यसरी भयो भारतीय सीमाबाट नेपालतर्फ फायरिङ

195
  •  
  •  
  •  

gaur
गौर अान्दोलन : फाइल फोटो

काठमाडौं, २३ चैत (ओएनएस) : रौतहटको सदरमुकाम गौरमा विगत साता दिनदेखि आन्दोलन चर्किरहेको बेला शसस्त्र प्रहरीको बेलबिछुवा क्याम्पमा सोमबार मध्यान्ह २ सयको संख्यामा स्थानीय घेराउ गर्न पुगेका थिए ।

घेराउको क्रममा उनीहरुले सशस्त्र क्याम्पमा ढुंगामुढा गर्दै स्थिति तनावग्रस्त पारे । त्यसक्रममा सशस्त्रले समान्य बल प्रयोग गरी उनीहरुलाई हटाउने कोसिस गर्याे ।

तर, स्थानीय उग्र बन्दै गएपछि सशस्त्रले अश्रु ग्यास प्रहार गरेको थियो । तर, स्थानीयले अश्रु ग्यास सशस्त्रतर्फ नै प्रहार गरेका थिए । त्यसपछि प्रहरीले हवाइफायर गर्दै उनीहरुलाई क्याम्पबाट लखेटेको थियो ।

हवाइफायरपछि भागेका उनीहरु क्याम्पबाट करिब २ सय मिटर पर पुगेका थिए । त्यसलगत्तै सीमा क्षेत्रबाट दर्जनौ राउन्ड गोली नेपालतर्फ फायर भयो ।

उक्त घटना भएपछि हामीले स्थानीय अधिकारी, प्रहरी र भारतीय दूतावासलाई खबर गरेका थियौ र घटनाबारे तत्काल जानकारी मागेका थियो ।

सीमा क्षेत्रमा खोजीकार्य तथा अनुसन्धान राखेका छौ भने भारतीय पक्षले पनि उक्त स्थानमा अनुसन्धान गरिरहेको छ । तर कसले गोली फायर गर्याे पुष्टि भएको छैन ।

(गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालसँग टेलिफोनमा गरिएको कुराकानीमा अाधारित )

अवस्था नियन्त्रणमा आयो

सशस्त्र प्रहरी प्रधान कार्यालयका नायव महानिरिक्षक पुष्पराम केसीले रौतहटमा भारतीय सीमाक्षेत्रबाट भएको फायरिङ नियन्त्रणमा आएको बताएका छन् ।

ओएनएससँग कुरा गर्दै केसीले फायरिङबाट मानवीय क्षती नभएको बताउँदै अहिले स्थिति नियन्त्रणमा आएको बताए । केसीले भने, ‘ अहिले फाइरिङ रोकिएको छ, नेपाल र भारतीयत सिमा सुरक्षा बलबाट अनुसन्धान कार्य जारी राखेका छौ । ’

उनले घटनाबाट मानवीय क्षति नभएपनि जनतालाई आतंकीत पार्ने काम भएको बताए । ‘सिमाबाट एकोहोरो रुपमा एक घण्टा जति फायरिङ भएको थियो, अन्धाधुन्ध रुपमा फाइरिङ भएपनि घटनाबाट मानवीय क्षति भएको छैन । ’

उनले स्थानीयले लक्ष्मीपुरस्थित बेलबिछुवा क्याम्पमा घेरा हाल्दै प्रहरीलाई घेराबन्दी पारेको बताए । त्यसपछि प्रहरीले ३० राउन्ड हवाइ फायर गर्दै स्थानीयलाई लखेटेको थियो । त्यसलगत्तै सिमाबाट फायरिङ भएको केसीले बताए ।


  •  
  •  
  •