डा. केसीको अनसन सर्‍यो

88
  •  
  •  
  •  

काठमाडौं १२ माघ ।
नागरिक अगुवाहरूको आग्रहमा प्राडा गोविन्द केसीले पूर्वघोषित आमरण अनशन दुई सातापछि सार्दै आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको समय दिएका छन् ।

नाफामूलक सहकारीबाट प्रस्तावित मनमोहन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संसदमा पेस भएको विधेयक फिर्ता लिई सरकारले आफ्नो माग पूरा नगरे माघ २५ गते ५ बजेदेखि आमरण अनशन बस्ने डा. केसीले बताएका छन् ।

‘सरकारले चोरबाटोबाट संसदमा पारित गराउन खोजेको प्रतिष्ठान बनाउने विधेयक हामीले नलडेको भए पहिल्यै पारित भइसक्थ्यो,’ डा. केसीले भने, ‘विधयेक अघि बढाउने सरकारको काम गैरजिम्मेवार मात्र नभएर अपराधसमेत हो ।’

डा. केसीले उक्त विधेयक फिर्तालगायत सबै माग पूरा नगरिए राज्यले यो क्षेत्रमा इमानदारीपूर्वक सुधारका काम अघि बढाउन नचाहेको र छलकपटपूर्वक केही व्यक्ति वा समूहको स्वार्थका लागि सबै नेपालीको स्वास्थ्यमाथि खेलाँची गर्दै कदमहरू चाल्न उद्यत भएको पुष्टि हुने जनाए ।

मतदाताको हक र हितका लागि निर्वाचित केही सांसद आफैं पद र शक्तिको चरम दुरुपयोग गरी स्वार्थपूर्तिमा संलग्न रहेको उल्लेख गर्दै उनले स्वास्थ्य, चिकित्सा शिक्षाको क्षेत्रमा भइरहेका सुधार अवरुद्ध गर्ने प्रयास कुनै पनि हालतमा मान्य नहुने बताए ।

डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट विस्तारित कार्यक्रमका नाममा मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल बन्द गरी ती विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्नुपर्ने र यो गैरकानुनी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।

अहिले सरकारलाई पूरा गर्न भनिएका माग यसअघिकै आन्दोलनहरूमा राज्य पक्षसँग सम्झौता भइसकेका विषय रहेको उल्लेख गर्दै डा. केसीले भने, ‘सरकारले कार्यान्वयन गर्न आलटाल गर्दा यस्तो स्थिति आएको हो ।’

आयोगको नेतृत्व लिन मान्नुभएन : शिक्षामन्त्री
यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले चिकित्सा आयोगको नेतृत्व लिन नमानेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले चिकित्सा आयोगको नेतृत्व डा. केसीलाई लिन आग्रह गर्नुभएको थियो,’ पोखरेलले पत्रकार सम्मेलनमा भने, ‘तर, उहाँले मान्नु भएन । आयोग उहाँकै सहमतिमा बनेको हो ।

डा. केसीले उठाउँदै आएको माग पूरा गर्न सरकारले काम सुरु गरिसकेको पनि उनले बताए । माथेमा आयोगले उठाएको विषयलाई सम्बोधन गर्न चिकित्सा आयोग गठन गरिएको उनले बताए ।

कान्तिपुरबाट


  •  
  •  
  •