काठमाडौं । दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो। उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ।