महोत्तरी, १५ पुस (ओएनएस) : एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सहमतिको आधारमा युगान्तकारी दस्तावेज संविधान बनाउने समयमा रहेकोले १२ बुँदे समझदारी गरेका शक्तिहरुबीच तालमेल हुनुपर्ने बताएका छन् ।
महोत्तरी जिल्लाको आवधिक जिल्ला बिकास योजना तर्जुमा कार्यशालाको उद्घाटनमा प्रमुख सचेतक पोखरेलले राजनीतिक संक्रमण चाँडोभन्दा चाँडो हल गरेर समृद्धिको दिशातर्फ देशलाई माओवादीले लैजान चाहेको जिकिर गरे ।
विवादित विषय सहमतिकै टुंगिने विश्वास रहेको बताउँदै उनले स्रोत साधनले देश धेरै धनी भएपनि विगतको शासन ब्यबस्थाले महोत्तरीसहित तराईका जिल्लाहरु पछाडि पारिएको ठोकुवा गरे ।
प्रमुख सचेतक पोखरेलले विगतको शासन विशेषगरि एकात्मक, सामन्ती, केन्द्रीकृत चरित्र र विवेकलाई फेर्न लागिएकोले सबैको सहयोग आवश्यक रहेको बताए । महोत्तरीमा शुरु भएको पंचबर्षीय योजना तर्जुमाका पाँचदिनसम्म चल्ने स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताए ।