लेखाले माग्यो सुन सुराकीहरुको विवरण

286
  •  
  •  
  •  

gold
gold

काठमाडौं, ११ पुस (ओएनएस) : व्यवस्थापीका संसदको लेखा समितिले विगत तीन वर्षदेखि सुनको सुराकी गर्ने ब्यक्तिहरुको नामसहित उपस्थित हुन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले गत बर्ष कोटेश्वरबाट समातिएको ३५ किलो सुनको वास्तविक सुराकीले कमिसन नपाएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई पनि बोलाएको छ ।

समितिले पटक–पटक ताकेता गर्दा अर्थ मन्त्रालयले सुन सुराकीहरुको नाम दिन अनाकानी गरेको भन्दै समितिमा उपस्थित हुन निदर्शेन दिएको हो । लेखा समितिले माग गरिएको नाम उपलब्ध गराउन नसक्नुको कारणसहित उपस्थित हुन अर्थलाई भनेको छ ।

समितिका सभापति जनार्दन शर्माले सुन तस्करी प्रकरणसम्बन्धमा पूर्ण जानकारी लिनको लागि अर्थ मन्त्रालय र गृह मन्त्रीलाई बोलाइएको बताए ।

गत वर्ष कोटेश्वरामा पक्राउ गरिएको ३५ किलो सुनका वास्तवीक सुराकीले पाउने २ करोड ३० लाख रुपैयाँ नपाएको भनी लेखामा उजुरी गरेपछि सुन सुराकी काण्ड चर्कदै गएको छ ।

उक्त सुन सुराकीमा संलग्न भएका काभ्रेका भीमबहादुर तामाङ, सिन्धुलीका पदम बहादुर तामाङ र महोत्तरीका संजयकुमार झाले नक्कली सुरकारीको नाममा आफुले पाउनु पर्ने रकम नपाएको बताउँदै आएका छन् ।

प्रहरीले वास्तवीक सुराकीलाई कमिसन नदिई नक्कली सुराकी गरेको आरोप लागेपछि लेखाले तीन वर्षयताका सुन काण्ड तस्करीको छानविन गर्न थालेको हो । लेखाले प्रहरीका तत्कालीन केन्दीय अनुसन्धान व्यूरो प्रमुख एसपी ईश्वरबाबु कार्की र डिआइजी प्रकाश अर्यालले मिलेमतोमा सुराकी कमिसन रकम खाने नियत गरी नकली सुराकी खडा गरेको भन्ने आरोप सहि भन्ने ठहर गरेको छ ।

लेखाले सुन तस्करीको कमिसन बारे गृह सचिव सूर्य सिलवाल र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसँग छलफल गरिसकेको छ । गृहसचिव सिलवाल र प्रहरी महानिरिक्षक अर्यालले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै समितिले गृहमन्त्री गौतमस“ग छलफल गर्ने निर्णय गरेको हो ।

यसअघिको बैठकमा प्रहरीले विगत तीन बर्षमा एक सय ११ किलो सुन बरामद भएको जानकारी दिएका थिए ।


  •  
  •  
  •