चितुवालाई ग्यास्ट्रिकको समस्या?

202
  •  
  •  
  •  

काठमाडौ, २५ चैत : व्यापारिक रुपमा तयार पारिएको आहाराभन्दा काँचो मासु र जनावरहरुको सिनु खान दिएमा खोरमा राखिएका चितुवाहरुलाई असर पार्दै आएको ग्यास्ट्रिक रोग नियन्त्रण हुन सक्ने एउटा अध्ययनले देखाएको छ ।

उत्तरी अमेरिका र दक्षिण अफ्रिकामा मानिसहरुले चिडियाखाना जस्ता नियन्त्रित वातावरणमा राखेका ९५ प्रतिशतभन्दा बढी र युरोपमा ५५ प्रतिशत चितुवाहरु ग्यास्ट्रिकको शिकार हुने गरेको देखिएको छ ।

ग्यास्ट्रिक समस्यामा चितुवाहरुको आमाशयको सतह सुनिने, वाकवाकी लाग्ने, झाडापखाला हुने र तौल घट्ने गरेको पाइएको छ ।

स्वतन्त्र रुपमा हिँडडुल गर्ने चितुवाहरुमा भने त्यस्तो समस्या विरलै देखिने गरेको छ ।

वाकवाकी र झाडापखाला

यस प्रकृतिको अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको अन्तर्राष्ट्रिय सर्वेक्षणमा अध्ययनकर्ताहरुले १९ वटा मुलुकहरुका १ सय ८४ वटा चितुवाहरुको आहारा र स्वास्थ्यबारे सूचना संकलन गरेका थिए।

चितुवाहरुको उक्त संख्या विश्वभर खोरमा राखिएका चितुवाको संख्याको १२ प्रतिशत भएको बताइएको छ ।

अध्ययन टोलीले व्यापारिक रुपमा तयार पारिएका आहारा खाने चितुवाहरुको तुलनामा सिनुमा आधारित आहारा खाने चितुवाहरुमा वाकवाकी लाग्ने र झाडापखाला हुने समस्या कम पाइयो । तर, मसिनो बनाइएको गाई वा घोडाको मासुमा भिटामिन र खनिज पदार्थ थपेर खुवाइएका चितुवाहरुमा भने ग्यास्ट्रिकको समस्या धेरै पाइयो ।

व्यापारिक रुपमा तयार पारिने काँचो मासुहरु खुवाइएका चितुवाहरुको दिसा सामान्य र कडा स्वरुपको थियो जसले चितुवाहरुको आन्तरिक स्वास्थ्य ठिक रहेको इंगित गर्छ । अध्ययनको विस्तृत विवरणहरु PLOS ONE जर्नलमा प्रकाशन गरिएको छ ।

ब्रिटेनको स्कूल अफ एनिमल, रुरल एन्ड इन्भारमेन्टल साइन्सेसमा अध्ययन भ्रमणमा रहेकी टोलीकी एक सदस्य डा. क्याथ्रिन ह्वाइटहाउस टेड्ले भनिन्, “खोरमा राखिएका चितुवाहरुमा ग्यास्ट्रिकको जोखिम बढाउने खानेकुरा के रहेछ भन्ने महत्वपूर्ण तथ्य हामीले अध्ययनबाट पत्ता लगायौँ, चितुवामा ग्यास्ट्रिक रोग तिनीहरुको समग्र स्वास्थ्य र भलाईका हिसाबले ठिक छैन्, यसलाई हामीले साँच्चिकै संबोधन गर्न आवश्यक छ।”

आँतको रोग

उनले थपिन्, “हामीले व्यवसायिक रुपमा उत्पादित आहाराले ग्यास्ट्रिक रोग लागेको प्रमाणित गरेका छैनौँ, हामीले के मात्र प्रमाणित गरेका हौँ भने काँचो मासु, लामा हड्डी र करङहरुले चितुवालाई एक तहको सुरक्षा दिन्छन्, जसले उनीहरुलाई ग्यास्ट्रिक रोग लाग्ने संभावना कम हुन्छ।”

