अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा ५ जनाको मृत्यु

256
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा ५ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

REUTER

एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ ।
बीबीसीका अनुसार टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएका हुन् । प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ ।
गोलीकाण्डको उद्देश्य थाहा भएको छैन ।

ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए ।

करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसे अनि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए ।

उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ । प्रहरी प्रवक्ताले बताए अनुसार कम्ती १६ जना घाइते भएका छन् । घाइतेमध्ये केही प्रहरी पनि रहेको जनाइएको छ ।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको जनाएको छ । त्यहाँ भर्ना गरिएकामध्ये ७ जनाको हालत गम्भीर रहेको बताइएको छ ।

गोलीकाण्ड लगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको ट्वीटरमा प्रतिक्रिया दिएका छन् ।


  •  
  •  
  •