गेटा मेडिकल कलेजको काम सुस्त गतिमा

171
  •  
  •  
  •  

medical collegeधनगढी, १० माघ (ओएनएस) : डेढ दशकदेखि चर्चामा रहेको गेटा मेडिकल कलेज स्थापनाको काम सुस्त गतीमा अघि बढिरहेको छ ।

प्रस्तावित मेडिकल कलेजले २०७० सालमा जग्गाको भोगाधिकार पाएकोमा वातावरणीय प्रभाव मूल्यांकनको काम अझै नसकिदा रुख कटानीको आदेश पाएको छैन । वातावरण प्रभाव मूल्यांकनको काम सम्पन्न नहुँदा वन मन्त्रालयले रुख कटानीको आदेश नदिएको हो । जसका कारण भौतिक संरचना निर्माणको काम हुन सकेको छैन ।

मेडिकल कलेज निर्माण स्थलमा रुख कटानी नहुँदा भौतिक निर्माणको काम हुन सकेको छैन ।’ प्रस्तावित गेटा मेडिकल कलेज प्रबद्र्धन तथा विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने, ‘वातावरण प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । ८/१० दिनमा फाईल वातावरण मन्त्रालयमा पुग्नेछ ।’ यसअघि वातावरण प्रभाव मूल्यांकनको रिर्पाेट वातावरण मन्त्रालय पठाइएकोमा थप शंसोधन गर्न भनेपछि संशोधन भइरहेको छ । केही दिनमै मन्त्रालयमा पठाउछौं ।’ उनले भने ।

वातावरण प्रभाव मूल्यांनको काम माघ महिना भित्रै सकिने कार्यकारी निर्देशक पुजाराले दाबी गरे । एक वर्षभित्र वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट दिनेगरि २०७० बैशाखमा मल्टी डिसिल्पिनरी कन्सल्टेन्सी काठमाडौंले जिम्मा लिएको थियो । तर उसले ढिलो गरी काम गरिरहेको छ ।

मेडिकल कलेजको प्रशासनिक भवन निर्माणका लागि यसअघि नै ठेक्का स्वीकृत भएपनि हालसम्म काम अघि बढ्न सकेको छैन । ‘गुरु योजनामै समय लाग्यो ।’ कार्यकारी निर्देशक पुजाराले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न नभए पनि जिल्ला तहको समझदारीमा सिमलको रुख हटाइएको छ । प्रशासनिक भवन निर्माणको काम शुरु हुन्छ ।’

मेडिकल कलेजको प्रशासनिक भवनका लागि गत ववर्ष १३ करोड र बाटो निर्माणका लागि चार करोडको ठेक्का सम्झौता भएको थियो । ‘रुख कटानी नहुँदा ठेकेदारले काम गर्न पाएन । अहिले रुख हटाइएको छ । उनले भने, ‘तर प्राविधक समस्या रहेको छ । ठेकेदारले पुरानो ठेक्का भएकाले सोही सम्झौतामा काम गर्न सक्दैनौ भनिरहेको छ ।’ आन्तरिक सडक निर्माणका लागि काम थालिए पनि रुख कटानी गर्न नसकिएको पुजाराले बताए । आन्तरिक सडकमा ७५ र मुल सडकमा ९० रुख कटानी गर्नु पर्नेछ ।

कार्यकारी निर्देशक पुजाराले पहिलो चरणमा प्रशासनिक भवन र आन्तरिक ३ सय शैयाको अस्पताल भवन निर्माण गरेर पठन पाठन शुरु गर्ने गरी काम गर्ने योजना रहेको बताए ।

‘कम्तिमा १० वर्षको योजना रहेको छ ।’ कार्यकारी निर्देशक पुजाराले भने, ‘तीन वर्ष भित्र प्रशासनिक भवन र ३ सय शैयाको अस्पताल बनाएर एमबीबीएस कक्षा शुरु गर्ने लक्ष्य रहेको छ ।’ मेडिकल कलेजको योजना बनाउँदा पानीको व्यवस्थापन, फोहर व्यवस्थापन र खोला नियन्त्रण छुटेकोले रणनीतिक योजनामा त्यसलाई पनि समेटनु पर्नेछ ।’ उनले भने ।

कार्यकारी निर्देशक पुजाराले ६ सय शैयाको अस्पतालसहित मेडिकल कलेजमा एमडी कक्षा संचालनको लक्ष्य लिइएको बताए ।

मेडिकल कलेजका लागि सरकारले वर्षेनी बजेट छुट्याउदै आएको छ । यसवर्षपनि १० करोड रुपैयाँ छुट्याएको छ । अर्थ मन्त्रालयले काम गर बजेटको समस्या छैन भन्दै आएको छ ।’ कार्यकारी निर्देशक पुजारीले भने, ‘काम अघि नबढ्दा बजेट धेरै नआएको हो । गत वर्ष बचत रहेको ३ करोडबाट हालसम्म काम भइरहेको छ ।’

कार्यकारी निर्देशक पुजारीले मेडिकल कलेजको प्रक्रिया लामो भएका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा लग्ने भनेर गेटा मेडिकल कलेज प्रबद्र्धन तथा विकास समितिले निर्णय गरेको र शिक्षा मन्त्रालयमा सुझाव पठाउन बाँकी रहेको बताए ।

‘मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय के बन्ने भनेर एकीन भएको छैन् । यस क्षेत्रका सांसदहरूको मत पनि प्रतिष्ठान बनाउने भन्नेमा छ निर्णय हुन बाँकी छ ।’ उनले भने ।

गत पुसमा कैलाली आएका स्वास्थ्यमन्त्री रामजनम चौधरीले पनि मेडिकल कलेज बनाउने प्रक्रिया लामो भएकाले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल भइरहेको र ६ महिना भित्र विधेयक पास हुने बताएका थिए ।


  •  
  •  
  •