ती अभिभावक

169
  •  
  •  
  •  

चार पटकका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यो बेला राजा ज्ञानेन्द्रको ‘प्रतिगमन’ विरुद्ध सडक आन्दोलनमा थिए। शाही जगजगी, संसदीय दलहरूप्रति जनताको वितृष्णा र रत्नपार्कमा मुर्झाइरहेका कार्यकर्ताको अनुहार।

पट्टयारलाग्दा यी दृश्यावलीले उमेरको आठ दशक हिँडिसकेका कोइरालाको अन्तर्मनमा ‘नयाँ केही’ चल्न थाल्यो। उनी अकस्मात विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई भेट्न भारतको नयाँ दिल्ली गए।

ज्ञानेन्द्रले शासन हत्याएकै साल २०६१ को त्यो हिउँद माओवादीले एकतर्फी तीनमहिने युद्धविराम गरेको थियो। शाही सरकारले माओवादीलाई आतंकवादी करार गर्दै टाउकाको मूल्य तोकेको थियो। वयोवृद्ध कोइराला दिल्लीमा गल्छेडा र गल्ली छिचोल्दै भूमिगत नेता भेट्न पुगे। अचानक सामुन्नेमा ‘प्रचण्ड’ देखिए। मुस्कुराउँदै कसिलो हात बढाए। गिरिजाबाबु अल्मलिए- ‘यो त्यही प्रचण्ड हो त?’

एकटक हेरेको हेर्‍यै उभिए। निकैबेरपछि मात्रै कुर्सीमा बसे। केही चाइँचुइँ सुनिएन।

‘चेन स्मोकर’ कोइरालाले आफ्नो आदत दोहोर्‍याइहाले। ‘ठीकठिकै अम्मली’ दाहाल सुरुमा हच्किए, यस्तो बूढोपाको मानिसको अघिल्तिर कसरी पुङपुङ धूवाँ उडाउने ! कोइरालाले खल्तीबाट झिक्दै, उडाउँदै गरेपछि अधबैंसे विद्रोही नेताले पनि ‘खै-खै’ शैलीमा इसारा गरे। कोइरालाले सोधे, ‘ए तपाईं पनि सिगे्रट पिउनुहुन्छ? लौ लिनुस्।’

अनि एक खिल्ली थमाउँदै भने, ‘ल, यसरी त भएन। धेरै हताहती भइसक्यो प्रचण्डजी। यो मारकाट देशले धान्दैन। शान्ति प्रक्रिया थाल्नुपर्‍यो।’

‘पहिलो भेटमै गिरिजाबाबुसँग मेरो के मिल्यो, के मिल्यो,’ शुक्रबार बिहान लाजिम्पाट निवासमा दाहालले कोइरालासँगको पहिलो भेटघाट सम्झँदै भने, ‘मानौं हाम्रो भेट धेरै पहिले भइसकेको थियो।’

कोइरालाको छोटो बोल्ने शैली कम्युनिस्ट नेताहरूलाई घत परेछ। जवाफमा व्याख्यान दिने कुरै थिएन। दाहालले संक्षिप्तमा फर्काए, ‘गिरिजाबाबु, तपाईंको कुरा ठिकै हो। तर राजनीति नमिली युद्ध रोकिँदैन। तपाईं गणतन्त्रमा आउनूस्। हामी बहुदलीय प्रतिस्पर्धामा आउँछौं।’

भट्टराईले थपे, ‘यतिमा कुरा मिल्यो भनेमात्रै हामी शान्ति प्रक्रियामा आउँछौं। नत्र आउँदैनौं।’ कोइरालाले दुवैलाई आश्वस्त पार्न खोजे, ‘अहिले नै गणतन्त्रमा जाने भनेर मैले घोषणा गर्न मिल्दैन। तर देश अब विस्तारै गणतन्त्रमा पुग्छ। मलाई विश्वास गर्नुस्।’

‘मलाई किन-किन त्यो दिन गिरिजाबाबुको असाध्यै विश्वास लाग्यो,’ दाहालले विस्तार लगाए, ‘मैले तपाईंलाई भनिहालें नि। पहिलो भेटमै गिरिजाबाबुसँग मेरो के मिल्यो, के मिल्यो।’