अनलाइन सर्वेक्षणमा विश्वभर चितुवाहरुलाई थुनामा राखेर हेरविचार गर्ने केन्द्रहरु (चिडियाखाना)लाई प्रश्न सोधिएको थियो।

चितुवालाई आहारा के दिईन्छ भन्ने प्रश्न सोधिएको थियो।

उनीहरुको आँतको रोगको संकेत गर्ने किसिमको प्रश्न चितुवालाई वाकवाकी लाग्यो कि लागेन र उनीहरुको दिसाको मात्रा र रंग कस्तो थियो भन्ने पनि सोधिएको थियो ।

प्राप्त तथ्यांक विश्लेषण गर्दा वैज्ञानिकहरुले खोरमा राखिने ३७ प्रतिशत चितुवाहरुलाई काँचो मासु, २० प्रतिशतलाई तयारी खाना र सिनुको आहारा ८ प्रतिशतलाई दिने गरिएको पाए । तयारी खाना खुवाउने एकमात्र क्षेत्रको रुपमा रहेको उत्तरी अमेरिकामा चितुवाहरुमा ग्यास्ट्रिकको समस्या उच्च रहेको पाइयो ।

अध्ययन टोलीले भनेको छ- खोरमा राखिने चितुवाहरुलाई दिईने आहारा र ग्यास्ट्रिकबीच साँच्चिकै सम्बन्ध छ या छैन् अथवा ग्यास्ट्रिक रोग लाग्न अरु विषय नै कारक हुन् भन्ने निश्चित गर्न थप अध्ययन आवश्यक छ । व्यापारिक रुपमा तयार पारिएको आहारामा मात्र भर पर्दा सावधानी अपनाउन अध्ययनले सुझाएको छ ।

ग्यास्ट्रिकको दीर्घरोगी

सम्भव भएसम्म सिनोमा भएजस्तै हाडहरु र मांशपेशीयुक्त मासुहरु आहारामा समावेश गर्न भनिएको छ । अघिल्लो अध्ययनले खोरमा राखिएको चितुवाहरुमा देखिएको ग्यास्ट्रिक रोगलाई तनावसँग जोडेका थिए । तर, अध्ययनकर्ताहरुले पाइएका रोगको महत्वपूर्ण कारण आहारा हुन सक्ने सिद्धान्त परीक्षण गर्न चाहेका थिए ।

अध्ययनले घोडाको मासु सेवनले चितुवाहरुमा ग्यास्ट्रिक हुने जोखिम अझ बढाएको र भालेभन्दा अझ पोथी चितुवाहरु ग्यास्ट्रिकको दीर्घरोगी हुन सक्ने देखाएको छ । ‘द बीग क्याट्स’ भनेर पनि चिनिने र जमिनमा हिँड्ने जनावरमा सबैभन्दा छिटो कुद्ने (७१ माइल प्रतिघन्टा) चितुवालाई इन्टरनेशनल युनियन फर कन्जरभेशन अफ नेचर आइयुसिएनले खतराको सूचीमा राखेको छ ।

नामिबियामा चितुवाको संख्या सबैभन्दा बढी छ ।

चितुवाबारे करिब १५ वर्ष अध्ययन गरिसकेकी डा. ह्वाइटहाउस टेडले भनिन्, “तिनीहरु मेरा निम्ति विशेष जन्तु हुन्, तिनीहरु औसत बिरालाभन्दा अलि फरक देखिन्छन्, तिनीहरु खासगरी ग्यास्ट्रिक जस्ता रोगको बढी जोखिममा छन् र केही बढी संवेदनशील छन्।”

प्रस्तुतिः मिसेल डग्लस

साभारः बीबीसी नेपाली सेवाको अनलाइन संस्करणबाट


  •  
  •  
  •