भन्टाबारी गोलीकाण्ड : नेपाली भूमिमा खोका बरामद

147
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर ।
नेपाली गाउँ छिरेर बुधबार बिहान भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोलीको तीनवटा खोका बिहीबार नेपाल प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भण्टाबारीका प्रहरी नायब निरीक्षक झनक अधिकारी सहितको टोलीले खेत, सडक र गाउँमा गोलीको खोका फेला पारेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा हरिपुर ७ भन्टाबारीको पूर्व टोलका नथिलाल यादवको घरनजिकको बाँसघारीछेउमा एउटा र घर पश्चिम खाली खेतमा दुईवटा इन्सास स्वचालित बन्दुकमा प्रयोग हुने ५.५६ एमएमका गोलीको खोका बरामद भएको हो । स्रोतका अनुसार इन्सास भारतीय सीमा सुरक्षा बलले प्रयोग गर्ने हतियारमध्येको एक हो ।

प्रहरी उपरीक्षक सञ्जयराज शर्माले गोलीको खोका फेला परेपछि घटनास्थलको प्रकृति मुचुल्का गरिएको र घटनाबारे स्थानीयसँग बयान लिइएको बताए ।
बुधबार बिहान दशगजा नाघेर करिब ५ सय मिटर उत्तर नेपाली गाउँ पूर्व टोलमा सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरी गोली चलाउँदा स्थानीय चार नेपाली घाइते भएका थिए । शैलेशपुर पोस्टका एसएसबीले तीनवटा साइकलमा मलखाद र डिजेल नेपाल छिराउँदै गरेकाहरूसँगको विवादपछि नेपाली गाउँभित्र छिरेर गोली चलाउँदा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । अशोक, सरोज र नरेशको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

घटनापछि प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको टोलीलाई सुपौल जिल्लाका एसडीएम अरुणकुमार सिंह, डीएसपी सुधीर कुमार र एसएसबीका ४५औं बटालियनका सेना नायक रामअवतार भलोटियाले घटना ‘आस्कमिक रूपमा भएको’ बताएका थिए । ‘नहुनु पर्ने घटना हुन गएको’ भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी पन्थलाई आवश्यक समन्वयमा गर्नुपर्ने काम आफ्ना जवानहरूले एक्लै गरेको बताएका थिए । नेपाल–भारत सीमामा हुने कुनै पनि घटनामा नेपाल र भारतीय सुरक्षाकर्मीबीच समन्वय हुन आवश्यक रहेको पनि उनीहरूले उल्लेख गरे ।

नेपाली भूमिमा प्रवेश गरेर आठ राउन्ड गोली चलाएका एसएसबीका जवानहरूले रगतका टाटा मेटेका थिए । साथै सबैलाई बन्दुक देखाएर त्रसित बनाउँदै जुलेवीको बोटमा लागेको गोलीको निसाना हाँगै काटेर मेटाएको र गोलीका खोका भेटिएजति लिएर भारततिरै गएको स्थानीय उमेश यादवले बताए । प्रत्यक्षदर्शीका अनुसार एसएसबीका ६ जना जवानमध्ये चारजना औपचारिक पोसाकमा र दुईजना सादा पोसाकमा थिए ।

गाउँमा त्रास
टोलका ४ जनालाई गोली लागेपछि फैलिएको आतंकले स्थानीयवासी अझै डराइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रमा २४ घण्टा पहरा दिए पनि स्थानीयको दैनिकी सामान्य हुन सकेको छैन । कुनै पनि बेला फेरि एसएसबी छिरेर ताण्डव मच्चाउने हो कि भन्ने त्रासमा उनीहरू छन् ।
८० वर्षीय पञ्चु यादवले गोलीकाण्डपछि राम्रोसँग खाना खान पनि नसकेको बताए । उनले भने, ‘घरका आइमाई केटाकेटी सबै डराएका छन् । राति राम्ररी निदाउन सकेका छैनन् ।’

स्थानीयवासी बजार जान–आउन पनि सकिरहेका छैनन् । वारिपारिको गाउँका मानिसको समेत आउजाउ बन्द भएको छ । दु:खसुखमा भारत र नेपालका गाउँलेहरू एक–अर्काको सहयोगी भए पनि अहिले त्रासले बोलचालसमेत बन्द भएको स्थानीय मनोज यादवले बताए । यादव छर्रा लागेका घाइते हुन् ।

सुतिरहेका उनी गाउँमा गोली पडकिएको आवाज सुनेपछि गन्जी र कट्टुमै बाहिर निस्केका थिए । उनलाई देख्नेबित्तिकै एसएसबीका जवानले ताकेर गोली हाने, तर संयोग उनको दुई खुट्टाको बीचबाट गोली गयो । उनलाई छर्राले मात्र लाग्यो । उनले त्रासले रातभर निदाउन नसकेको बताए । अहिले निद्रामा पनि गोली चलेको देखेर आत्तिएर उठ्ने गरेको उनले सुनाए । उनका अनुसार तत्काल सशस्त्र प्रहरी र भान्टाबारीबाट नेपाल प्रहरी नआएको भए एसएसबीले अरू ‘ताण्डव’ गर्न सक्ने उनलाई लागेको थियो । नेपालका सुरक्षाकर्मी देखेपछि उनीहरू तत्कालै आफ्नो पोस्टतिर लागेको उनले बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •