राष्ट्रिय सभाको भूमिका बढाउन गृहकार्य

253
  •  
  •  
  •  

काठमाडौँ, १५ चैत्र : राष्ट्रिय सभाको भूमिका कसरी प्रभावकारी बनाउने विषयमा सांसदहरूले गृहकार्य थालेका छन् । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको बुधबार बसेको बैठक भविष्यमा सभाको प्रभावकारिताकै सन्दर्भमा केन्द्रित भएको थियो ।

बैठकमा समितिका सदस्यहरूले सरकार र प्रतिनिधिसभाले राष्ट्रिय सभालाई भूमिकाविहीन बनाउन सक्ने भएकाले सुरुदेखि नै प्रभावकारी बन्ने पहल थाल्नुपर्ने राय व्यक्त गरेका थिए । नियमावली बनाउने बेलैमा प्रभावकारी भूमिका तय गरेर अघि बढ्नुपर्ने सदस्यहरूको सुझाव छ । त्यसका लागि राजनीतिक तहबाटै निर्णय आवश्यक भएकाले प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षदेखि दलका शीर्ष नेतासँग पनि छलफल गर्नुपर्ने समितिको निष्कर्ष छ । झन्डै डेढ दशकपछि राष्ट्रिय सभाको अभ्यास हुन लागेकाले त्यसको कामकारबाही र प्रभावकारिताबारे सदस्यहरूमा चिन्ता देखिएको हो ।

२०४७ सालको संविधानले दुई सदनात्मक व्यवस्थापिका व्यवस्था गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुइटा सदन थिए । माथिल्लो सदन राष्ट्रिय सभाले २०४८ देखि ०५९ सम्म काम गरेको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार ०६४ र ०७० सालमा दुई पटक संविधानसभा निर्वाचन भए पनि त्यसमा माथिल्लो सभाको व्यवस्था थिएन ।

नियमावली समितिका सदस्य सांसद राधेश्याम अधिकारीले राष्ट्रिय सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सैद्धान्तिक छलफल भएको बताए । ‘संविधानले दुइटा सभाको परिकल्पना गरेको छ । त्यहीअनुसार दुइटै सभा गठन भइसकेका छन् । अब दुवैको प्रयोजन सिद्ध गर्न सक्नुपर्छ,’ उनले भने, ‘नभए राष्ट्रिय सभा किन भन्ने प्रश्न उठ्न सक्छ । यो सभाको समेत प्रभावकारी भूमिका रहोस् र त्यो प्रश्न नउठोस् भन्नेतर्फ सतर्क हुनुपर्छ ।’

उनले नियमावली बनाउने क्रममा यसमा चिन्ता र चासो प्रकट भएको बताए । समितिको पहिलो बैठकले आफ्नो सभापति चयन गरेको थियो भने दोस्रो बैठक सैद्धान्तिक विषयको छलफलमा केन्द्रित रह्यो । संघीय संसद सचिवालयले तयार पारेको राष्ट्रिय सभा सञ्चालन नियमावली मस्यौदा सदस्यहरूलाई उपलब्ध गराइएको थियो । दोस्रो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ ।

‘सचिवालयले तयार पारेको मस्यौदामाथि दफावार छलफल भइसकेको छैन,’ अर्का सदस्य वृषेशचन्द्र लालले भने, ‘बिहीबारको बैठकबाट सुरु हुन्छ । विगतमा राष्ट्रिय सभाबाट भएका अभ्यास र त्यतिबेलाका नियमावलीहरूको समेत अध्ययन गरिने छ ।’ स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभाका सदस्यहरूको मतबाट निर्वाचित भएकाले राष्ट्रिय सभा ती दुई तहको समृद्धि, विकास र उत्पन्न हुने समस्या समाधानमा केन्द्रित हुनुपर्ने छलफल समितिको बैठकमा चलेको थियो । समिति सभापति परशुराम मेघी गुरुङले आफूलाई निर्वाचित गर्ने निर्वाचक मण्डललाई समेत ध्यानमा राखेर नियमावली बनाउनुपर्ने विषयमा छलफल भएको बताए ।

‘नाममै राष्ट्रिय सभा उल्लेख भएकाले यस सभाको भूमिका पनि त्यही चरित्रलाई प्रतिनिधित्व गर्ने हुनुपर्छ भन्ने कोणबाट सैद्धान्तिक छलफल भएको छ,’ उनले भने, ‘राष्ट्रियता प्रवद्र्धन, सामाजिक र भौगोलिक विविधता सम्बोधन र सन्तुलन गर्ने किसिमले काम गर्नुपर्छ भन्ने छलफलमा छौं ।’ संविधानले दिएको भूमिका र राजनीतिक तथा संरचनात्मक परिवर्तनमा ध्यान दिएर नियमावली बनाउने छलफल भएको छ। कान्तिपुर दैनिकबाट


  •  
  •  
  •