पुग्यो । श्रीमानको हत्याको खबर पाएपछि उनी विक्षिप्त अवस्थामा भिमान आइपुगिन् ।

गोमा भन्छिन्, ‘२०३७ सालमा श्रीमानलाई मारेको थाहा पाए । त्यसपछि म फेरि भिमान आए । ठाडो भएर शीर उचालेर हिँडेको थिए । मलाई श्रीमानको हत्या भएको थाहा थियो । तर थाहा नभएको जसरी हिँडे । सबैले मलाई नै हेर्थे । श्रीमानलाई हत्या गर्दासरकारी पक्षखुब खुसी हुँदै खसी काटेर भोज गरेका थिए । उनीहरुलाई रमाइलो थियो । अब कम्प्युनिष्ट नै सिँध्यायौ भन्ने लागेको थियो ।’

ऋषि देवकेटासँगै गाउका दुर्गा सुवेदी र स्थानीय दलबहादुर मगर पनि मारिएका थिए । ऋषिदेवकोटा२०२८ सालमै हलिया आन्दोलनदेखि भकारी फोर आन्दोलनसम्म लागेका थिए । सामन्तको भकारी फोरेर जनतालाई धान, मकै बाँडिदिने गर्थे । खेतमै सैयौ जनाडोको बोकेर मकैहरु भाँच्ने गर्थे । त्यतिबेलै अञ्चालाधिश र सिडिओहरु ऋषिको विरुद्धमा लागेका थिए । अञ्चालाधिशले त जग्गा जमिन पनि दिन्छु । अञ्चलमै एउटा जागिरको पोष्ट दिन्छु पनि भनेकाथिए । तर ऋषिले अस्वीकार गरे । अनि उनलाई पक्राउ गर्ने, थुन्ने र दुख दिने गर्न थाल्यो ।

सर्वोच्चमा रिट

ऋषिको हत्यापछि पार्टीको सल्लाहमै गोमाले सर्वोच्चमा रिट पनि दिइन् । त्यतिबेला उनी काठमाडौंमा सानु मिश्रको घरमा बसेर रिट दिएकी थिइन् । त्यो बेलामा यो रिटमा ६८ जनाले बहस गरेको गोमा सम्झिन्छिन् ।गोमा भन्छिन्, ‘पार्टीले काठमाडौं बोलाएर रिट हाल्न लगायो । पक्रिएको हो भने हाजिर गराऊ । मारेको हो भने लास देखाऊ भनेर रिट हाले ।
उनीहरुले ऋषि आजादलाई पक्राउ गरेको तर बाटोमा लैजादै गर्दा भाग्न खोजेकोले कम्मर मुनी गोली हान्न खोज्दा अचानक माथि लागेर मरेको भन्ने बयान दिएका रहेछन् ।

आजादको मृत्युपछि

पञ्चायत विरोधी आन्दोलन झन् चर्कदै गएको थियो । आफ्ना चार सन्तान पार्टीलाई जिम्मा लगाउँदै गोमा आन्दोलनमा हिँडिन् । काठमाडौंमा आइसकेपछि गोमाको पहिलो राजनीतिक सम्पर्क नै जीवराज आश्रितसँग भएको थियो । संगठनमा रहेर काम गर्न उनलाईपार्टीले बाँके बर्दिया पठाउने भयो । बर्दियामा बसेर उनले काम गरिन् ।

उनले चार सन्तानमध्ये कुनैलाई स्याङ्जा, कुनैलाई पर्वत, कुनैलाई कास्की र कुनैलाई रुपन्देहीमा छोडेकी थिइन् । कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा त कसैलाई समर्थकको घरमा छोडिएको थियो । पार्टीबाट फुर्सद मिलाएर बच्चाहरुलाई भेट्न जाँदा आफ्नो बच्चा अरुको घरमा डोको बोकेर घाँस काट्दै गरेको देख्दा मन कटक्क भएको गोमा बताउँछिन् ।

उनी भन्छिन्, ‘छोराछोरीसँग भेट्न कता कता जाने । कोहि पोखरा, कोहि रुपन्देही । छोराछोरी भिन्दा भिन्दै ठाउँमा राखेको थिए । एक ठाउँमा राख्दा कतै नराम्रो पो हुन सक्छ कि भन्ने थियो । कहिले पार्टीले यहाँ ठिक भएन है अन्तै साह्रौ भन्थ्यो । कहिले ६ महिना, कतिले १ वर्षसम्म भिन्दाभिन्दै ठाउँमा राखे । छोराछोरी भेट्न के लिएर जाने । एउटा विस्कुट लिएर जान पनि पार्टीसँग आदेश माग्नुपथ्र्यो । सरोज पर्वतमा बस्यो । पछि स्याङ्जा आयो । कास्कीकोट राखेर त्यहि चार कक्षासम्म पढ्यो ।

