सर्वोदय नेपालको साधारणसभा, दिगो विकासमा काम गर्ने

264
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (ओएनएस) : सर्वोदय नेपालको पहिलो साधारणसभाले डाक्टर ऋषिराज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सन् २००७ देखि विभिन्न विषयमा क्षमता विकास सम्बन्धी काम गरिरहेको संस्था इटालियन फाउण्डेसनको नेपाल प्रतिनिधिका रुपमा काम गर्न सर्वोदय नेपाल नामको गैरसरकारी संस्था स्थापना गरिएको हो ।

यसै हप्ता ललितपुरमा सकिएको साधारणसभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । सर्वोदय नेपालमा विकासका क्षेत्रमा कार्यरत, इटालियन फाउण्डेसनसँग आवद्ध तथा परिचित गरी २१ जना सदस्य रहेको निर्देशक धनबहादुर ऐरले जानकारी दिए । यस संस्थाले इटालियन फाउण्डेसनको नेपाल प्रतिनिधिका रुपमा ललितपुरसहित ४ जिल्लामा काम गर्ने उनको भनाइ छ ।

निर्देशक ऐरले भने, ‘इटालियन फाउण्डेसनले अहिले काभ्रेपलाञ्चोक, दोलखा र जुम्ला जिल्लामा काम गरिरहेको छ । यस वर्षका लागि हामीले ललितपुरमा समेत काम गर्ने कार्ययोजना बनाएका छौं । ४ वटै जिल्लामा समुदायको क्षमता विकासका कामहरु गर्छौं ।’ संस्थाले आर्थिक विकास तथा जिविकोपार्जन, लैङ्गिक समानता तथा महिला सशक्तिकरण, शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्नेछ ।

त्यस्तै प्राकृतिक स्रोतको दीगो व्यवस्थापन (खाद्य सुरक्षा, कृषिको मुल्य श्रृङ्खला विकास, वातावरणमैत्री कृषि) र सामाजिक सुरक्षा प्रवद्र्धनका क्षेत्रमा पनि काम गरिने निर्देशक ऐरले बताए । अहिले काभ्रेपलाञ्चोक र दोलखामा महिला सहकारी विकास तथा प्रवद्र्धन र जुम्लामा महिला सशक्तिकरण तथा जिविकोपार्जन सुधार कार्यक्रम चलिरहेको उनको भनाइ छ ।

निर्देशक ऐरले भने, ‘दोलखा र काभ्रेमा महिला आधारशीला बकचत तथा ऋण सहकारी स्थापना र क्षमता विकासका लागि काम गरेका थियौं । काभ्रेको उग्रतारा गाविसमा स्थापना भएको सहकारीमा ४ सय भन्दा बढी महिला आवद्ध भएका छन् । दोलखाको दुर्गम बुलुङ र लादुक गाविसमा २५ जनाको समूहबाट सुरु भएको सहकारीमा अहिले २ सय ४० महिला आवद्ध भएका छन् ।’

जुम्लामा सञ्चालन भएको कार्यक्रम अन्तर्गत हिमालयन बुउद्देश्यीय सहकारी र पञ्चेश्वर बहुउद्देश्यीय सहकारीको क्षमता विकासका काम भैरहेका छन् । निर्देशक ऐरले भने, ‘जुम्लामा डिल्लीचौर, पातरासी, तलिउम, लाम्रा र हाँकु गाविसमा कार्यक्रम छ । हिमालयनका एक हजार सदस्यमध्ये ६ सय र पञ्चेश्वरका एक हजार ७ सयमध्ये ६ सय हाम्रो कार्यक्षत्रका सदस्य छन् । सहकारीमा आवद्ध भएर रकम बचत गर्ने बानीको विकास भएको छ भने उद्यमशील क्षेत्रमा लगानी गर्नेहरु पनि बढेका छन् ।’

सन् २००७ देखि नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको इटालियन फाउण्डेसनले अब सर्वोदय नेपाल मार्फत काम गर्ने जनाएको छ भने अहिलेको व्यबस्थापनले नैं संस्था सञ्चालन गर्ने भएको छ ।


  •  
  •  
  •