मृतक गौतम र रानाको शव तथा ४ घाइते काठमाडौँ ल्याइयो

312
  •  
  •  
  •  

काठमाडौँ, १५ फागुन(ओएनएस) : एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका चालक दलका सदस्यको शव तथा ४ जना घाइतेलाई शनिबार बिहान काठमाडौँ ल्याइएको छ ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको ९एनएजेबी विमान कालिकोटको चिलखायामा दुर्घटनाग्रस्त हुँदा विमानका पाइलट २९ वर्षीय दिनेश गौतम र को-पाइलट सन्तोष रानाको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै, विमानमा सवार रहेका ९ जना यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये जुम्ला चन्दननाथ-६ का ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीया जगदम्बा खत्री(गिरी) र २ वर्षीय छोरा अनिल तथा चन्दननाथ-५ जुम्लाका ३१ वर्षीय धनन्जय खत्रीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

यस्तै दुर्घटनामा परि घाइते भएकी चन्दननाथ–६ निवासी ३० वर्षीया लक्ष्मी सुनार र जुम्ला पटमारा–७ का ३४ वर्षीय लक्ष्मण खड्कालाई राति नै भारतको लखनउ लगिएको छ, भने चन्दननाथ नगरपालिका–७ का ३७ वर्षीय गणेश भट्टचन, १६ वर्षीया सोनाली भट्टचन र थाङ–३ नुवाकोट निवासी गोविन्दप्रसाद भण्डारीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।


  •  
  •  
  •