घर फर्कने दिन

70
  •  
  •  
  •  

घट्दै गए पनि उमेरका धर्काहरू
घट्न सकेनन् अभावका चुलीहरू

बाध्यताको गहिरो भंगालोमा परेर
अलिकति निधारमा रहरको टिका थापेर
म जस्तै कति थिए होलान् मुग्लान् छिर्नेहरू ?

एकाबिहानै मोबाईलमा मेसेज बज्छन्
अब त घर आउने होला नि ?
दुई थोपा आँसुले लेख्छु तप्प तप्प –
छिट्टै आउँछु !

शेखर विकल्प

गर्भमै छाडेर हिडेकी छोरी
कक्षा १ मा पढ्न थालीसकी
क,ख, रा सिक्दा “सबैभन्दा पहिले ‘ब’ लेख्छे
अनि कन्नानी दिन्छे” – भनेर सुनाउँछे उसकी आमा !
अनुहार नदेखेको बा लेख्दै गर्दा
कति थपिदै गए होलान् उसका
बा को काखमा बस्ने रहर
तर घट्न सकेनन उसको बा को घर फर्कने दिन !

जिन्दगी कस्तो नदी रहेछ
न बाँध बनाएर बाँध्न सकिने
न खाडल बनाएर तलाउमा जमाउन सकिने
न घाम देखाएर सुकाउन मिल्ने

यो कस्तो जिन्दगी हो
यो कस्तो सन्नाटा हो
झरी भनेको पानीको मात्रै नहुने रहेछ
मरूभुभिमा पनि झरी नपरेको रात छैन
आङ नभिजेको दिन छैन

एयरपोर्टमा घर फिर्ने मानिसहरू देख्छु
शीरमा १०० किलोको ढुंगा बोकेर हिडे जस्तो हुन्छ !
बाका चाउरी परेका गाला सम्झन्छु
आमाका कांडा विजेका खुट्टा सम्झन्छु
प्रियसीको प्रभाती हिमाल जस्तो सिउँदो सम्झन्छु
आखिर परदेशमा सबथोक भन्नु सम्झना त रहेछ !

पठाएर नहुने रहेछ सम्झनाको भारी
विसाएर नसकिने रहेछ मनको चौतारी
तीज आउँछ बहिनीले दाइ भन्छे
तिहार आउँछ दिदीले भाई भन्छिन्
दशैं आउँछ छिमेकीले लाहुरे भन्छन्
मेला भर्दा भाईले सम्झन्छ
पर्व आउँदा दाइले बोलाउँछ
तर आफ्नो कर्ममे कैले घर भन्न दिएन !

मान्छे भासिन हिलो चाहिने रहेनछ
पानीको रह पर्नु पर्ने रहेनछ
परिस्थिती नै सबैभन्दा ठूलो दलदल रहेछ !

परदेश हिड्न डोऱ्याउँने पाइतालाले
किन डोऱ्याउँदैन घर हिड्ने बाटोहरू ?
सयौं चोटी झोला बाोकेर पनि फेरि रोकिन्छु
सम्झन्छु अझै रिन बाँकी छ
थचक्क बस्छु – समय बाटो छेक्ने नै सबैभन्दा ठूलो पर्खाल रहेछ !

अचेल त यस्तो भैसक्यो
कसैले घर फर्कने कुरा गरे चुपचाप बस्छु
कमाईका कुरा सोधे बोल्न मन लाग्दैन
परदेशीलाई किन बोलाउँछन् होला
सन्चो विसन्चो पनि किन सोध्छन् होला ?

आखिर दैनिकी
रात दिन विहान साँझ सबै उस्तै छन्
सोच्छु के परदेश नै हाम्रो भाग्य हो ?
काम छिर्नै लाग्दा
पात्रो फर्काउँछु र हेर्छु कहिले आउँछ –
घर फर्कने दिन !


  •  
  •  
  •