घाइते भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने

259
  •  
  •  
  •  

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने भएको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भण्डारीलाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी गराए ।

गत भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि भण्डारी घाइते भएका थिए । गोली प्रहारपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनले एक खुट्टा नै गुमाउनुपरेको छ भने अझै होस खुलेको छैन ।

यसैबीच सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने ८ जनाको नागरिकता बदर भएको छ ।

मन्त्रिपरिषद् बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको हो । बदर हुनेमा अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।

यसैबीच सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो ।

कानुनअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ । तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको थियो ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् ।


  •  
  •  
  •