गोलमाल राजनीति र चौथो पुस्ताको भूमिका

198
  •  
  •  
  •  

वीरेन्द्र कटवाल /

एउटा लोककथाको प्रसंगबाट विषय प्रवेश गर्न चाहें । सो लोककथामा एउटा छट्टु स्याल हुन्छ । र, त्यो स्यालले कुखुरा चोरेर गाउँलेहरूलाई हैरान बनाउँछ । एकदिन एकजना गाउँले त्यो छट्टु स्याललाई नमारी नछाड्ने निधो गर्छन् । र, एउटा कुखुराको भालेलाई डोकाले छोप्छन् । आफू हातमा कटबाँसको लौरो लिएर लुकेर बस्छन् । छट्टु स्यालले यहाँ पक्कै केही गडबड छ भन्ने अनुमान लगाइहाल्छ । र, ‘चिल आयो, चिल आयो’ भनेर कराउन थाल्छ । कटबाँसको लौरो लिएर बसेका ती सोझा गाउँले ‘कता ? कता ?’ भन्दै आकासतिर हेर्न थाल्छन् । उता, छट्टु स्याल डोकाले छोपेको कुखुराको भाले लिएर टाप ठोक्छ । ती किसान फेरि हिस्स पर्छन् ।

मानौ, सो लोककथामा वर्णित छट्टु स्यालको हंस आजभोलि मनुवाको शरीरमा उत्रिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा हामी नेपाली जनताहरू पुरानै शक्तिको पछि लाग्यौं । त्यो पनि उत्साहका साथ । उत्साहित भइहाल्नुपर्ने नयाँ कुरा र नयाँपन केही पनि थिएन । अनुहार पुरानै थिए । सोच–विचार पुरानै थियो । मुद्दाहरू पनि पुरानै थिए । तर, पनि हामी सबपछि लाग्यौं । २०४७ साल देखि २०६१ सालसम्मको उनीहरूको हर्कतबाट वाक्क भएर माओवादीलाई सघाएको कुरा भुसुक्कै बिर्सियौं । जनताको ध्यान कहिले मन्दिरमा बास भएको अमूर्त सामन्तवादतिर त कहिले आर्थिक क्रान्ति गर्ने भ्रान्तितिर मोडिदिएर जनताको भोट लगे । हामी आकाशतिर फर्किएर संविधान र आर्थिक क्रान्ति हेर्न थाल्यौं । यता जनताले उत्साहका साथ छानेका जनप्रतिनिधिहरू डस्टबिनमा ङ्खयाकिए । र, जनताले ङ्खयाकेका, अपराधमा संलग्न भएका, माफिया र तस्करहरूको बोलवाला ह्वात्तै बढ्यो । र, संविधान नबन्ने लगभग निश्चित भयो । अर्थतन्त्र नेताहरूको औषधि उपचार र भिटामिन खान विदेशतिर गयो । राष्ट्रको ढिकुटीमाथि नव–सामन्तहरू स्यालका जस्ता विषाक्त नंग्राहरू लिएर झम्टिन थाले । र, अहिले हामी जनताहरू थाप्लो ठोकेर बस्नुपर्ने स्थितिको पुनरावृत्ति भएको छ । नेपालको वर्तमान राजनीति यसैगरी चलेको छ ।

कुनै पनि मानिस जन्मसिद्ध मालिक, सामन्त, पुँजीपति अथवा नोकर, दास, श्रमिक भएर जन्मिएको होइन । जन्मिदाखेरि सबै एउटै रीतले अवोध बालबालिका भएरै जन्मिए । विकासको क्रममा कतिपय मानवजनित र कतिपय वातावरणीय प्रभावले स्वार्थहरूको विकास भयो । र, ती स्वार्थहरूले वयस्क हुँदै विशिष्टरूप ग्रहण गर्न थाले । त्यसैले श्रम विभाजन ल्यायो । श्रम विभाजनले वर्गहरूको प्रादुर्भाव ग¥यो । र, वर्गहरूको प्रादुर्भावले उत्पादनका स्रोत र साधन माथिको स्वामित्वलाई लिएर वर्गसंघर्षहरू हुनथाले । वर्गहरूको सेवा र प्रभाव विस्तारका खातिर दर्शनास्त्रहरूले पनि वर्गीय रूप लिए । र, समाजविकासको इतिहास जटील बन्न थाल्यो । यो समाज विकासको निरन्तर प्रक्रिया हो । मान्छे नमरिकन उसका स्वार्थहरू मर्दैनन् । मान्छे जीवित रहुन्जेल उसका स्वार्थहरू पनि जीवित रहन्छन् । मान्छे जीवित रहेसम्म नयाँ वर्गहरूको उत्पत्ति र विनासको शृंखला रोकिँदैन । त्यसो भएको हुनाले निजी स्वार्थलाई केन्द्रमा राखेर बनाइएका संगठनका नीतिनियमहरूले समाज परिवर्तन गर्न सक्तैन । त्यसले निजी जीवनमा मात्रै परिवर्तन ल्याउँछ । र, नयाँनयाँ वर्गहरूको निरन्तर उत्पादन गरिरहन्छ । मूलतः नेपालको राजनीति यस्तै निजी, पारिवारिक, गुटगत स्वर्थहरूको चक्रव्यूहमा फसेको छ । फलतः वर्गहीन समाजको सपना बाँड्ने पार्टीहरूमा नयाँ वर्गनिर्माणको प्रक्रिया तीव्र रूपले अगाडि बढेको छ ।

