पेट्रोल सभापति, ग्यास प्रमुख अतिथि

159
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक ।
शनिबार बनेपामा अचम्मको दृश्य देखियो । अतिथि आसन ग्रहण गराउन राखिएका कुर्सीमा पेट्रोललाई सभापतिको आसनग्रहण गराइयो । ग्यासको सिलिण्डर प्रमुख अतिथि बन्यो ।

मिनिरल वाटरको बोतलमा भरिएको डिजेल विशेष अतिथि र मट्टितेल अतिथिको रुपमा रहे । जारी इन्धन अभावको सांकेतिक विरोध र सरकारको ध्यानाकर्षण गर्न आयोजित देउसी भैलोको दृश्य हो । श्रीकृष्ण म्युजिक प्रालिको आयोजना भएको कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटा, गायक रामहरि न्यौपाने, श्रवण रिमाल र शर्मिला श्रेष्ठले देउसीको भाकामा इन्धन उपलब्ध गराउन नसकेकोमा सरकार, दल र तीनका नेतालाई व्यङ्ग्य मिश्रित भावमा अनुरोध गरे ।

ए भन मेरा भाइ हो….. भन्दैनौं

के कति खान्छौ…. खाँदैनौं

म मागी दिउँला.. चाँहिदैन

के चाहिन्छ भन… इन्धन देऊ

इन्धन अभावले जनजीवन प्रभावित हुँदा सरकारको ध्यानाकर्षण गर्न कार्यक्रम आयोजना गरिएको गायक न्यौपानेले जानकारी दिए । देउसी गाउँदै उनीहरुले सरकारसँग बाँच्न पाउने अधिकार, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, रासायनिक मल, बिउ मागेका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •