‘सामाजिक सुरक्षा योजना कार्यान्वनयमा नेताहरुकै असहयोग’

192
  •  
  •  
  •  

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको बताएका छन् ।

फाइल तस्बिर

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री बिष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सुचीकरणमा आवद्ध नभएको बताए ।

रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वहाना मात्रै भन्दै उनले भने, ‘ नेताहरू सञ्चालक रहेको प्रतिष्ठानको सूचिकरण नहुँदा कानुन कार्यान्वनमा समस्या भएको छ ।’

मन्त्री बिष्टले लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा सुचीकरणमा नगएका नेताहरुका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भइरहेको स्पष्ट पारे ।

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सुचीकरण गर्ने काम गरिने बताए ।

ऐन बनेको एक वर्षसम्म पनि श्रमिकहरु सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै मन्त्री बिष्टले योजनाका फाइदाबारे जानकारी गराउनुपर्ने आवश्कता औँल्याए ।

सामाजिक सुरक्षा सुचीकरणको अभियान अघि बढिसकेको र असोज मसान्तभित्र रोजगारदाता र श्रमिक दुवै सूचीकरणमा आउनैपर्ने भन्दै उनले सो क्रममा परेका अप्ठ्यारहरुलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजनाअन्र्तगत श्रमिकको औषधोपचार तथा स्वास्थ्य सुविधा, मातृत्व सुरक्षा सुविधा, वृद्धावस्था सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा, आश्रित परिवार सुरक्षा लगायत योजनाहरु रहेको उल्लेख गर्दै सबैलाई सूचीकृत हुन आग्रह गरेका थिए ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले ऐन बनेको एक वर्षसम्म पनि कानुन कार्यान्वयनले अपेक्षित सफलता प्राप्त गर्न नसकेको तथा रोजगारदाता र श्रमिक उत्साहित नहुनुको कारण खोजिनुपर्ने बताए ।


  •  
  •  
  •