मुख्य अभियुक्त छुटे, चालक मात्रै जेलमा

637
  •  
  •  
  •  

काठमाडौं ३१ जेठ (ओएनएस) :  करिब १५ करोड रुपैयाँ मूल्यबराबरको ३५ किलो सुन तस्करी गरेको अभियोगमा जेल परेका मोहन अग्रवाल ११ महिनापछि शुक्रबार जेलबाट निक्लिएका छन् । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाले बुधबार उनलाई छाड्ने आदेश दिएका थिए ।

‘सर्वाेच्चको आदेश भएपछि हामीले थुनिराख्ने कुरा भएन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक खेमराज पुञ्जालीले भने, ‘साधारण तारेख दिएर आज (शुक्रबार) छाड्ने काम भयो ।’

गत वर्ष असारमा अग्रवालसहितका चार अभियुक्तलाई पुञ्जालीले तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै जनही ३ करोड ७८ लाख ९० हजार धरौटी तिर्ने आदेश गरेका थिए । तातोपानी नाका हुँदै पटक-पटक सुन तस्करीमा संलग्न अभियुक्तहरूले त्यस आदेशविरुद्ध राजस्व न्यायाधिकरणमा १७ नम्बरको निवेदन (मुलुकी ऐन अदालती बन्दोबस्तीको १७ नम्बरअनुसार दिइने निवेदन जसमा मुद्दाको सुरुवाती सुनुवाइमा तल्लो अदालत वा निकायले दिएको आदेश चित्तनबुझे त्यसलाई बदर गरिपाऊँ भनी माथिल्लो अदालतमा दिने पुनरावेदनसरहको निवेदन) दिएका थिए ।

न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्की तथा सदस्यहरू भोलाप्रसाद खकुरेल र याज्ञवल्क्य उपाध्यायको इजलासले मुख्य अभियुक्त ग्याम्जो लामालाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

‘न्यायाधिकरणको आदेश हामीलाई चित्त बुझेन र त्यसविरुद्ध हामीले सर्वोच्चमा निवेदन दियौं,’ पुञ्जाली भन्छन्, ‘हामीविरुद्ध दुई प्रतिवादीहरू अग्रवाल र ओमबहादुर बज्राचार्यले निवेदन दिए ।’

सर्वाेच्चमा न्यायाधीशको संख्या कम भएकाले महिनौंसम्म यो मुद्दामाथि कुनै सुनुवाइ हुन सकेन । निकै विवादका बीच आठ न्यायाधीश नियुक्त भएपछि मुद्दाको पालो आयो । नियुक्तिअघि निकै विवादमा तानिएका न्यायाधीशहरू पराजुली र राणाको इजलासले यसलाई हेर्‍यो । उनीहरूको इजलासले लामाका हकमा न्यायाधिकरणको निर्णय ठीक ठहर गर्‍यो भने अग्रवाललाई पनि साधारण तारेखमा छाड्न भन्यो । अनि बज्राचार्यको धरौटीमा पनि ३ करोड ७७ लाख ९० हजार घटायो ।

‘अब एक लाख धरौटी तिरेर उनी पनि भरेभोलितिर छुट्छन् होला,’ पुञ्जालीले भने, ‘एक जना प्रतिवादीचाहिँ अझै जेलमै छन् ।’

पुञ्जालीले जेलमा छन् भनेका प्रतिवादी चालक निमा छिरिङ लामा हुन् । अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारीका अनुसार चिनियाँ नागरिक ग्याम्जो र नेपाली व्यापारी अग्रवाल यो सुन काण्डका मुख्य अभियुक्त हुन् । बज्राचार्यले यसमा गाडी दिएर सहभागिता जनाएका थिए भने उनका चालक छिरिङले गाडी चलाएर सुन ओसारेका थिए ।

मुख्य अभियुक्तहरूलाई साधारण तारेखमा र गाडी मालिकलाई सामान्य धरौटीमा छाडियो भने चालकचाहिँ जेलमै छन् । पुञ्जालीका अनुसार चालकले राजस्व विभागको आदेशको कुनै प्रतिवाद गरेका छैनन् ।

‘हामीले ज्यान हत्केलामा राखेर मुद्दा लगाएका अभियुक्तलाई न्यायाधिकरणले सफाइ दियो,’ राजस्वका एक अधिकारीले भने, ‘तर न्यायाधिकरण र सर्वाेच्चले एक-एक गरेर उनीहरूलाई उम्कायो । देशको ढुकुटीसँग प्रत्यक्ष सम्बन्ध भएका मुद्दामा यसरी हार हुँदा बडो चित्त दुखेको छ ।’

राजस्व अनुसन्धान विभागमा मुद्दाको फैसला हुने स्थितिमा यसरी प्रतिवादीहरू छुटेपछि बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा प्रहरी अधिकारी र राजस्वका कर्मचारीले बैठक गरी अदालतले आफ्नो काममा सहायता नगरेकामा गहिरो चिन्ता प्रकट गरेका थिए ।

तातोपानीबाट काठमाडौं आएको बा३ख २५७० नम्बरको कन्टेनरबाट प्रहरीले ३५ किलो सुनसहित गत वर्षको असार २६ मा बज्राचार्य र छिरिङ लामालाई पक्राउ गरेको थियो । उनीहरू दुईको बयानकै आधारमा प्रहरीले सुन तस्करका नाइके ग्याम्जो र मोहन अग्रवाललाई समेत समातेको थियो ।

चालक लामाले एक किलो सुन ल्याएबापत आफूलाई जम्मा पाँच हजार रुपैयाँ मिल्ने गरेको बयान राजस्व विभागमा दिएका थिए । कान्तिपुरबाट


  •  
  •  
  •  

Comments are closed.