कोइराला, कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला, दाहाल र भट्टराईबीच २०६१ हिउँदे बिहानीको त्यो भूमिगत भेट सन्देहबाट सुरु भएर सौहार्दतामा टुंगियो। त्यसो त भट्टराई र कोइरालाबीच पहिले पनि भेट भइसकेको थियो।

र, चुरोट। पछि त दाहालले चुरोट छाडेछन्। कोइरालाले पनि विश्व धूमपान दिवसका अवसर पारेर फेरि छाडे।

बाह्रबुँदे, आठबुँदे समझदारी हुँदै शान्ति प्रक्रिया अघि बढिसकेको थियो। कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्छन्, ‘आठबुँदे गर्दा गिरिजाबाबुले पार्टीमा समेत छलफल नगरी सीधै हस्ताक्षर गर्नुभएको थियो।’ दाहाल थप्छन्, ‘आठबुँदे गर्न कांग्रेसका अरू नेताहरू राजी नभएको बुझेपछि गिरिजाबाबुले एक्लै सही धस्काउनुभएको थियो।’ आफ्नै दलको सरकारले आतंककारी करार गरेको माओवादीसँग मिल्ने कुरा कोइरालाका लागि ‘सिद्धान्तविरुद्ध’ थियो। देशको बृहत् हितका लागि दलगत इच्छाभन्दा माथि उठ्ने त्यही स्वभावले ‘गिरिजाप्रसाद कोइराला’ बनाएको एमाओवादी अध्यक्ष दाहाल टिप्पणी गर्छन्। दाहालको भाषामा ‘असाध्यै उग्रकम्युनिस्टविरोधी’ छवि बनाएका कोइराला आखिर माओवादी खोज्दै हिँड्नुपर्ने अवस्थामा कसरी आइपुगे त?

कांग्रेस र राजा मिल्दा माओवादी बाहिर हुन्थ्यो। त्यसको परिणाम थप हिंसा हुन्थ्यो। कांग्रेस र माओवादी मिल्दा राजा बाहिर हुन्थे। त्यसको परिणाम हिंसाको अन्त्य हुन्थ्यो। कोइरालाले दोस्रो बाटो समाए।

यो राष्ट्रिय मेलमिलापको नयाँ अध्याय थियो।

‘राजालाई पि्रय नलागे पनि १२ बुँदे समझदारी भएको थियो,’ पौडेल सम्झन्छन्, ‘उहाँको त्यही निर्णयले माओवादीलाई काठमाडौं आउने सजिलो बाटो बनाइदियो।’ एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल भन्छन्, ‘राजासँग जुध्न चाहने सबैसँग सहकार्य गर्ने गिरिजाबाबुको मान्यताले यसमा काम गरेको थियो।’

बाह्रबुँदे हुनेबित्तिकै यता सडक आन्दोलनले ऊर्जा पायो। उता विद्रोहीहरूले सदरमुकामहरू आक्रमण गर्न थाले। दाहालको दाबीअनुसार प्रत्येक आक्रमण गर्नुअघि गिरिजाबाबुलाई जानकारी दिइन्थ्यो। उनी आक्रमण गरेर शाही सरकारलाई दबाब बढाउन सके आन्दोलनलाई फाइदै पुग्ने बताउँथे।

‘यहाँका मानिसहरूलाई पत्याउन गाह्रो होला, कहाँ अटयाक गर्ने, कसरी गर्ने भन्नेबारे उहाँसँग मैले स्याटेलाइट फोनमार्फत सल्लाह गर्थें,’ दाहाल खुलाउँछन्, ‘यतापट्टि सात पार्टीको आन्दोलन कसरी गर्ने भन्नेबारे उहाँले मसँग सल्लाह गर्नुहुन्थ्यो। कुनै-कुनै आक्रमण गर्दाचाहिँ यसले फाइदा गर्दैन कि भन्नुहुन्थ्यो, कुनैचाहिँ यो ठीक छ भन्नुहुन्थ्यो।’

