गोमा एयरले ल्यायाे दोस्राे जहाज

223
  •  
  •  
  •  

काठमाडौं, ४ चैत (ओएनएस) : जी विमान कम्पनी गोमा एयरको दोश्रो नयाँ जहाज नेपाल अवतरण गरेको छ । गोमा एयरले १९ सिट क्षमताको यात्रुवाहक LET410 UVP-E20 Turboprop जहाज ल्याएको हो । रजिस्ट्रेसन मार्क 9N-AKZ  भएको सो जहाज बुधबार दिउसो काठमाडौं आइपुगेको हो । जहाजबाट केही दिनभित्रै यात्रुवर्गका लागि सेवा सुरु गर्ने प्रशासन प्रवन्धक रञ्जन भट्राईले बताए ।

चेक गणतन्त्रमा निर्मित यो जहाज शनिबार त्यहाँबाट उडेको थियो । गोमा एयरका क्याप्टेन आङ दोर्जी शेर्पा र निर्माता कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेगरले जहाज नेपालसम्म उडाएर ल्याएका थिए । यो जहाजले नागरिक उड्ययनका बाँकी प्रक्रिया पूरा गर्नासाथ उडान सेवा सुरु गर्नेछ ।

गोमा एयरले हाल मल्टी इन्जीन टर्बोप्रप जहाज र सिङ्गल इन्जिनका दुईवटा सेस्ना ग्रान्ड काराभान जहाजद्वारा दुर्गम तथा पहाडी क्षेत्रका लुक्ला, सुर्खेत, बाजुरा, रारा, डोल्पा, जुम्ला, जोमसोम र हुम्ला लगायतका एयरपोर्टमा नियमित एवम् चार्टर्ड हवाइ सेवा सञ्चालन गरिरहेको छ । दोश्रो जहाज थपेसँगै पोखरादेखि जोमसोम (मुस्ताङ) र हुम्डे (मनाङ) सेवा थेप्ने योजना गोमा एयरको छ ।

‘हामीले पहिलोपटक जहाज नेपाल भित्राउँदा हाम्रा आदरणीय सेवाग्राही र उपभोक्तासँग छिट्टै दोश्रो जहाज भित्राउन गरेको वाचा आज पूरा भएको छ,’ गोमा एयरका अध्यक्ष विकास राणाले भने, ‘पहिलो उडान अनुभवसँगै यात्रुहरुले दिएको सन्तुष्टिको अभिव्यक्तिले नै हामीलाई छोटो अवधिमा नै यो वाचा पूरा गर्न उत्साहित बनायो ।’

दुई जहाज खरिद गर्नुअघि चेक गणतन्त्रमा निर्मित यस्तै (प्रोटोटाइप) जहाजले पोखरा–जोमसोम रुटमा २०७० मंसिर २२ मा र काठमाडौं–लुक्ला रुटमा २०७० मंसिर २५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसहित सफल परीक्षण उडान गरेको थियो । यी रुट नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुटमध्ये मानिन्छन् ।


  •  
  •  
  •