ग्लोबल आइएमइको सेयरमा एक अर्ब ३३ करोड रुपैयाँको आवेदन

302
  •  
  •  
  •  

काठमाडौं, २१ साउन (ओएनएस) : ग्लोबल आइएमइ बैंकले बोलकबोलमार्फत बिक्री गरेको सर्वसाधारण सेयरमा एक अर्ब ३३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।
बैंकले तीन लाख ४९ हजार पाँच सय ९४ कित्ता साधारण सेयर बोलकबोलका आधारमा बिक्री खुला गरेको थियो। 
अंकित मूल्य एक सय रुपैयाँ दरका सेयरमा ५३ रुपैयाँ प्रिमियम थपेर आधार मूल्य तोकेको बैंकको सेयरमा प्रति कित्ता छ सय ७० रुपैयाँ ३० पैसा रुपैयाँभन्दा वढीमा आवेदन गर्नेहरुले मात्र सेयर पाएका छन्। 

बैंकले अघिल्लो आइतबारबाट सेयर बिक्रीका लागि आवेदन माग गरेको थियो। गत साउन १८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो।

सोसियल डेभलपमेन्ट बैंकलाई गाभेपछि बैंकमा सर्वसाधारणको सेयर हिस्सा कम भएको थियो। सोसियलले सर्वसाधारणलाई सेयर जारि नगर्दै ग्लोबल आइएमइ बैंकसँग मिसिएकाले सर्वसाधारणलाई बाँड्नु पर्ने सेयर अपुग भएको थियो। यो अपुग सेयर बैंकले प्रिमियम मूल्य तोकेर बोलकबोलबाट बिक्री गरेको हो।
बैंकको सेयरमा तीन हजार ५० वटा आवेदन परेको निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस ढकालले जानकारी दिए। बैंकको सेयर लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ क्यापिटललगायतले प्राप्त गरेका छन्। बिक्री प्रबन्धकले आवेदन दिएका कम्पनीहरुको चेकलाई साट्ने प्रकृया सकेपछि मात्र औपचारिक रुपमा घोषणा गर्ने छ।
ग्लोबल आइएमइको पछिल्लो सेयर मूल्य प्रति कित्ता सात सय २५ रुपैयाँका दरले बिक्री भइरहेको छ। बैंकले गत बर्ष एक अर्ब ७४ लाख रुपैयाँभन्दा वढी खुद नाफा आर्जन गरेको छ। बैंकले विदेशी साझेदार भित्राउनका लागि आवश्यक पहल पनि गरिरहेको छ। 
गत बर्ष ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएका थिए। यो मर्ज पछि ग्लोबल आईएमईको पूँजी, निक्षेप तथा सञ्जाल निकै बढेको हो। बैंकको रिजर्भमा दुई अर्ब २१ करोड रुपैयाँ छ। मर्जपछि यो बैंकको चुक्तापूँजी चार अर्ब १० करोड पुगेको छ। सर्वसाधारणलाई बिक्री गरेको सेयरबाट केही रकम पुँजीमा थपिने छ भने जगेडा कोषमा पनि जाने छ। 
बैंकको सेयर खरिदका लागि न्युनतम एक सय कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। सम्पूर्ण सेयर एकै पटक किन्नका लागि पनि आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ। 

  •  
  •  
  •