जीवनको लामो अनुभवले खारिएकैले कोइराला पछिल्ला वर्षहरूमा बदलिएको दाहालको विश्लेषण छ। ‘गिरिजाबाबुको दिमागमा यिनीहरू आतंककारी नै हुन् भन्ने परेको भए यो सम्भव हुँदैनथ्यो, एमाओवादी र सात दलबीच शान्ति सम्झौता नै हुँदैनथ्यो,’ उनी भन्छन्, ‘परिवर्तनबिना अब नेपालमा शान्ति र स्थिरता आउँदैन भन्ने उहाँले आत्मसात गर्नुभएको थियो।’

पौडेल भन्छन्, ‘लोकपि्रय नाराहरूविरुद्ध पनि उभिन सक्ने साहस उहाँले बीपीबाट सिक्नुभएको थियो।’ कतिपय राजनीतिक विश्लेषकहरू भन्छन्, गिरिजाप्रसाद चामत्कारिक क्षमताका नेता थिएनन्। उनको विशेषता भन्नु नै निरन्तरको विश्रामहीन सक्रियता र अडान थियो। त्यसैले उनलाई नबिर्सने बनायो। राजा सक्रिय भएपछि विघटित प्रतिनिधिसभाको पुनःस्थापना

हुनुपर्ने निरन्तरको कोइरालाको अडानका अघिल्तिर ज्ञानेन्द्रले झुक्नैपर्‍यो। एमालेले सर्वदलीय सरकार गठन हुनुपर्ने माग त्यागेर प्रतिनिधिसभा पुनःस्थापनाकै मुद्दामा आइपुग्नुपर्‍यो।

‘हुकुमी शासनविरुद्ध जति पनि लड्न सक्ने असाध्यै स्वाभिमानी नेता हुनुहुन्थ्यो कोइराला,’ एमाले नेता नेपाल भन्छन्, ‘प्रतिनिधिसभा पुनःस्थापना यसैको एउटा नमुना थियो।’

पुनःस्थापित सभाले राजाका अधिकार कटौती गर्‍यो। धर्मनिरपेक्ष नेपाल घोषणा गर्‍यो। २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौतामा कोइराला र दाहालले हस्ताक्षर गरे। यसरी माओवादी सशस्त्र युद्ध विधिवत् अन्त्य भएको थियो। गणतन्त्रमा जान संसदीय दलहरू सहमत भएका थिए।

अन्तरिम संविधानले पुरानो संरचना बदल्नेबारे आधारभूत पुनर्विचार त गर्‍यो, तर जनआन्दोलनसँगै सुरु परिवर्तनको गाडी त्यतिमा अडकिएन। २०६३ माघ १ गते अन्तरिम संविधान घोषणा हुनेबित्तिकै काठमाडौंका सडकहरूमा मधेसकेन्दि्रत शक्तिहरूले यसका प्रतिहरू जलाउन थाले।

उपेन्द्र यादवसहितका नेताहरू गिरफ्तार हुन थालेपछि मधेसमा आन्दोलन दन्कियो। कोइराला संघीयता र समानुपातिक निर्वाचन प्रणालीमा प्रतिबद्धता जनाउन तयार भए। आन्दोलन मत्थर भयो। माओवादी, एमाले र कांग्रेसका नेताहरू ती मुद्दाहरूमा राजी नभएको छनक पाए पनि कोइरालाले जोखिम मोलेका थिए। उपसभापति पौडेलका भनाइमा परिस्थिति बुझेर जोखिम मोल्ने र निर्णय गर्ने कोइरालाको स्वभावले उनलाई अरूभन्दा भिन्न बनाइदियो।

क्रमशः मिति सर्दै गएको संविधानसभा चुनाव अन्ततः २०६४ चैत २८ गते हुने भयो। अघिल्ला संसदीय चुनावहरूमा हेलिकप्टर लिएर १४ अञ्चल दगुर्ने कोइराला त्यसपल्ट प्रचारमा गएनन्। आन्तरिक स्रोतहरूले उनलाई यसपल्ट चुनावमा गए कांग्रेस हार्ने रिपोर्ट दिइरहेका थिए। त्यसलाई मतलब नगरी उनी जसरी भए पनि चुनाव सफल हुनुपर्ने अडानमा थिए। अन्ततः विद्रोही माओवादी पहिलो दल भयो। कांग्रेस ठूलो अन्तरसहित दोस्रो भयो। फेरि पनि अपजस कोइरालाकै थाप्लोमा गयो। दाहाल प्रधानमन्त्री भए।

