भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन : बाँस्कोटा

71
  •  
  •  
  •  

रुपन्देही । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोलकूलप्रसाद बाँस्कोटाले गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको बताएका छन् ।

प्रेस सेन्टर रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्ने उल्लेख गर्दै धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका बताए ।

जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उनले हमला गर्ने तत्वहरुसँग सचेत रहन सबैलाई आग्रह समेत गरे ।

मन्त्री बाँस्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्दै उनले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर बताए । ‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो’ उनले भने ।

‘हामिले सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार भैदियोस भनेका हौं’ उनले भने,‘ जिम्मेवार भएर लेख्ने पत्रकारलाई सरकारले स्वतन्त्र छोडिदिनेछ ।’

उनले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने चिज होइन, मिडिया विधेकअनुसार अहिले गारो–गारो मानेपनि विस्तारै आउनुपर्ने बताए ।

मिडियाले न्यायाधिशको काम नगर्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले सोसल मिडियामा देखिएको विकृति रोक्न सरकारले ल्याएको विधेक पारित हुने अवस्थामा पुगेको बताए ।

नागरिक स्तरबाटै सोसल मिडियाको दुरुपयोग रोक्नुपर्ने भन्दै उनले सरकारको एक्लो पहलले मात्रै नहुँने उल्लेख गरे ।
सोसल मिडियाले मूल मिडियालाई निर्देशित गर्न नसक्ने बताउँदै उनले त्यस्तो भएमा समाज अराजकतातिर जानसक्ने बताए । पछिल्लो समय पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा छाएको विकृतितर्फ संकेत गर्दै उनले भने ‘भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन ।’

‘मलाई व्यक्तिगत रुपमा कसैको नाम लिनु जरुरी छैन कुनै पनि घटनाको कानून अनुसार छानविन तथा अनुसन्धान हुन्छ कोही चिच्याएर हुँदैन’ मन्त्री बाँस्कोटाले भने ।

टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली पनि सरकारले लागु गराएरै छाड्ने उनको भनाइ छ ।


  •  
  •  
  •