झाडापखालाका कारण बालकको मृत्यु, १ सय ७० बिरामी

958
  •  
  •  
  •  

गुल्मी, १५ वैशाख(ओएनएस) : गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण एक हप्तादेखि फैलिएको झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ ।

स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।

झाडापखालाबाट बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका मृत्यु भएको हो ।

झाडापखालाबाट सिंजालीका हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।

दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिरामी हुनेको संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिएका छन् ।

स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

झाडापखालाबाट बिरामी परेकाहरुको गल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ ।

झडापखालाको मुख्यकारण पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट डाक्टर प्रियंका श्रेष्ठको नेतृत्वको टोली शनिबार प्रकोप क्षेत्रमा आइपुगेको छ ।


  •  
  •  
  •