काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बिहीबार हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि.एस.एम.सिमकार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताए ।
आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने उनको भनाइ थियो ।
नेपाल दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताए ।
उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा कम्पनी सचिव भोलानाथ पौडेलले कार्यक्रम सञ्चालन गरेको थियो ।
समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्याय लगायत सहभागि थिए ।