काठमाडौं ४ असोज ।
सात वर्षमा यही गेटबाट दुई कार्यकालमा निर्वाचित/मनोनीत सभासद्को लाखौं ओहोरदोहोर भए । कुनै दिन यस्ता पनि थिए, सभासद्हरु गेटै नजिक आउँथें, लोगो लगाउँथे र भित्र पस्थे । बाहिर निस्कनेबेलामा लोगो गोजीमा लगाउँदे र निस्कन्थे ।
पहिलो संविधानसभाले म्याद थपेपछिका दिनदेखियता सभासदहरु त्यो गेटबाट आउन जान भयमुक्त भएनन् । पहिलो संविधानसभा विघटनको संघारमा पुगेकाबेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेका थिए, ‘यो लोगोको काम संविधानसभामा गार्डलाई देखाउने पास भएको छ ।’
संविधान नबनाएको झोंकमा पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनालदेखि झक्कु सुवेदीसम्मले झापड खाए । संविधान नबनाएकोमा चरम निराशा थियो जनतामा ।
सभासदहरुको यही प्रवेशद्वारामा कतिपटक घातक बम राखिए । अघिल्लो संविधानसभामा ४ वटामात्र सभासद् रहेको राप्रपा नेपालले गेट नै भत्काउने धृष्टता गर्यो ।
राष्ट्रपति रामवरण यादवले संविधान घोषणा गरेपछि राति ७ बजेपछि त्यही गेट नं. ३ बाट संविधानसभाबाट बाहिरिएका सभासद्ले अपार स्वागत पाए । दिनभर सुरक्षाकर्मीले बीच सडकमा निस्कन नदिंदा खुम्चिएका सर्वसाधारण राष्ट्रपतिले संविधान घोषणा गर्दा नगर्दै सडकमा स्वतस्फुर्त निस्किए । र, संविधानसभाका तीनवटै गेटमा नेताहरुलाई कुरिरहे अबेरसम्म ।
राष्ट्रपतिसँगै ठूला नेताहरु भित्रै रहँदा साँझको डिनरपछि निस्किएका सभासदहरुलाई गेटमा जम्मा भएका हजारौं सर्वसाधारणले स्वागत गरे । मैनबत्ती र राष्ट्रिय झण्डासहित गेटमा जम्मा भएको ठूलो समूहले नेताहरुको स्वागत गर्यो । धेरैपछि यो दृष्य देखियो, जहाँ कार्यकर्ता होइन आमजनता नेताको स्वागतमा गेटमा जम्मा भएका थिए । जहाँ युवाहरुको समूह उल्लेख्य थियो ।
जनताको भीडले संविधानसभा वरपर खुट्टो राख्ने ठाउँ थिएन । जनताको भीड सुरक्षाकर्मीले रोक्न सक्ने अवस्था थिएन । जनता सिधै गेटमा उभिए । ‘स्वागत छ नेताजी, संविधान ल्याउनुभो…’, ‘नेपाल…नेपाल…’ ‘संविधान त दिनुभो विकास पनि दिनुस् न है…’ भन्दै नाराहरु उर्लिए ।
प्रत्येक नेताका गाडी रोक्दै हजारौं भीड नेतासँग हात मिलाउन उद्धत थियो । सभासद् बलबहादुर केसी त स्वागतले रोमाञ्चित हुँदै गाडीबाट ओर्लिए र अभिवादन फर्काए ।
पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का एकजना पीएसओको भरमा जनताबीच नै देखिए । सडकमै रहेका एक पूर्वएआईले पछि खड्कालाई साथ दिए । नेताहरुले अस्वभाविक स्वागत पाए । अधिकांश युवाहरुको भीडमा सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहालको नाम दोहोरिंदै थियो । ती नाममा राष्ट्रपति पनि थपिएका थिए । उनीहरुलाई स्वागत गरेरमात्रै जाने सल्लाह सुनियो ।
…
५ बजेका लागि संविधानसभाको अन्तिम बैठक बोलाइएको थियो । बहुप्रतिक्षित यो समयको प्रतिक्षामा आम नागरिक थिए । संविधान जारी भएको घोषणामा प्रत्यक्ष साक्षी बन्न संविधानसभामा आएका उपस्थित सभासद्, निम्तालु, पत्रकार पनि ब्यग्र प्रतिक्षामा थिए ।
सभासद्हरुको फुर्तिफार्ती बेग्लै थियो । सामूहिक फोटो खिच्ने, सेल्फी, विफी लिने सभासद्हरु पनि उत्तिकै थिए । जातीय पहिरनमा आएका सभासद्हरुको रौनक बेग्लै थियो । सभासद्समेत रहेका पर्यटनमन्त्री कृपाशुर शेर्पासँग फोटो खिचाउन सभासदहरु लाइनमा बसे । उनी ‘टिपिकल’ शेर्पा पोसाकमा थिए । अरु पनि थुप्रै सभासद्हरु जातीय पोसाकमा थिए ।
संविधानसभाको अन्तिम बैठकमा पूर्वसभासद्लाई पनि बोलाइएको थियो । उपस्थित कतिपय पूर्वसभासद्ले संविधानसभामा हस्ताक्षर गर्ने अवसर गुमेकोमा खिन्नता व्यक्त गरिरहेका थिए । सभासद् बद्रिप्रसाद न्यौपाने भन्दैथिए, ‘अवसर त गुम्यो तर संविधानमा त हाम्रो पनि हक छ नि !’
