गरगहना डिजाइनमा दक्ष जनशक्ति उत्पादनमा जोड

199
  •  
  •  
  •  

काठमाडौं, २३ कात्तिक(ओएनएस) : नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सुन तथा चांदीका गरगहना बनाउने कालिगड दक्ष हुनुपर्ने बताएका छन् ।

नेपाल सुन चांदी शिल्प व्यवसायी संघको चौंथो तथा पाचौं साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले माग अनुसारको गहना डिजाइन गर्न सक्ने कालिगडले यो क्षेत्रमा पर्याप्त सफलता पाउन सक्ने बताए ।

उनले हरेक क्षेत्रमा राम्रो कालिगडको आवश्यकता पर्ने भएकोले सिप सिकेर आएकाहरुका लागि यस क्षेत्रमा पर्याप्त अवसर भएको जानकारी दिए ।

त्यस्तै, संघका अध्यक्ष नवीन रत्न शाक्यले सरकारले निश्चित मापदण्डको गुणस्तर नतोकेका कारण आफुहरुलाई व्यवसाय संचालनमा कठिनाई पर्दै आएको गुनासो गरे । शाक्यका अनुसार हाल नेपालमा करिव १५ हजारको संख्यामा शिल्प व्यवसायी रहेको र १ लाखले रोजगारी पाइरहेका छन् । शिल्प एक उद्योग भएकाले राज्यले यस व्यवसायको प्रवर्दन गर्नका लागि विशेष ध्यान दिनुपर्नेमा शाक्यले जोड दिनुभयो ।

कार्यक्रममा सुन चांदी कला व्यवसायी संघका अध्यक्ष रुद्र बराइलीले गहनाका डिजाइनमा विविधता भएमाा यो व्यवसायमा चामत्कारिक परिवर्तन आउने दावी गरे ।

त्यस्तै बजारको माग अनुसारको सुन बैंकले प्रदान गर्न नसकेको भन्दै नेपाल रत्न तथा आभुषण महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले यस तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल सुन चांदी रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले क्षमता नबढाइ नाफा नोक्सानमा मात्र ध्यान दिएको हुनाले यस क्षेत्रले सोचे अनुरुप उन्नती गर्न नसकेको अवस्था रहेको धारणा व्यक्त गरे । साथै सिप भएका कालिगडको प्रोत्साहन नै यस क्षेत्रलाई माथि लग्ने माध्यम भएको बताए ।


  •  
  •  
  •