डेढ लाख घूससहित कर अधिकृत पक्राउ

109
  •  
  •  
  •  


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको अभियोगमा कर अधिकृतलाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गरिदिने भन्दै एक लाख ५० हजार रुपैयाँ घूस लिएको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।

अख्तियारले अनुसन्धानपछि अधिकृत ढकालले घूस लिएको पुष्टि भएको बताएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ अनुसार एक लाख ५० हजार बिगो रकम माग गरेर बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

 

आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम, धनुषाका कर अधिकृत रमेश ढकाल उपर बिगो रु. १,५०,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०७८।०३।१० गते ।
—————————————————-

जिल्ला धनुषा स्थित आन्तरिक राजस्व कार्यालय, जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीद्वारा सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत रकम लिएको अवस्थामा उक्त रकमसहित कर अधिकृत रमेश ढकाललाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम, धनुषाका कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने भनी रु. १,५०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


  •  
  •  
  •