सरोजलाई डेढवर्षपछि भेट्न जाँदा…

‘छोरा सरोजलाई पर्वतमा पार्टी समर्थकाको घरमा राखिएको थियो । डेढवर्षपछि भेट्नपुगे । तर त्यहाँ जाँदा छोराका अवस्था दयनिय लाग्यो ।

गोमा भन्छिन्, ‘ऊ त्यहाँ घास काट्ने, उनीहरुका बच्चाले खाएको भाडा माझ्ने गर्दो रहेछ । गाइबस्तुलाई कुँडो दिएर आलु लिन आइजा भन्दा रहेछन् । भिरको बाटो हुँदै ऊ आलु लिन पुग्दो रहेछ । उसलाई भेटे । उसको अवस्था देखेर मन विक्षिप्त भयो । भोलीपल्ट पोखरामा अञ्चल स्तरिय वैठक थियो ।हिँड्ने बेला सरोजले बाटो छेक्यो । पाँच रुपैयाँ दिएर म पोखरा आए । उसको अवस्था देखेर पोखरा आउँदासम्म आँसु रोकिएन । वाटोभरी आँशु झार्दै आए ।’

एक कठिन यात्रा

राजनीतिमा उनले एक कठिन यात्रा पार गरिन् । एकतिर राजनीति त अर्कोतिर बालबच्चा । आफ्ना सन्तानलाई छाडेर उनी राजनीतिमा होमिएकी थिइन् ।
‘कहि पुरुषसँग मात्र कुरा गर्नुपर्ने हुन्थ्यो । त्यस्तो अवस्थामा उहीहरुका श्रीमतीले शंका गर्थे । एक जनालाई त मैले सम्झाए पनि । सम्झाउने क्रममा तपाईले पनि अनेमसंघको सदस्यता लिनुपर्यो भनेर सम्झाइ बुझाइ गरेरपछि उनि हाम्रै अभियानमा जोडिन पुगिन। गोमा भन्छिन्, ‘समाजलाई म सामान्य महिला हो भन्ने देखाउनकै लागि मैले रातो टिका लगाएर हिँडे । टिका, सिँधुर लगाएर हिँडेको थिए । भूमिगत कालमा चुरा, रातै कपडा लगाएर हिँडे । महिलाहरुसँग कुरा गर्दा मेरा पनि श्रीमान वाहिर हुनुहुन्छ भन्थे ।

स्वीटर बुन्ने दिदी…

पार्टीको निर्णयमा गोमा कास्कीको बेगनास गाउका सुर्य अधिकारीको घरमा लामो समयसम्म बसिन् । बगेनासमा बस्नु भनेर पार्टीको निर्णय थियो । त्यहाँबाट उनी पर्वत जान्थिन् । त्यहाँ उनले अनेमसंघको तर्फबाट काम गर्थिन् । उनले कालिकास्थानका मान वहादुर जीसीको परिवारलाई माइती बनाएकी थिइन् । गोमा भन्छिन्, ‘त्यहाँ बेलाबेलामा पार्टीको काम गर्ने र एक दुई दिन स्वीटर पनि बनाउने गर्थे । त्यसैले त्यहाँ स्वीटर बुन्ने दिदी भनेर चिन्थे । यता पार्टीमा भने विभा र गौरी नाम राखिएको थियो । कालिका स्थान, लेखनाथ,रुपाकोट, हंसपुरमा त्यतिखेर विद्यार्थी, बुद्धिजिवि सारा क्षेत्रमा एक्लैले काम गर्नुपथ्र्यो । पार्टीको निर्णय अनुसार अनेमसंघको गोरखा, लमजुङ र स्याङ्जा पनि हेरे ।’२०३८ सालमा भूमिगत हुँदा म कास्की जिल्ला अध्यक्ष भएकी थिए ।

फिल्म हेर्न जाँदा…

भूमिगत कालमै वैठकको लागि हामी पोखरा आएका थियौँ । हामी तुलसी थापा, दिपा गुरुंग, टुका हमाल भएर फिल्म हेर्न गएका थियौँ । त्यो बेला अन्धा कानून हिन्दी फिल्म चलेको थियो । तुलसी थापाले राम्रो छ जाउ भन्नुभयो । जाऊ भनेपछि हामी पनि गइयो । फिल्म हेर्न अरु चिनेका मान्छे पनि गएका रहेछन् । पार्टीले थाहा पायो र कारबाही गर्यो । हामीलाई आत्मा आलोचना गर्न लगायो ।