वर्ग रूपान्तरणको विषयलाई निरपेक्ष विरोध गर्नेकुरा ठीक होइन । यतिबेला नव–अभिजातवर्गहरूको अभ्युदयको शृंखला ह्वात्तै बढेको छ । निःसन्देह मुलुकको आर्थिक समृद्धि व्यक्तिहरूको आर्थिक समृद्धिसित पनि गाँसिएको हुन्छ । तर, यो नव–अभिजात वर्गहरूको अभ्युदयको शृंखला उद्योग र व्यवसायको क्षेत्रमा देखा पर्नुपर्छ । र मात्रै, मुलुकलाई फाइदा हुन्छ । मान्छेले रोजगार पाउँछन् । उद्योगमैत्री वातावरणको विकास हुन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको धन, ज्ञान र सीपले मुलुकको विकासमा टेवा पु¥याउँछ । अनि आर्थिक क्रान्तिको नाराले सार्थकता पाउने शृंखलाको सुरुआत हुन्छ । तर, यहाँ त राजनीतिक कर्मीहरू र माफियाको हातमा पुँजी केन्द्रीकृत हुँदै गइरहेको छ । राजनीतिकर्मी र माफियादेखि बाहेक राज्यका सम्पूर्ण अवयवहरू धराशयी बन्ने क्रममा छन् । यसलाई शुभसंकेत मान्न पटक्कै सकिँदैन । यस्तो प्रकारको गैरउत्पादनशील क्षेत्रमा भएको वर्गउत्थानले राष्ट्रको कुभलो गर्छ । यसकारण कि यस्तो प्रकारको वर्गरूपान्तरण विशुद्ध शोषणमा आधारित हुन्छ । र, यसले राष्ट्रको भलो गर्दैन ।

दृष्टान्त स्वरूप एउटा प्रसंग उल्लेख गर्ने अनुमति चाहन्छु । त्यस्तै चार÷पाँच महिना पहिला हुनुपर्छ । बंैकको किस्ता तिर्न भनेर म नेपाल बैंकमा गएको थिएँ । त्यहाँ पुग्नेबित्तिकै ऋण अधिकृत साहेवले बडो उत्साहका साथ एउटा ऋण–प्याकेज अगाडि सार्नुभयो । त्यहाँ महिलाको नाममा सवारीसाधन र घरनिर्माण कर्जा ९ प्रतिशतको ब्याजदरमा लगानी गर्ने कार्यक्रम रहेछ । तर, व्यवसाय र उद्योगको क्षेत्रमा १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण पाइँदो रहेनछ । कस्ता मान्छे सवारीसाधन र घरकर्जामा ऋण लिन आउँछन् भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘तपाईंजस्तै वैदेशिक रोजगारमा जाने, राजनीति गर्ने, आईएनजीओमा काम गर्ने र ठेक्कापट्टा र दलाली गर्नेहरू ।’ म अर्थशास्त्रको विद्यार्थी हुइनँ । तर, मेरो लाटो हिसाबले भन्छ । यो आर्थिक क्रान्ति गर्ने बाटो होइन । उत्पादनको क्षेत्रमा शून्य योगदान गर्ने सभासद्हरूलाई सवारीसाधन किन्न ९ प्रतिशत ब्याजदर दिएर र ऋण तिर्न सबैभन्दा महँगो भत्ता दिएर मुलुक उभो लाग्दैन ।

