‘क्लिन फीड’ लागू गराउने प्रावधान हटाउन सकिँदैन :मन्त्री बाँस्कोटा

345
  •  
  •  
  •  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको ’क्लिन फीड’ लागू गराउने प्रावधान हटाउन नसकिने बताएका छन् ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राख्नु भएको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने समेत उनले बताए ।

नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको त्यो प्रावधान हटाउन नसकिने मन्त्री बाँस्कोटाको भनाइ छ ।

मन्त्री बाँस्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको बताए ।

उनले क्लिन फीड देशको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हकविपरीत सरकारले त्यो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरेका थिए ।


  •  
  •  
  •