आन्दोलित स्थानीयवासी र प्रहरीबीच झडप

589
  •  
  •  
  •  

उर्लावारी, १० वैशाख(ओएनएस) : मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव भेटिएपछि उनको हत्या भएको भन्दै आन्दोलित स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जीतबहादुर लावती घाइते भएका छन् । उनको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।

पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालाबन्दी गरी स्थानीयवासीको भीड इलाका प्रहरी कार्यालय बाहिर नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । मंगलबार बिहानैदेखि पथरी बजारका पसल बन्द गरेर स्थानीयवासी आन्दोलित बनेका थिए । बिहान १०.३० बजेदेखि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका शंकास्पद अवस्थाका सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईँले जानकारी दिए ।
पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए ।

प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् ।


  •  
  •  
  •