अखिल नेपाल महिलासंघको कार्यालयमा साथिहरुसँग भेटघाट गर्दै गोमा ।

२०४५ सालपछि…

२०४५ सालमा पार्टीले उनलाई धौलागिरि खटायो । २०४६ सालको आन्दोलनमा उनी पर्वत थिइन् । पर्वत, म्याग्दी, मुस्ताङ उनले हेरेकी थिइन् ।

उनी भन्छिन्, ‘शिव पौडेल, देवबहादुर पौडेल र म तीनजना रहेको कमिटीवाट निर्णय गरेर उहाहरु दुइजना पार्टीको चौथो राष्ट्रिय महाधिवेशनमा भाग लिन सिराहा गए । मैले भने पाँचौ राष्ट्रिय महाधिवेशनवाटमात्र भाग लिन थाले । त्यसपछि २५ वर्षसम्म पार्टीको सल्लाहकार भएर काम गरे । जनकपुरमा सातौँ महाधिवेशनमा त्यहाँका साथीहरुले उत्साहित बनाए ।महिलाहरु पनि उठ्नुपर्छ भन्ने भयो । प्यानल थिएन । जनकपुर अञ्चलको तर्फवाट पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको थिए । तर निर्वाचनमा पराजय भयो । विपक्षमा रामचन्द्र झा हुनुहुन्थ्यो । उहाँको प्रतिष्पर्धी भएर उठेको थिए । जितेपछि झालाई बधाइ दिए । आठौँ महाधिवेशनमा भने उठ्न दिइएन । काठमाडौंमा भएको नवौं महाधिवेशनमा गुटले टिकट दियो । जिते पनि ।’

२०५४ पछि राष्ट्रिय सभा सदस्य थिए । २०७४ देखि अहिले पनि सांसद छु । २०७२ मा अनेमसंघको तत्कालिन अध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि म अनेमसंघको अध्यक्ष भएर काम गरे ।

मदन भण्डारीसँगको भेट

२०४१ सालमा पोखरामा भुमिगत काम गर्दै गर्दा मदन कमरेटसँग भेट भएको थियो । उहासंग पार्टी र परिवारको वारेमा कुराकानी भएको थियो । त्यतिखेर लोचना अधिकार र म बसेर उहाँलाई प्रश्नहरु पनि गरेका थियौँ । उहाँमा महिलालाई हेर्ने दृष्टिकोण राम्रो थियो । बहुदल आएपछि उहा मेरो घर सिन्धुलीमा आउनु भएको थियो । त्यतिखेर मैले नै खाना बनाएर उहाँलाई खुवाएको थिए ।

सिन्धुलीलाई नमुना गाउँपालिका बनाउँदा..

बहुदल आइसकेपछि जोसिला र सरोज सिन्धुलीमा मसंगै वसे । त्यतिखेर जोसिला र सरोजलाई इन्सेकको सहयोगमा बोर्डिड स्कुल पढाइदिन्छु भनेको थियो । तर अरु शहीदको परिवारका ३÷४ जना बच्चाहरु थिए । मैले मेरो दुई सन्तानलाई बोर्डिङ पढाउनुको साटो दुर्गा सुवेदी र रजनको छोराछोरी पनि पढ्न पाउन भनेर आफ्नो छोराछोरीलाई सार्वजनिक स्कुलमा नै पढाउने कुरा गरे । मेरो र उनीहरुका बच्चा गरी ६ वटा केटाकेटीलाई सार्वजनिक विद्यालयमा पढाउन इन्सेकले सहयोग दियो । ठुली छोरी कल्पना राजेन्द्र पौडेलको घर जोरपार्टीमा बसेर पढिन् ।सरोज र जोसिलाले बुबाले पढाएको जनजागृति विद्यालयबाटै एसएलसी दिए ।’

मनमोहन अधिकारीलाई हेटौडाबाट सिन्धुलीको कार्यक्रममा लिएर गएको थिए । उहाँको राम्रो स्वाभाव थियो । कार्यक्रममा जाडो भएर काम्न थाल्नुभयो । गोमाजी मलाई जाडो भयो भन्नुभयो । त्यसपछि छिट्टै कार्यक्रम सकेर कृषि फर्ममा उहाँलाई राखेका थियौँ ।