जानकारहरू भन्छन्, ‘भित्तामा प्रचण्डलाई राष्ट्रपति बनाउने आश्वासन दिए पनि माओवादीले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने आश्वासन दिएको थियो। त्यसैको मोहमा उनी परे।’

‘हामीले गिरिजाबाबुलाई राष्ट्रपति बनाउनुपर्ने थियो, उहाँको साह्रै चित्त दुख्यो,’ दाहाल स्वीकार्छन्, ‘तर हाम्रो सम्बन्ध बिग्रेन, बरु म प्रधानमन्त्री भएर अप्ठेरो परेका बेलामा बडो मायालु तरिकाले सम्झाउनुभयो, ‘लौ है, जिम्मेवारी लिएपछि यस्तो अप्ठेरो आउँछ। तपाईं मिलाएर लैजानूस्। मैले के

गर्नुपर्छ भन्नुस्।’

सेनापति प्रकरण उछालिएर आफूले राजीनामा दिन लाग्दा त्यसैको बिहानसमेत सरकार नछाडन कोइरालाले अभिभावककै सरह ढिपी गरेको दाहाल सम्झन्छन्। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीजस्ता मुद्दाहरूमा निरन्तर उभिने कोइरालाको बाटो आज कांग्रेसले छाडेको उनी आरोप लगाउँछन्।

उपसभापति पौडेल प्रतिवाद गर्छन्, ‘गिरिजाबाबु आज हुनुहुन्न, तर हामीले उहाँले देखाएको बाटो छाडेका छैनौं। छाड्दैनौं।’

‘अनुदार’ बाट अभिभावक

‘त्यसैताका गिरिजाकी दुलही सुषमा आगो लागेर मरेकी थिइन्। त्यो वेदनालाई ध्यानै नदिएर गिरिजा सारा कुरा मिलाएर वार्ताका लागि लागिरहेको थियो। र, गिरिजाको महत्त्व त्यस बखतमा देखिएको थियो।’ गणेशमानजीले भन्नुभयो, ‘गिरिजा त्यत्रो कुशल वार्ताकार छ भन्ने मलाई थाहा थिएन, राजनीतिक रूपले परिपक्व छ भन्ने लागेको थिएन।’

(बीपी कोइरालाको आत्मवृत्तान्त, पृष्ठ ३०३)

माथिको प्रसंग राजा महेन्द्रसँग कांग्रेसको वार्ता हुने प्रसंग चल्दै गर्दाको हो। बीपी त्यसबेला सुन्दरीजल जेलमा थिए। नेताहरूको गिरफ्तारी र कार्यकर्ताको व्यापक धरपकड र बिचल्लीबीच संकटको घडीमा गिरिजाप्रसाद कोइरालाले धीरतापूर्वक निर्वाह गरेको भूमिकाको बीपीले जीवनको उत्तरार्धमा मूल्यांकन गरेका थिए, आत्मवृत्तान्तमार्फत।

तर, यो बीपीवाणी नै गिरिजाप्रसाद कोइरालाप्रति सम्पूर्ण मूल्यांकन भने होइन। प्रजातन्त्रका लागि तीन ठूला लडाइँ लडेका यी नेता अनेक छविहरूमा बाँचे। चार पटक प्रधानमन्त्री भए। विवादित भए। लोकपि्रयताको स्वाद कस्तो हुन्छ भन्ने थाहा पाउन उनले जीवनका आखिरी दिनहरू पर्खिनुपर्‍यो।

