को हुन् नवनियुक्त गृहमन्त्री रामबहादुर(बादल)

1144
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएस) : प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका महासचिव पनि हुन् । बादल गुल्मीको बडागाउँमा जन्मिएका हुन्। अहिले उनको उमेर ६३ वर्षको भएको छ।

बादल भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा हुन्। बादल नेपालबाट आईएस्सी एजी गरेर तत्काललिन सोभियत युनियनमा पढ्न गएका थिए तर जनवादी क्रान्ति सपना उनेर बीचमै पढाइ छाडेर नेपाल फर्किए ।आए लगत्तै उनी भूमिगत राजनीतिमा होमिए ।

२०३७ देखि राजनीतिमा होमिएका बादलले त्यसपछि लगातार ०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताए। बादलले ०३८ देखि ०३९ सम्म बन्दी जीवनसमेत बिताएका थिए।
जनयुद्ध कालमा माओवादी–सरकार वार्ता टोलीको सदस्यका रूपमा दोस्रो वार्तामा बादल सार्वजनिक भएका थिए।

त्यसबेला उनी सबैभन्दा आकर्षणका केन्द्र बनेका थिए। जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समय बसे । जनयुद्धलाई हाँक्नसमेत भूमिका निभाए। उनी कार्यकर्तालाई प्रशिक्षण दिन सिपालु छन् । बादल त्यस्ता नेता हुन्, जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुगेका थिए। चितवनको भरतपुर नगरपालिका १० नारायणटारमा बादलका परिवार बस्छन् ।

उनका १ छोरा, १ छोरी र श्रीमती गरी चार जनाको परिवार छ। श्रीमती नैनकला थापा महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् । पहिलो संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका बादल दोस्रो संविधानसभामा भने उम्मेदवार बनेनन् । त्यसबेला उनी मोहन वैद्यले नेतृत्वको गरेको माओवादीका थिए । उक्त पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला बादल रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

गत माघ २४ गते भएको निर्वाचनमा बादल ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा बादल विजयी भएका थिए ।


  •  
  •  
  •