उहाँ प्रधानमन्त्री हुँदा केही गाउलाई नमुना गाउ विकास समिति घोषणा गरिएको थियो । त्यसमा सिन्धुलीलाई पारिएको रहेनछ । मैले फोन गरे । उहाँले तुरुन्तै आउनुस भनेर बोलाउनुभयो । मैले सिन्धुली भिमान गाविसलाई किन नमुना गाउँमा नपार्नुभएको भनेर प्रश्न गरेको थिए । उहाँले सिपी मैनालीलाई तुरुन्तै फोन गरेर तुरुन्तै नमुना गाविसमा समावेस गर्न लगाउनुभएको थियो । उहाँलाई भेट्न जान सजिलो थियो । तर अहिलेको प्रमलाई भेट्न जान सहज छैन ।

भूमिगत हुँदा र खुल्ला राजनीति

पहिले भूमिगत हुँदा र अहिले खुल्ला रुपमा राजनीतिमा आउँदा धेरै फरक पाएको गोमा बताउँछिन् । उनी भन्छिन्, ‘पहिले भूमिगत हुँदा छोराछोरीसँग बस्न पाइएन । घर पनि थिएन । पार्टीमा काम गर्दा पार्टीको साथ सहयोग थियो । नेता-कार्यकर्तालाई सम्मानका साथ राख्ने चलन थियो । अहिलेखुल्ला भइसकेपछि केहि राम्रो त भयो । तर, हिजोको काममा गौरव लाग्थ्यो । नेताहरुसँग माया थियो । अहिले खुल्ला आइसकेपछि राजनीतिमा विकृतिहरु छन् । नेता कार्यकर्तालाई जनताले कति सम्मान गर्थे तर आज त्यस्तो केही छैन ।’

अहिले दुईजना छोरीहरु अमेरिका छन् । छोराहरु यतै छन् । भुमिगतकालको कुरा सम्झेर अझै पनि छोराछोरीले हामीले यस्तो दुःख पायौँ भन्छन् । म पछिल्लो पटक सुत्केरी हुँदा सानो वालक सरोजले खाना पकाएर खुवाउथ्यो । पछि भुमिगत भएपछि अर्काको छोराछोरीको जुठोपुरोसमते खाएर हुँर्किए । उनीहरु अहिले पार्टीले के गर्यो भन्छन् । पार्टीप्रति उनीहरुका केहीअसन्तुष्टि छन । म अहिले सांसद भएको छु । पहिला राष्ट्रियसभामा हुदा योजनाहरु दिइएको थियो । क्षेत्रविकास बजेट थियो । गाउँमा जाँदा अलि योजना दिन पाउदा अलि सजिलो हुन्थ्यो । अहिले त्यस्तो केही छैन । देशका लागि केहि गर्छु भनेर आइन्छ ।

सांसदभएर देशका लागि जिल्लाका लागि काम गरियो । त्यो महत्वपूर्ण हो ।नीति निर्माणमा पुगेका मान्छेहरुले योजना बनाउनुपर्ने हो । त्यो हामीलेगर्न सकेनाैँ । सरकारले जे दिएको छ । त्यसैमा भर पर्यौँ ।महिला आन्दोलनमा समानताका लागि लागेका छौं । महिला मुक्ति संगठनमा लागेका छौं । जति उदेश्य छ त्यो लक्ष्य हासिल गर्न सकेका छैनौ । समानताका कुरा गरेका छौं । तर कानूनमा तोकिएको ३३ प्रतिशत सहभागिता समेत पुर्याउन सकेका छैनौं ।

महिलाहरुको पार्टी सदस्यता वृद्धि गर्नुपर्छ भनेका छौं । बीचबीचमा अप्ठेराहरु छन् । नेतृत्वमा बसेका पुरुषमा महिलालाई हेर्ने दृष्ट्रिकोण सफा छैन । नेतृत्वमा लैजानुपर्छ भन्ने छैन । देश विकासका लागि नेतृत्वमा महिला हुनुपर्छ भन्ने अझैँ फराकिलो दृष्ट्रिकोण बन्न सकेको छैन । समानतामा पुगन र समृद्ध नेपालको लक्ष्य प्राप्तीका लागि अव महिलाप्रति समान दृष्टिकोण राखेर व्यवहारमा लागु गर्नुपर्दछ ।

(नेकपा एमालेकी नेता गोमा देवकोटासँग सम्झना पौडेल र सन्दिप वि.कले गरेको कुराकानीका आधारित)


  •  
  •  
  •