२००७ सालताका कोइराला मजदुर संगठनको कार्यकर्ताका रूपमा राणाशासनविरुद्ध भिडे। क्रान्ति सकिएपछि बीपी, मातृका, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्यायजस्ता नेताहरूको नेतृत्वमा उनी ‘लो प्रोफाइल’ मै बसे। जासुसी उपन्यासहरू पढ्नु उनको दैनिकी थियो।

पञ्चायत सुरु हुँदा क्रान्तिकारी छवि निर्माण गरेका उनलाई पञ्चायतको आखिरी कालमा दरबारसँग सम्झौता गर्न उद्यत रहेको आरोप पार्टीभित्रैबाट लाग्यो। २०४६ को परिवर्तनपछि पार्टीभित्र र बाहिरसमेत असाध्यै दक्षिणपन्थी, अनुदारवादी छवि बनाए। कांग्रेस उपसभापति पौडेल भन्छन्, ‘गिरिजाबाबुमा अलिकति ‘राइट-लिनिङ’ थियो। त्यसले यहाँका गैरकांग्रेसहरूलाई चोट परेको थियो।’

पार्टीभित्र, गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईजस्ता पार्टी संस्थापकलाई किनारा लगाएको आरोप कोइरालाले खेपे। कालान्तरमा कांग्रेस विभाजनसमेत भयो। पौडेलको भनाइमा प्रतिस्पर्धामा आउन सक्नेहरूलाई पन्छाउने कोइराला स्वभाव यसमा जिम्मेवार थियो।

पार्टीबाहिर, माले-मण्डले-मसाले एकै हुन् भनी २०४७ सालको सुरुमा दोलखामा गएर उनले बोल्दा त्यसको मूल्य पछिसम्मै महँगो पर्न गयो। उनको ‘अलोकप्रियता’ को जगमा प्रतिपक्षी राजनीति देशैभरि फैलिने मौका पायो। कांग्रेसले बहुमत पाएको तीन वर्ष नबित्दै एमाले मुलुकको पहिलो दल हुन पुग्यो। अपजस गिरिजाप्रसादको भागमा पर्‍यो।

उनै कोइराला सत्ताभित्र-बाहिर रहँदा एकातिर अराजकता र भ्रष्टाचारले प्रोत्साहन पाएको आरोप लाग्यो। उनको नेतृत्व समेतलाई दोष दिँदै अर्कातिर माओवादी सशस्त्र युद्ध चर्कियो।

दलहरूको छिनाझपटी, चर्कंदो युद्धबीच उनी प्रधानमन्त्री रहेकै बेला दरबार हत्याकाण्ड भयो। नयाँ राजा ज्ञानेन्द्रसँग बढदो अन्तर्विरोधबीच २०५९ जेठ ८ गते संसद् विघटन भयो। कोइरालाबाट फुटेर गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असोज १८ गते कुर्सीबाट जबर्जस्ती हटाइए।

‘शाही प्रतिगमन’ विरुद्ध कोइराला, देउवा, एमालेसहित दलहरू आन्दोलनमा गए। बीचमा एमाले देउवा नेतृत्वमा फेरि सरकारमा गयो। कोइराला सडक आन्दोलनमै रहे। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले जब सक्रिय शासन थाले, हिजोसम्म अन्य दलहरूबाट ‘खलनायक’ चित्रित कोइराला अब निर्विकल्प नेता बन्न पुगे।

दरबार, दलहरू र माओवादीबीच उतारचढावयुक्त इतिहासमा एउटा त्यस्तो घुम्ती आयो, जहाँनेर उनले बाटो बदले। आफूमात्रै बदलिएनन्, राजनीति कम्पास घुमाउँदै आफूले आतंककारी करार गरेका माओवादीसँग हात बढाए। दरबारसँग सम्झौतापरस्त भनिएका उनैले राजतन्त्रसँग औपचारिक सम्बन्ध विच्छेद गरे। उनका यिनै ‘अफबिट’ निर्णयहरूले नेपालको इतिहास बदल्यो। उनी बितेर गएको आज शनिबार पाँच वर्ष पूरा भएको छ। समर्थन र विरोधमा अझै पनि बहस चल्ने गर्छन्।

