ट्रम्प र पुटिनलाई नेपाल भ्रमणका लागि सरकार प्रयासरत छ : प्रवक्ता बाँस्कोटा

74
  •  
  •  
  •  

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले शक्ति राष्ट्रका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आमन्त्रणका लागि प्रयासरत रहेको बताए ।

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको सी जिनपिङको नेपाल भ्रमण सम्पूर्ण रुपमा सफल भएको बताए ।
उनले भने, ‘महामहिम राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षित रुपमा, राजनीतिक रुपमा र कुटनीतिक सम्बन्धका रुपमा हेर्नुपर्छ । यसले राजनीतिक रुपमा विशिष्ट कसिमको सम्बन्ध स्थापित गरेको छ । विश्वशक्ति रहेको छिमेकी मुलकसँग राम्रो सम्बन्ध हुनु नै खुसीको कुरा हो । २३ वर्षपछि भ्रमण हुनु नै ठूलो कुरा हो । उहाँको भ्रमणले नेपालको छवि अन्तर्रा्ष्ट्रिय रुपमा उच्च हुन पुगेको छ । अन्तर्राष्ट्रिय मिडियाले पनि त्यसलाई चर्चा गरेको छन् ।’

यस्तै सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको म्याद फेरि थपेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त विषयको अनुसन्धान गरिरहेको छ ।
सो समितिको म्याद अब मंसिर २८ गतेसम्म पुगेको छ । मुलुकका विभिन्न ठाउँमा सार्वजनिक जग्गा मासिएको तथा व्यक्तिका नाममा गरिएकोबारे ब्युरोले विशेष समिति गठन गरेर छानबिन गरिरहेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद बैठकका निर्णय

 


  •  
  •  
  •