त्यसैगरी पहिलापहिला लाग्थ्यो, राजनीतिक पार्टीहरूका गन्तव्य फरक–फरक भएकाले साझा मार्गचित्र कोर्न गाह्रो भएको होला । तर, उनीहरूको अकर्मण्यता देख्दाखेरि लाग्छ, उनीहरू त गन्तव्यमै अल्मलिएका छन् । संविधान, राज्यको पुनःसंरचना, शासकीय स्वरूप अन्धाको हात्तीजस्तो भएको र’छ । एमाले र कांग्रेसका लागि राजनीतिक कोर्सभन्दा बाहिरको सबाल थियो, यो । त्यसो हुनाले उनीहरूको उत्तर अनुमानको भरमा आयो । जसले जे छाम्यो उसले त्यही संघीयता बुझ्यो । जे गर्दा आफूलाई राजनीतिक र आर्थिक लाभ होलाजस्तो देख्यो । त्यसैलाई शासकीय स्वरूप बुझ्यो । हँुदाहुँदा संघीयता यतिबेला दृष्टि गुमाएर शारीरिक अपांगता भएका नागरिकको लागि ‘दूध चुलेसी जस्तो’ भएको छ । कुरो के भएछ भने एकजना दृष्टि गुमाएर शारीरिक अपांगता भएका नागरिकले अर्का आँखा देख्ने मानिसलाई सोधेछन्, ‘दूध कस्तो हुन्छ है ?’ उनले भनेछन् ‘बकुल्ला जस्तो, सेतो ।’ फेरि सोधे ‘बकुल्ला कस्तो हुन्छ ?’ उनले भने ‘चुलेसी जस्तो ।’ फेरि सोधे ‘चुलेसी कस्तो हुन्छ ?’ अन्तमा चुलेसी ल्याएर समाउन दिए छन् । र, ती दृष्टि गुमाएका नागरिकले ‘हत्तेरी, यस्तो पनि कसैले खान्छन्’ भनेछन् । यतिबेला हाम्रा पार्टी नेताहरूलाई संघीयता ‘दूधजस्तो पवित्र चिज, चुलेसीजस्तो धारिलो’ भएको छ । नितान्त व्यक्तिगत, गुटगत र पर्टीगत स्वार्थको कारणले । यतिसम्म कि आङ्खनो निर्वाचन क्षेत्र फलानो राज्यमा गयो भने । आफू निर्वाचन हार्छु भन्नेजस्ता घटिया कुराले समेत संविधान निर्माण प्रत्रियामा भाँजो हाल्ने काम भएको छ ।

नेपालमा धेरैखाले राजनीतिक क्रान्तिहरू सम्पन्न भए । तर, कसैले पनि परम्परागत राजनीतिक परिपाटीलाई अन्त्य गर्ने आँट गरेन । तर, यतिबेला मुद्दा जसले र जसरी उठाइएको भए पनि संघीयता, राज्यको पुनः संरचना, शासकीयस्वरूपलगायतमा मूलभूत विषयहरू साझा एजेन्डाका रूपमा विकास भइरहेको छ । यो राष्ट्रको निम्ति सवल पक्ष हो । तर, यो सवल पक्षलाई व्यक्तिगत स्वार्थको दायराभित्र मात्रै राखेर हेर्ने हो भने, डरलाग्दो घातक पक्ष पनि बन्न सक्छ । त्यसो भएको हुनाले समाजवादको चौथो पुस्ताका युवाहरूको काँधमा यो ऐतिहासिक जिम्मेवारी आएको छ । नेपाल समाजविकासको कुन चरणमा छ ? यो बेला नेपाली समाजको चरित्र के हो ? हाम्रो समाजमा कुन चरित्रको शोषण कायम छ ? र, कस्तो प्रकारको राजनीतिक सिद्धान्तले मुलुकलाई र समग्र राष्ट्रलाई समृद्धिको साझा गन्तव्यमा पु¥याउन सक्छ ? भनेर घोत्लिने बेला भएको छ । अब, परम्परावादी राजनीतिक सिद्धान्तले राष्ट्रको नेतृत्व गर्न सक्तैन ।

यतिबेला मुद्दा जसले र जसरी उठाइएको भए पनि संघीयता, राज्यको पुनःसंरचना, शासकीय स्वरुपलगायतमा मूलभूत विषयहरू साझा एजेन्डाका रूपमा विकास भइरहेका छन् । यो राष्ट्रका निम्ति सबल पक्ष हो । तर, यो सबल पक्षलाई व्यक्तिगत स्वार्थको दायराभित्र मात्रै राखेर हेर्ने हो भने डरलाग्दो घातक पक्ष पनि बन्न सक्छ । त्यसो भएको हुनाले समाजवादको चौथो पुस्ताका युवाहरूको का“धमा यो ऐतिहारिक जिम्मेवारी आएको छ ।

birendra_katuwal@yahoo.com


  •  
  •  
  •  

Comments are closed.