कुनै बेला उनलाई ‘प्रतिक्रियावादी’ मान्नेहरू आज परिवर्तनको संवाहक भनी प्रशंसा गर्छन्। एमाओवादी अध्यक्ष दाहाल त कतिसम्म भन्न पुग्छन् भने, ‘सरदर नेताभन्दा माथि उठेर निर्णय गर्ने गिरिजाबाबुजस्तो पार्टनर नहुँदा शान्ति प्रक्रिया टुंगो लगाउन गाह्रो परेको छ। त्यसैले कांग्रेस र एमालेले नसम्झे पनि मैले गिरिजाबाबुलाई पटक-पटक सम्भिmनुपरेको छ।’

कोइरालासँग अनेक खेप संघर्ष र सहकार्य गरेका एमाले नेता माधवकुमार नेपाल भन्छन्, ‘सत्तामा छँदा सुरु-सुरुमा प्रतिपक्षीलाई पटक्कै गन्नु हुन्नथ्यो गिरिजाबाबु। पछि राजासँग जुध्न चाहने सबैलाई समेटेर हिँड्नुभयो।’

र, कांग्रेस उपसभापति पौडेल पुष्टि गर्छन्, ‘गिरिजाबाबुको जीवनकालमा जसले सबैभन्दा बढी गाली गरे, उनीहरू नै अहिले सबैभन्दा बढी प्रशंसा गर्दैछन्।’

भनाइहरूमा तथ्य छ। सत्य भने रोचक छ। गाली गरिएका कोइराला, प्रशंसा गरिएका कोइराला एकै थिएनन्। उनको राजनीतिक विम्ब नै अनेक अनौठा निर्णयहरूले निर्माण भएको देखिन्छ। रोजाइहरूमा विविधता छ। व्याख्याहरू अनेक हुन सक्छन्। कमजोरीसहितका ‘महान्’ यी नेताबारे मिडिया पनि प्रायः आलोचक रहिरह्यो। हिंसा अन्त्य गर्दै परिवर्तनको बाटोमा देशलाई हिँडाउन ‘सरदरभन्दा माथि उठेर’ उनले दिएको नेतृत्वका लागि कोइराला ‘महानायक’ घोषित भए। तर आफ्ना लागि अखबारका पहिलो पृष्ठमा दिइएको त्यो सम्बोधन पढ्ने बेला उनी दिवंगत भइसकेका थिए।

कोइरालाको नेतृत्वमा सुरु शान्ति प्रक्रिया आखिरीकालतिर पुग्दा अहिले अन्योलमा अडेको छ। संविधान निर्माण आधा बाटोमा छ। शान्ति प्रक्रियाका दुई पक्षहरूले ठीक यही विन्दुबाट आफ्ना अलग-अलग दिशा तय गर्न लागेका छन्। यस्तो बेला गिरिजाप्रसादको अभाव खड्केको छ। यसको सबैभन्दा बढी महसुस माओवादीहरूलाई नै भएको छ।

एमाओवादी अध्यक्ष दाहाल भन्छन्, ‘कांग्रेसका नेताहरू गिरिजाबाबुप्रति बफादार छन् भने उहाँले जुन परिवर्तनका एजेन्डाहरूलाई आत्मसात गर्नुभयो, त्यसलाई अगाडि बढाउने कर्तव्य पूरा गर्नुपर्छ।’

गिरिजाप्रसादको अनुपस्थितिमा थाती संविधान निर्माणको यो तगारोबीच फेरि पनि बीपीलाई सम्झनु मनासिब हुन्छ। बीपी भन्थे, ‘के लेखिएको छ संविधानमा, त्यो महत्त्वपूर्ण होइन। त्यसको भावना महत्त्वपूर्ण हुन्छ। (आत्मवृत्तान्त, पृष्ठ ३०९)।

सहमति र प्रक्रियाको रस्साकसीमा जेलिएको यो संविधान र शान्ति प्रक्रियामा गिरिजाप्रसादको अझ बढी सम्झना हुन गएको छ। अहिले गिरिजाप्रसाद छैनन्। देशले जीवित नेताहरूमा ‘गिरिजाप्रसाद’ खोजिरहेको छ।


  •  
  •  
  •