६ हजार रुपैयाँ घुससहित पक्राउ परे नासु

93
  •  
  •  
  •  

काठमाडौं, २७ माघ(ओएनएस) : भुमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नासु कुमारबहादुर राजभण्डारीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नासु राजभण्डारीसँगै बिचौलिया बाबुराजा शाक्यलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।  जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको निगरानीका क्रममा उनीहरु पक्राउ परेका हुन् । नासु राजभण्डारी र बिचौलिया शाक्यविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले अनुसन्धान गर्दा उक्त घुस लिने कार्यमा प्रत्यक्ष संलग्नता देखिई नायव सुब्बा कुमारबहादुर राजभण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाएको हो।  लेखापढी व्यवसायी बाबुराजा शाक्यले सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ।

 सप्रमाण पुष्टि हुन आएकोले उनीहरुलार्ई छ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायमा गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।


  •  
  •  
  •