…
संविधान पारित भएपछि एउटा कौतुहल थियो– राष्ट्रपति संविधान जारी गर्न आउँछन्/आउँदैनन् । संविधानसभा भवन परिसरमा उपस्थितहरुमा चर्चा हुने पात्र राष्ट्रपति छँदै थिए ।
कसैले भन्थ्यो, राष्ट्रपतिलाई शीतल निवासमा धर्ना बसेका मधेसी दलले रोकेका छन् । ‘हैन नआउने त होइनन्,’ प्रश्न उठिनै रहेको थियो । पौने ५ मा पनि राष्ट्रपति संविधानसभा आएनन् । शंका गर्नेहरु बिनासूचना फेरि उस्तै कुरा दोहोर्याइरहेका थिए । सूचना आयो– राष्ट्रपति ६ बजेमात्रै आउने रे ।
प्रहरीले संविधानसभाभित्रै सुरक्षा तैनाथी बढायो । प्रधानमन्त्री, मन्त्री, शीर्ष नेताहरुको आगमन व्यवस्थित नगरेका सुरक्षाकर्मीले बाटो क्लियर गरे । ठूलो लर्को संविधानसभा पस्यो । बीचको गाडीमा राष्ट्रपति देखिए । स्वागतले ताली बज्यो ।
राष्ट्रपति भित्र पस्दा संविधानसभा अध्यक्षबाहेक सबै सभासद् आफ्नो कुर्सीमा बसिसकेका थिए । संविधानसभा बैठक सुरु भयो ।
राष्ट्रपतिमाथिको अविश्वास र शंका गरिरहेका उपस्थित भक्कानिए । जतिबेला राष्ट्रपतिले हातमा परेको संविधानको विशेष कपीमा समय लगाएर ढोगिरहेका थिए । धर्मग्रन्थभन्दा बढी माया गरिरहेका थिए ।
संविधानसभाभित्र रहेका सभासद् र बाहिर डिजिटल बोर्ड हेरिरहेका उपस्थितको तालीको गड्गडाहट आयो । सेनाले तोप पड्कायो । संविधानसभा परिसरमा सजाइएका बेलुनहरु उड्न थाले ।
…
संविधान जारी हुने दिन बढी खोजिएका र चासो लिएका नेता थिए, विजयकुमार गच्छदार । संविधानमा हस्ताक्षर गरेका सभासद् र संविधानसभा भवन परिसरमा जम्मा भएकाहरुले गच्छदारलाई सम्झिरहेका थिए ।
संविधान आउनु सुखद् क्षण छँदै थियो । संविधानसभामा गैरसभासद् मधेसी अनुहारको उपस्थिति पनि उत्तिकै थियो । संविधानसको पक्षमा रहेका दर्जनौं मधेसी सभासद् पनि थिए । जो कांग्रेस, एमाले, एमाओवादीलगायतका साना दलबाट निर्वाचित थिए । तर, मधेसकेन्द्रित दल यो ऐतिहासिक अवसरमा थिएनन् । अझ दलहरुबीच विवाद चर्कंदा मिलाउन भूमिका खेल्ने विजयकुमार गच्छदार थिएनन् ।
चाहना धेरैको थियो, गच्छदारले पनि नयाँ संविधानमा हस्ताक्षर गरुन् । यो ऐतहासिक अवसरमा संविधानसभाभित्रै देखिउन् । गच्छदारसँग सहमति हुने तयारी भएकाले संविधानसभा बैठक ढिला भएको सूचनाहरु आउँदैथिए । तर, वार्ता प्रक्रियामा रहेका एक नेताले खुलस्त पारेपछि थाहा भयो, गच्छदार संविधानसभामा नआउने नै भए । उनका पार्टीका तीन जना सभासद् भने संविधानसभाको अन्तिम बैठकमा सहभागी भए ।
…
संविधानसभाको अन्तिम दिन अलग अलग ठाउँमा उपस्थितका लागि रात्रिभोजको आयोजना गरिएको थियो । खानामा मीठामीठा परिकार थिए । संविधानसभा बैठक सकिएलगत्तै उपस्थितहरु टेन्टतिर लाइन लागे । संविधानसभामा पटका र आतशबाजी सुरु भयो । राष्ट्रपति, उपराष्ट्रपति, शीर्ष नेता, सभामुखको लागि संविधानसभा भवनभित्रै भोजको व्यवस्था थियो । बाहिर धेरै सभासद्, पूर्वसभासद्, नेता, पत्रकार, आगन्तुक थिए । एक सभासद्ले सन्तोष मानेर भन्दैथिए, ‘यहीँ चार वर्ष कति खाइयो–खाइयो, आजजस्तो मीठो कहिल्यै लागेको थिएन ।’
कान्तिपुरबाट