हावाहुरी पीडितलाई प्रारम्भिक राहत वितरण कार्य सम्पन्न भइसकेको छ : मन्त्री बाँस्कोटा

783
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितको उद्धार र उपचारपछि अस्थायी बसोबासका लागि आवास बनाउने कार्य भइरहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारले हुरीपीडितलाई प्रारम्भिक राहत वितरण कार्य सम्पन्न भइसकेको बताए ।

मन्त्री बाँस्कोटाले क्षतिको यथार्थ विवरण गृह मन्त्रालयको समन्वयमा संकलन भइरहेको बताए । उनले भने, ‘यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो सुन्नुपरेन ।’

फरक प्रसंगमा उनले मन्त्रिपरिषद्ले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको जानकारी गराए । सामूहिक सौदावाजीका लागि निजी क्षेत्रमा उत्पन्न समस्याको लागि सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।

यस्तै पत्रकार सम्मेलनमा बाँस्कोटाले सरकारले विभिन्न सडकखण्डमा सवारी साधनका लागि सडक उपभोग दस्तुर वृद्धि गरेको बताए ।

उनका अनुसार बस, ट्रक र साना सवारी साधनलाई ३ तहमा राखी दस्तुर कायम गरिएको छ ।
‘युनाइटेड सिमेन्ट’लाई धादिङमा आवश्यक जंगल क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए ।


  •  
  •  
  •