शिक्षामन्त्रीका एकैदिन ११ कार्यक्रम

133
  •  
  •  
  •  

काठमाडौं २९ बैशाख ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए । आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन मात्रै गरे । बिहान ६ बजेदेखि अपराह्न दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका हुन् । यसबीचमा उनले महोत्तरीका केही विद्यालय र मदरसाको अनुगमन–निरीक्षणसमेत गरेका थिए । प्रहरी स्कर्टिङमा हिँड्दा ढिलो हुने भएपछि मन्त्री पोखरेलको गाडी धेरै ठाउँमा स्कर्टिङ पछि पार्दै अघि बढेको थियो ।

उनी केही स्थानमा पाँच मिनेट पनि नबसी सिमेन्ट र बालुवामा इँटा जोडेर शिलान्यास गर्दै हिँडेका थिए । मन्त्रीले समय नदिएको भन्दै केही ठाउँमा स्थानीय तथा पार्टी कार्यकर्ताले गुनासोसमेत गरे । महोत्तरीको रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमाविमा प्राविधिक तथा व्यावसायिक भवनको शिलान्यासपछि मन्त्री पोखरेल मञ्चमै नउक्ली हिँड्न खोज्दा सहभागीले असन्तुष्टि व्यक्त गरेका थिए । गाडी चढिसकेका उनले गुनासो आएपछि मञ्चमा पुगेर दुई मिनेट सम्बोधन गरेका थिए ।

पोखरेलले बिहान ६ बजे आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बर्दिबास–६ कालापानीको सरस्वती मावि भवन शिलान्यास गरेका थिए । विद्यालयकी प्रधानाध्यापिका सानी भण्डारीले दिएको सिमेन्ट र बालुवामा इँटा जोडेलगत्तै उनी भारतीय सीमा क्षेत्रमा पर्ने महोत्तरीको सम्सीमा मदरसा अनुगमन गर्न हिँडेका थिए । बर्दिबासबाट ४५ किलोमिटर टाढा रहेको असरफिया खाजनतुल उलुन मदरसाको अनुगमनपछि उनले पाँच मिनेट मुस्लिम समुदायलाई सम्बोधन गरे । अन्तिममा अपराह्न दुई बजे सर्लाही हरिऔनेको सगुन शिक्षा सहकारी भवनको शिलान्यासपछि मन्त्री पोखरेल काठमाडौं फर्केका छन् । काठमाडौं फर्कन सिमरा विमानस्थल प्रस्थान गर्नुअघि उनले भने, ‘जिल्ला आएका वेला एकैदिन धेरै ठाउँमा नपुगे मन्त्रालयको अरू काम गर्न भ्याइँदैन । त्यसैले धेरै ठाउँको कार्यक्रममा पुगेको हो ।’

शिक्षामन्त्रीले मंगलबार भ्याएका कार्यक्रमहरू

बिहान ६ बजे : बर्दिबास–४ कालापानीस्थित सरस्वती माविको चारकोठे भवन शिलान्यास

६:४५ बजे : बर्दिबासको भब्सीस्थित राष्ट्रिय निमाविको तीनकोठे भवन शिलान्यास

८:१५ बजे : जनता मावि दोलाठीमा तीनकोठे भवन शिलान्यास

८:३५ बजे : ससौला–६ स्थित राष्ट्रिय निमावि हरिहरपुरको तीनकोठे भवन शिलान्यास

९:३० बजे : लक्ष्मीनिया बैरगिया–३ मा मुस्लिम समुदायको भेलालाई सम्बोधन र खाजा

१०:२० बजे : सीमा क्षेत्र सम्सीस्थित जनता निमाविको निरीक्षण र भेलालाई सम्बोधन

१०:४० बजे : सम्सीकै असरफिया खाजनतुल उलुन मदरसाको अनुगमन र सम्बोधन

११:२० बजे : राष्ट्रिय मावि पर्सादेवाडको नवनिर्मित भवन र मावि कक्षाको उद्घाटन

११:४० बजे : श्री मावि बैरियाको चारकोठे भवनको शिलान्यास

१२ बजे : महेन्द्र उमाविमा प्राविधिक तथा व्यावसायिक कक्षा उद्घाटन र भवन शिलान्यास

दिउँसो २ बजे : सर्लाहीको हरिवनस्थित सगुन शिक्षा सहकारीको भवन शिलान्यास

दिउँसो २:१० बजे : हरिवनबाट सिमरा एयरपोर्ट प्रस्थान

३:२० बजे : सिमराबाट काठमाडौं प्रस्थान –नयाँपत्रिकाबाट


  •  
  •  
  •